अधिकांश विकास बैंकहरु ‘एनएफआरएस–९’ कार्यान्वयनको चरणमा

Advertisement

काठमाडौं । डेभलपमेन्ट बैंकर्स एशोसियसनमा आबद्ध १६ विकास बैंक्मध्ये अधिकांशले ‘एनएफआरएस–९’ कार्यान्वयनका लागि आवश्यक पर्ने ‘एनएफआरएस–९ इम्प्लिमेन्टेसन सोल्यूसन्स’ खरीद गरी आपूर्तिकर्तासँग सम्झौंता गरेर यसको कार्यान्वयनको थालनी गरेका छन् । 

बाँकी सदस्य बैंकहरुले पनि २०८१ असारभित्रै उक्त प्रक्रिया सम्पन्न गर्नेगरी आन्तरिक प्रक्रियाहरु अगाडि बढाइसकेको एशोसिएसनले जनाएको छ । एनएफआरएस–९ मा कर्जा जोखिम व्यवस्थापन गर्नका लागि अपनाइने बिधि र कार्यलाई समेटिएकाले यसलाई कार्यान्वयन गर्दा अनुमानित कर्जा जोखिम र त्यसबाट हुनसक्ने नोक्सानीको गणना विवेकपूर्ण तरिकाले गरिन्छ भन्दै भन्दै उसले कर्जा चुक्ता नहुनसक्ने संभावना (प्रोव्याबिलिटी अफ् डिफल्ट), कर्जा चुक्ता नभएमा असुली हुननसक्ने संभावित रकम (लस् गिभन् डिफल्ट) र कर्जा चुक्ता नहुनसक्ने सम्भाब्य रकम (एक्सपोजर एट डिफल्ट) लाई आधार बनाएर अनुमानित कर्जा नोक्सानीको (एक्सपेक्टेट क्रेडिट लस) गणना गरिने जानकारी दिएको छ । 

Advertisement

आर्थिक बर्ष २०८१–८२ बाट एनएफआरएस–९ लागू हुने भएकाले बाणिज्य बैंक, बिकास बैंक, फाइनान्स कम्पनी र लघुबित्त सबैका लागि लागू हुने गरी नेपाल राष्ट्र बैंकले २०८१ जेष्ठ २ गते सो सम्बन्धी मार्गदर्शन (एक्सपेक्टेट क्रेडिट लस रिलेटेड गाइडलाइन्स, २०२४) जारी गरेको छ । 

एनएफआरएस–९ लागू गर्नका लागि डेभलपमेण्ट बैंकर्स एशोसियसनले यस अघि ‘ई एण्ड वाई’ श्रीलंकाबाट सहजकर्ता आमन्त्रण गरी आफ्ना सदस्य बैंकका उच्च कार्यकारी, सम्बन्धित विभागीय प्रमुख र कर्मचारीहरुलाई दुई पटकसम्म तीन दिने तालिम कार्यक्रम सञ्चालन गरेको थियो । 

‘एनएफआरएस–९ इम्प्लिमेन्टेसन सोल्यूसन्स’ खरीद गर्नका लागि संभावित आपूर्तिकर्ताको पहिचान गर्नका लागि एशोसिएसनअन्तर्गत रहेको वित्त उपसमिति, कार्यसमिति र सबै सदस्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको समेत बैठकले स्वदेशी तथा विदेशी फर्म÷कम्पनीहरुबाट प्रस्तुतिकरण गराई अध्ययन गरिएको जनाइएको छ । उक्त अध्ययनको निष्कर्ष सम्पूर्ण सदस्य बैंकहरुलाई सुझाब स्वरुप पठाइएको एशोसियनले बताएको छ । 

‘एनएफआरएस–९’लाई पूर्णतया कार्यान्वयन गरेपछि संभावित कर्जा नोक्सानीको गणना र उक्त संभावित नोक्सानी खाम्नका लागि गरिने कर्जा नोक्सानी व्यवस्था थप यथार्थपरक हुने भएकाले सदस्य बैंकहरुलाई कर्जा जोखिम व्यवस्थापन गर्न थप सहज हुने विश्वास एशोसिएसनको छ । 

Advertisement

Advertisement