अनुगमन गर्न आएका पर्यटनसचिवसँग निगमले भन्यो– हवाई इन्धन महंगो भयो, कर छुट गरियोस्

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमको अनुगमन गर्न आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव गणेश पाण्डेसँग निगमका पदाधिकारीले हवाई इन्धनको मूल्य महंगो भएकाले यसमा कर छुटका लागि पहल गर्न आग्रह गरेका छन् । 

मन्त्रालयका सह–सचिवहरुसहित पुगेका सचिव पाण्डेसँग पदाधिकारीले राष्ट्रिय ध्वजाबहाकले पाउनुपर्ने सुविधाहरु नपाएको गुनासो गरेका थिए । निगमका अध्यक्ष युवराज अधिकारीले निगमका जहाज तथा विमानस्थलमा चल्ने उपकरणहरुको मर्मत सम्भारमा लाग्ने पाटपुर्जाहरु र निगमको जहाजमा प्रयोग हुने खाद्य सामग्रीहरुमा भन्सार छुट सुविधा उपलब्ध गराउन आग्रह गरे । 

Advertisement

उनले निगम राष्ट्रिय ध्वजावाहक भएकोले अन्य राष्ट्रमा त्यहाँका राष्ट्रिय ध्वजावाहकलाई प्रदान गरिने विशेष सुविधाहरु निगमलाई दिलाउन, विमान चालक तथा अन्य कर्मचारीहरुको सेवा सुविधा वृद्धि गर्न, मौजुदा सार्वजनिक खरीद ऐन तथा नियमावलीमा निगम जस्तो विशेष प्रकृतिको हवाई व्यवसायको लागि छुट्टै प्रावधान राखी आवश्यक संशोधनका लागि सहजीकरण गर्न आग्रह गरे । 

नेपाल वायुसेवा निगम ऐन, २०१९ को प्रावधान अनुसार राष्ट्रिय ध्वजावाहकलाई सुदृढ र सवल बनाउन सहयोगको लागि मन्त्रालयसँग आग्रह गर्दै समन्वयात्मक भूमिका खेलिदिन आग्रह गरेका थिए ।

प्रतिउत्तरमा सचिव पाण्डेयले निगमलाई हानी नोक्सानी हुने काम भएका सोही व्यक्ति जिम्मेवार रहने भन्दै निगमको जहाजमा प्रयोग हुने खानाहरु आफ्नै भान्सामार्फत गर्न सुझाव दिएका थिए । 
 

Advertisement

Advertisement