एडीबीलाई क्षतिपूर्ति नतिराई मेलम्ची आयोजनाको हेडबक्स सार्ने प्रक्रिया शुरु

Advertisement

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले आयोजनाको हेडबक्सको गलत डिजाइन गर्ने एशियाली विकास बैंक (एडीबी)लाई क्षतिपूर्ति तिराई हेडबक्स सार्नका लागि परामर्श दाता छनौट प्रक्रिया अघि बढाएको छ । 

विज्ञहरुले जोखिमको विश्लेषण नगरी हचुवाको भरमा एडीबीले आयोजनाको डिजाइन गर्दा बाढीका कारण हेडबक्समा क्षति पुग्नुका साथै आयोगको लागत गुणात्मक वृद्धि भएको बताउँदै एडीबीले मेलम्ची बनाउन दिएको ऋण अनुदानमा बदल्नुपर्ने बताउँदै आएका छन् । विज्ञहरुको भनाईमा एडीबीले पनि मौन सहमति जनाउँदै आएको छ । 

Advertisement

एडीबी, विश्व बैंक जस्ता दातृ संस्थाहरुको गलत नीति र गल्तीमा पनि सरकार मौन बस्ने प्रवृत्ति लामो समयदेखि चल्दै आएको छ । कर्पोरेट नेपालले यस विषयको उठान गर्दै आएपछि एडीबीले आन्तरिकरुपमा मेलम्चीमा भएको हेडबक्सको क्षतिको कारणका सम्वन्धमा अध्ययन गरेर हेडबक्स सार्न खानेपानी मन्त्रालयलाई सुझाव दिए पनि आफ्नो गल्ती स्वीकार गर्ने र क्षतिपूर्ति दिने कुरा भने गरेन् । 

अहिले मन्त्रिपरिषद् बैठकले आयोजनाको हेडबक्स सार्नका लागि सैद्धान्तिक अनुमति दिने निर्णय गरेसँगै आयोजनाले विस्तृत अध्ययनका लागि परामर्शदाता छनौट प्रक्रिया अघि बढाएको हो । गत जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकले आयोजनाको हेडबक्स सुरक्षित स्थानमा सार्नका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको थियो । सो निर्णयसँगै आयोजनाले असार मसान्तभित्र सम्ममा विस्तृत अध्ययनका लागि परामर्शदाता छनौटका लागि ईओआई निकाल्ने गरि तयारी अघि बढाएको आयोजना प्रमुख रत्न लामिछानेले जानकारी दिए । 

२०७८ साल असार १ गते आएको बाढीपहिरोले हेडबक्सको ९० प्रतिशत भूभाग गेग्रानले पुरेको थियो । माथिल्लो भागमा ग्रेग्रान थुप्रिएको कुरालाई नजरअन्दात गर्दै एडीबीका विदेशी परामर्शदाताले हचुवाको भरमा अध्ययन गरेर रिपोर्ट बुझाएका थिए । उक्त रिपोर्टको अध्ययन नगरी स्वीकृति दिने काम भएको थियो । 

हेडबक्स वरपरको गेग्रान सफा गरिसकेपछि फेरि २०८० साउन २७ गते आएको बाढीले गेग्रान थुपारेको थियो । अहिलेको हेडबक्सको क्षेत्र नजिकै सधै पहिरो बगिरहने ठूलो पहाड रहेको छ । विषय विज्ञहरुबाट गराइएको विभिन्न अध्ययनहरुले हेडवक्सलाई पुनः सोही स्थानमा निर्माण गर्नु थप जोखिमयुक्त रहने देखाएकाले हेडबक्स सार्ने निर्णयमा पुगेको आयोजनाले स्वीकार गरेको छ । 

हेडबक्सका संरचना बगरमुनि नै पुरिएका छन् र गेग्रान निकाल्न सकिने अवस्था छैन । हेडबक्सका पुरिएका संरचनालाई खोतलेर इन्टेकमाथि जालीको प्रवन्ध गरी गेग्रान छानेर पानी पठाउन सक्ने अवस्था नभएपछि आयोजनाले हेडबक्सलाई झन्डै १ हजार मिटर माथि सार्ने भएको हो । दुईवटा पहाडका बीच खोचमा सार्न लागिएको हेडबक्स निर्माणको विस्तृत अध्ययनका लागि असार मसान्तभित्र सूचना प्रकाशित गर्ने तयारी आयोजनाले गरेको प्रमुख लामिछानेले जानकारी दिए । 

उनले भने, ‘अहिले हामीले अल्टरनेट डाईभर्सन टनेलबाट हिउँदको समयमा काठमाडौंमा पानी पठाउने काम गरिरहेका छौँ । यो २०७८ सालको बाढी पछि सफा गरिसकेपछि फेरि २०८० साउन २७ गते भरिएको हो । यहाँ देखिएको टावरभएको क्षेत्र हेडबक्सको क्षेत्र हो । यहाँको पारी पटी बगिरहने पहिरो छ । त्यसैले यही स्थानमा हेडबक्स बनाएर काठमाडौंमा दिर्घकालिन रुपमा पानी लगिरहने अवस्था देखिँदैन । बाढी ल्याएर ठूलो गेग्राान थुपारेकाले यसको तहमा आईपुग्न ५ किलोमिटर देखि नदीको च्यानल खोल्दै ल्याउनुपर्ने हुन्छ र यसका लागि असाध्यै धेरै लगानी गर्नुपर्ने हुन्छ ।’

लामिछानेले थपे, ‘तर पछि माथिबाट आउन सक्ने गेग्रान र देब्रेसाईटमा रहेको निरन्तर पहिरो आईरहेन पहाडका कारण जो जोखिम रहित हुनसक्ने अवस्था देखिदैन । त्यसैल यसका लागि नेपालका विज्ञ,प्रोफेसर लगायत संग हामीले परामर्श गरेका छौ । त्यसैले हेडबक्सलाई ८ सय मिटर देखि १ हजार मिटरको दूरीमा र दुवै पट्टी रक भएको स्थानमा टावर इन्टेक बनाएर टनेल भित्र नै संरचना बनाएर १२ महिना काठमाडौ पानी पठाउन सक्छौँ । हेडबक्सलाई सुरक्षित क्षेत्रमा स्थान्तरण गर्न मन्त्रिपरिषद् बैठकले पनि सैद्धान्तिक सहमति दिने भन्ने निर्णय भएकाले अहिले हामीले हेडबक्स सार्ने कामका लागि अन्तर्राष्ट्रिय परामर्शदाता छनौट गर्ने प्रक्रियामा ईओआई निकाल्दै छौ ।’

पूरानो हेडबक्स भन्दा झन्डै १ हजार मिटर दूरी अगाडि (माथि) बनाउन लागिएको हेडबक्सका लागि झन्डै साढे तीन अर्ब लागत लाग्ने अनुमान आयोजनाले गरेको छ । यद्यपि यो बढेर ३० अर्ब पुग्न पनि सक्ने विगतको अनुभवले देखाउँछ । 

मेलम्ची परियोजनासँगै याङ्ग्री र लार्के खोलाको पानी पनि हेडबक्समार्फत नै सुरुङमा पठाइने हुँदा झण्डै याङ्ग्री र लार्के परियोजनाको डीपीआर पनि संगै गरिने प्रमुख लामिछानेले जानकारी दिए । हेडबक्स सारेपनि त्यस भेमाथाङ विपत्तिको क्षेत्र भएकाले मेलम्ची, याङ्ग्री र लार्के परियोजना सम्पन्न गर्न अझै पनि कम  चुनौतीपूर्ण छैन भन्दै उनले दोस्रो चरणको परियोजना अन्तर्गत याङ्ग्री र लार्केको पानी नदीमा मिसाएर हेडबक्स हुँदै काठमाडौँ ल्याउने सरकारको योजना रहेको बताए । 

Advertisement

Advertisement