पूँजीगत खर्च कमजोर हुँदा गत आवको चौथो त्रैमासमा २.१ प्रतिशतमात्रै आर्थिक बृद्धि

Advertisement

काठमाडौं ।  गत आर्थिक बर्ष २०८०–८१ को  चोथौ त्रैमास अर्थात् बैशाखदेखि असारसम्ममा नेपालको कूल ग्राहक उत्पादन (जीडीपी) २.१ प्रतिशतले बृद्धि भएको अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार चौथो त्रैमासको तथ्यांक सार्वजनिक गर्दै यस्तो बताएको हो । 

गत आवको पहिलो त्रैमासमा ४.५ प्रतिशत, दोस्रो त्रैमासमा ४.६ प्रतिशत र तेस्रो त्रैमासमा ३.१ प्रतिशतले आर्थिक बृद्धि भएको अनुमान गरिएको थियो । आव २०७९–८० को  चौथो त्रैमासमा पनि ३.७ प्रतिशतको आर्थिक बृद्धि भएको थियो । तर, गत आवको चौथो त्रैमासमा २.१ प्रतिशतले मात्रै आर्थिक बृद्धि भएको अनुमान कार्यालयले गरेको छ । गत आवभर नेपालको आर्थिक बृद्धिदर ३.९  प्रतिशत भएको अनुमान यसअघि नै गरिएको छ । यसको बास्तविक तथ्यांक भने आउन बाँकी नै छ । 

Advertisement

बिशेषगरी सरकारको पुँजीगत खर्च कम्जोर भएपछि चौथो त्रैमासमा आर्थिक बृद्धिदर प्रभावित भएको कार्यालयका अधिकारीहरु बताउँछन् । बिशेषगरी सरकारले निर्माण क्षेत्रको भुक्तानी आवश्कताअनुसार गर्न सकेको छैन । त्यसको असर आर्थिक बृद्धिदरमा परेको विज्ञहरु बताउँछन् । 

यद्यपि यो अवस्थामा आर्थिक बृद्धिदर सकारात्मक हुनु नै राम्रो पक्ष भएको उनीहरुको भनाइ छ । कृषि उत्पादनमा भएको वृद्धि, पर्यटन आगमनमा भएको वृद्धि, पर्यटन आगामनले होटल क्षेत्रको कुल मूल्यमा भएको अभिवृद्धि लगायतका कारण आर्थिक बृद्धिदर धनात्मक रहेको कार्यलयको भनाइ छ । 

यसका अतिरिक्त व्यापार क्षेत्रमा भएको वृद्धि, यातायातमा भएको वृद्धि, सार्वजनिक प्रशासनका क्षेत्रमा भएको वृद्धिले समग्र अर्थतन्त्र सकारात्मक वृद्धि तर्फ उन्मुख रहेको कार्यालयले बताएको छ । 

गत आवको चौथो त्रैमासिक र अघिल्लो आव ०७९–८० को चौथो त्रैमासिक अवधिबीच क्षेत्रगत तुलनागर्दा कुल १८ ओटा औद्योगिक वर्गीकरणमध्ये १५ ओटा औद्योगिक क्षेत्रहरूको वृद्धिदर धनात्मक रहेको छ  । त्यस मध्ये आवास तथा भोजन सेवासँग सम्बन्धित क्रियाकलापको बृद्धिदर सबैभन्दा धेरै १२.३५ प्रतिशत देखिएको छ । 

यस्तै, यातायात तथा गोदाम क्षेत्र १०.९ प्रतिशतको वृद्धिदर सहित दोस्रो स्थानमा छ । सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रले १०.८ प्रतिशत वृद्धिदर कायम गरेको छ । त्यसैगरी, निक्षेप तथा कर्जामा भएको वृद्धिसँगै वित्तीय तथा विमा क्षेत्रको मुल्य अभिवृद्धि वृद्धिदर ६.२ प्रतिशत र प्रशासनिक सहयोगी सेवा क्षेत्रको वृद्धिदर ५.८ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ ।
 
अर्कोतर्फ, यस त्रैमासमा सबैभन्दा धेरै संकुचन निर्माण क्षेत्रमा देखिएको छ । उक्त क्षेत्रको बृद्धिदर १३.४ प्रतिशतले ऋणात्मक छ । यस्तै, विद्युत तथा ग्याँस र सूचना प्रविधि क्षेत्रमा समेत ऋणात्मक वृद्धि रहने अनुमान गरिएको छ । 

अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ३.२ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । हिउँदे बाली, तरकारी तथा पशुजन्य उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको वृद्धिदरमा सकारात्मक प्रभाव पारेको कार्यालयको भनाइ छ ।

अर्कोतर्फ अर्थतन्त्रको दोस्रो ठूलो क्षेत्र थोक तथा खुद्रा व्यापार क्षेत्रको उक्त त्रैमासिकमा दुई प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ । व्यापारजन्य वस्तुहरूको स्वदेशी उत्पादन र कृषि उत्पादनमा भएको सामान्य वृद्धिले गर्दा व्यापार क्षेत्रको वृद्धि धनात्मक दिशा उन्मुख भएको बताइएको छ । यद्यपी, व्यापारजन्य वस्तुको आयातमा भएको सामान्य गिरावटले गर्दा व्यापार क्षेत्रको वृद्धि अपेक्षित रूपमा हुन नसकेको अनुमान गरिएको छ ।

यस्तै, औद्योगिक वस्तु उत्पादन क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर झिनो रुपमा धनात्मक देखिएको छ । कार्यालयका अनुसार यस क्षेत्रको बृद्धिदर १.१ प्रतिशत रहने छ । अघिल्लो आवको चौथो त्रैमासिकको तुलनामा गत आवको चौथो त्रैमासिकमा औद्योगिक वस्तुको उत्पादनमा खासै सुधार आउन नसकेका कारण यो क्षेत्रको वृद्धि सामान्य रहन गएको प्रारम्भिक अनुमान छ । 

कुन क्षेत्रको आर्थिक बृद्धिदर कति ? (प्रतिशतमा)

undefined

Advertisement

Advertisement