‘एआईसँग दुनियाँ नै आतंकित छ । यसका संस्थापक नै एआई आविष्कार गरेर गल्ती गरें कि भन्ने पनि आइरहेको छ’

एआईको विकासले लाखौं रोजगारी गुम्ने कुरा अन्तर्राष्ट्रिय अध्ययनहरुले देखाएको छः मन्त्री पुन

Advertisement

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सूचना प्रविधि क्षेत्रमा नेपाललाई प्रतिस्पर्धी बनाउन सरकारले सबै खालको वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । 

राजधानीमा शनिबार आयोजित राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलनमा उनले आईटी क्षेत्रमा प्रतिस्पर्धाको आधार देखिएको भन्दै राज्यले उच्च प्राथमिकता दिने बताए । 

Advertisement

आगामी आवको बजेटमा सूचना प्रविधि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको भन्दै मन्त्री पुनले भौगलिक वस्तुस्थिति र प्राविधिक जनशक्तिको विकासले नेपाल प्रतिस्पर्धीको रुपमा विकास हुँदै गइरहेको बताए ।

पुनले भने, ‘सरकार यी सम्भावनालाई स्वीकार गर्दै नीतिगतदेखि सबै खालको वातावरण बनाउन तयार छ,’ उनले भने, ‘बजेटले पनि आर्थिक सुधारको नीति अगाडि सारेको छ । नयाँ आविष्कार गर्ने वातावरण राज्यले बनाउनेछ । अवसरको समानता कायम गर्नेछ । नयाँ पुस्ताको अपेक्षालाई सम्बोधन गर्नेछ ।’ 

मन्त्री पुनले हरेक काममा स्मार्टनेस हुनुपर्नेमा जोड दिँदै बजेटमा प्रतिस्पर्धी सुधारको प्रस्ताव गरिएको उल्लेख गरे । उनले आर्टिफिसियल इन्टेलिजेन्सलाई मानव जीवनको सहयोगीको रुपमा उपयोग गर्नुपर्ने बताए । 

पुनले थपे,  ‘एआईसँग दुनियाँ नै आतंकित छ । यसका संस्थापक नै एआई आविष्कार गरेर गल्ती गरे कि भन्ने पनि आइरहेको छ । संस्थापकहरुले एआईको आविष्कार र प्रयोगले मानव जीवनको अन्त्यको सुरुवात गर्छ कि भन्ने पनि छ । तर यो हाम्रो जीवनको पर्याय बनिसकेको छ । मानव जीवनको सहयोगी बन्छ भन्ने अपेक्षा राखौं ।’

एआईको विकासले लाखौं रोजगारी गुम्ने कुरा अन्तर्राष्ट्रिय अध्ययनहरुले देखाएको भन्दै मन्त्री पुनले नयाँ प्रविधिलाई अनुसरण गरेर नयाँ रोजगारीहरु सिर्जना गर्नुपर्ने बताए । ‘हामीजस्तो पछौटे परम्परागत जागिरमा कम प्रभाव पार्छ भन्ने छ । तर हामी यसमै रहने त होइन,’ उनले भने ।  

एआई मानवको सहयोगीका रुपमा विकास भए पनि मान्छेकै सहयोगीको रुपमा वा निर्देशनमा रहन सक्छ कि सक्दैन ? भन्ने चुनौती रहेको पुनको भनाइ थियो । उनले भने, ‘मान्छेले आफ्नो सहअस्तित्वका लागि विकास गरेको छ । उत्पादन, पेशा व्यवसाय सहज गर्नका लागि विकास गर्यो ।’

तर पछिल्लो समय आफ्नो प्रतिस्पर्धीलाई पछार्नका लागि प्रयोग गरिएको मन्त्री पुनले उल्लेख गरे । उनले ‘एकातिर कृत्रिम बौद्धिकताको विकास भयो भने अर्कोतिर प्रतिस्पर्धी अमेरिका चीनजस्ता देशहरुले युद्धमा सहायताका लागि प्रयोग गर्ने खतरा छ’ भन्दै थपे, ‘एआई सिपाही हुने भयो । गलत मान्छेको हातमा गयो भने मानव जीवन रहन्न भन्ने पनि छ । तर कृत्रिम बौद्धिकताको, मानव सहायताको विकल्पका रुपमा यो उपयोगी नै हो । मान्छेको उपयोगी चिजको लागि नै विकास हुनुपर्छ ।’

मन्त्री पुनले रुस–युक्रेन युद्धमा मान्छे होइन एआईले युद्ध लडिरहेको भन्दै एआई अहिले युद्धको हतियारको रुपमा पनि विकास भइरहेको बताए । उनले भने, ‘तर राम्रै गर्ला भन्ने विश्वास छ । नयाँ विकास हो । औद्योगिक क्रान्तिको पाँचौ चरण पनि भन्छन् । नयाँ युग नै हो । एआईको प्रयोगलाई राम्रोसँग समात्न सकियो भने तीन–चार सय वर्ष अगाडि पुगेका देशलाई पनि पछ्याउन सकिन्छ । अरुसँगको ग्यापलाई भेटाउने अवसर हुनसक्छ ।’ 

मन्त्री पुनले एआईलाई प्रवर्द्धन गर्न सरकारले बजेटमा निकै ठूलो महत्त्वाकांक्षा लिएको सुनाउँदै  १० वर्षमा ३० खर्बको सेवा वा उत्पादन निर्यात गर्न सकिने बताए । उनले भने, ‘राम्रो कानुनी र वातावरण दियो भने १० वर्ष लाग्दैन भन्ने छ । पाँच वर्षसम्म यससम्बन्धी करका नीति परिवर्तन गर्दैनौं । काठमाडौंका १० ठाउँमा शुल्क नलिएर सेन्टरहरु सञ्चालन गर्छौं ।’

एआई अनुसन्धानकर्ता डा. विवेक पौडेलले एआईलाई विविध बनाउन जरुरी रहेको बताए । उनले भने, ‘विविधता नहुँदा समाजमा ध्रुवीकरण हुने, घृणा बढ्ने हुन्छ । चुनावको मुखमा राजनीतिक, सामाजिक र आर्थिक रुपमा असर पार्छ ।’

पौडेलले ‘विविधताका लागि डेटा जरुरी छ । हामीसँग छैन । ठूलो कम्पनीसँग मात्रै भयो भने विविधता हुँदैन । हाम्रो समाज र विविधतालाई प्रतिनिधित्व गर्न सकिँदैन ।’ उनले सुशासनको सवालमा पनि एआई मोडलको प्रयोग गर्न सकिने बताए । 

उनले भने, ‘कृषि, जमिन, जंगल, प्राकृतिक प्रकोपको पूर्वानुमान, कहाँ खतरा छ, त्यसको मोडल बनाउन सकिन्छ । नेपालका वैज्ञानिक मिलेर विकास गर्न सकिन्छ । गाउँ गाउँमा स्वास्थ्य संस्था पुर्याउन गाह्रो छ । तर हामीसँग डेटा भयो भयो भने डाक्टरबाहेक डाक्टरको असिस्टेन्सको रुपमा विरामीको कन्डिसन हेरेर सुझाव दिन सक्छ  ।’ 

यसका लागि नीतिगत र संरचनागत विकास गर्नुपर्ने उनको भनाइ थियो । पौडेलले ‘पहिलो डेटा, शब्दकोष बनाउन पर्यो । बोलीको व्यवहारको तथ्यांक राख्नुपर्यो । दोस्रो नीतिगत व्यवस्था गर्नुपर्यो । तेस्रो आफ्नो ग्राउण्ड रियालिटी बनाउनुपर्यो’ भन्दै यसमा ढिलो भइसक्यो भने । 

नयाँ पुस्ताको जनशक्ति र प्रविधि प्रयोग गरेर अर्थतन्त्र, रोजगारीमा फड्को मार्ने अवसर छ भन्दै उनले एआईको विकासमा जोडियौ भने धेरै काम गर्न सकिने बताए । 

डिजिटल मिडिया फाउण्डेशनका अध्यक्ष प्रवेश सुवेदीले राज्यको ध्यान नपुग्दा सूचना प्रविधि क्षेत्रमा नेपाल पछि परेको बताए । उनले भने, ‘१९९५ देखि २००५ सम्मको समय फर्केर हेर्दा संसारका धेरै देश इन्टरनेट र संरचना प्रयोगको हिसाबले पछाडि थिए । नेपाल त्यतिबेला अगाडि थियो । भारतपछि नेपालमा नेपालन्युज डटकम अनलाइनको रुपमा सुरु भइसकेको थियो । तर इन्टरनेटको विकास भइसकेपछि अनलाइन व्यापार फस्टायो । त्यतिबेला हामी पछाडि पर्यो ।’

Advertisement

Advertisement