काठमाडौं महानगरले सुरु गर्यो घरेलु मदिराको सम्भाव्यता अध्ययन

Advertisement

काठमाडौं । काठमाडौँ महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको व्राण्डिङ्’ सम्भाव्यता अध्ययन सुरु गरेको छ । 

नेवाः समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका लागि उत्पादन गर्ने पेय पदार्थ औषधिका रुपमा समेत प्रयोग हुने गरेको छ ।

Advertisement

जन्म मृत्युविचका संस्कार तथा शुभकार्य, जात्रा पर्व, पाहुना आउँदा वा विदाइ गर्दा आफैँले उत्पादन गरेको पेय पदार्थ (ऐला, ठोँ) पराम्पराका हिसावले महत्वपुर्ण छ। 

यसरी उत्पादन हुने पेय पदार्थको गुणस्तरीयतालाई ब्राण्डिङ् गरेर विश्व समक्ष पुर्याउने सम्भावनालाई अध्ययनबाट हेर्न लागिएको हो। 

यो कार्यक्रमलाई महानगरको सहकारी विभागले अगाडि बढाएको हो। यसरी अगाडि सारिएको कार्यक्रमलाई नेवाः समुदायभित्रका विभिन्न गुथि तथा संघ संस्थाका प्रतिनिधिहरुको प्रतिक्रिया बुझ्न र यस सम्बन्धी सूचना संकलन गर्न आज छलफल कार्यक्रम आयोजना गरेको हो। 

‘मदिरा ऐनले यस्ता बस्तुको प्रवर्धन रोकेको छ। यसरी रोक्नुको अर्थ अध्ययन गर्न नपाउनु भन्ने होइन ।’ छलफलमा महानगरपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने, ‘अध्ययनबाट आर्थिक, सामाजिक, सांस्कृतिक जस्ता पहिचान बढाउन सहयोग पुग्ने देखियो भने कानुनी व्यवस्था संशोधन गरेर भए पनि सम्भावनालाई नतिजामा रुपान्तरण गर्नुपर्छ ।’

पुस्ताले व्यवहारिक शिक्षाका रुपमा हस्तान्तरण गर्दै आएको पेय पदार्थ उत्पादन गर्ने विधिलाई अभिलेखन गर्न आवश्यक र यसो नहुँदा स्तरीय उत्पादनका लागि पूर्खाले प्रयोग गरेको सिप थाहा नहुने उनले बताए।  संस्कृतिसँग जोडिएको उत्पादनका प्रक्रियालाई पुस्तान्तरण गर्ने काममा अध्ययनले सहयोग गर्ने उनको विस्वास छ। 

छलफलमा ज्यापू महागुथि नेपा, महानगर समिति, गुंलाबाजं संरक्षण तथा व्यवस्थापन समिति, नेपाल खड्गी सेवा समिति, नेपाल राष्ट्रिय खड्गी समाजअन्तर्गतका विभिन्न गुथि खलःका प्रतिनिधिहरु सहभागी थिए । 

पेय पदार्थ उत्पादनका लागि आवश्यक कच्चा पदार्थ, उत्पादन प्रक्रिया, मात्रा, समयावधि, भण्डारण विधि, प्रयोग विधिलगायतका विषयमा जानकारी दिँदै उनीहरुले महानगरपालिकाले अगाडि सारेको कार्यक्रमले नेवाः सभ्यता अन्तरराष्ट्रियकरण हुनमा ठूलो योगदान हुने प्रतिक्रिया दिए ।

‘महानगरपालिका आफैँले कार्यक्रम अगाडि सारेकोले आवश्यकता आधारमा प्रचलित कानुन संशोधन हुनेमा आशावादी छौँ । सांस्कृतिक तथा भोज कार्यका लागि तयार गरिने उत्पादनले आयआर्जन गरायो भने यो हाम्रा लागि ठूलो सहयोग हुनेछ,’उनीहरुले भने । 

स्थानीयको भावना र अध्ययनले देखाउने आवश्यकता विश्लेषण गरेर आगामी दिनका कार्यक्रम सञ्चालन गरिने सहकारी विभागका प्रमुख बलराम त्रिपाठीले बताए । 

विभागका दर्ता प्रवर्धन महाशाखा प्रमुख सन्तु श्रेष्ठका अनुसार आफैँ प्रयोग गर्न प्रयोजनका लागि मादक पदार्थ उत्पादन गर्न पाइने व्यवस्था छ। यस्तो उत्पादन बेचविखन गर्न भने पाइँदैन । 
‘यस्तो अवस्थामा रहेको स्थानीय पेय पदार्थको उत्पादन तथा गुणस्तर कायम राख्ने रैथाने विधिको अध्ययन थालिएको छ,’उनले भने । 

Advertisement

Advertisement