बंगलादेशले समेत हिमाली क्षेत्रमा लगाउने कपडा बनाएको देखेपछि जन्मिएको ब्राण्ड ‘वाइल्ड याक’

Advertisement

काठमाडौं । ‘वाइल्ड याक’ अर्थात जंगली चौरी । नोपलको हिमाली क्षेत्रमा पाइने लोपोन्मुख  ‘वाइल्ड याक’लाई नाम दिएर कपडाको उत्पादन सुरु गरेका व्यवसायी पेम्बा नोर्बु शेर्पाले यस ब्राण्डलाई अहिले स्थापित गर्न सफल भएका छन् । 

यो ब्राण्ड अहिले नेपाली बजारमा मात्रै नभएर अन्तराष्ट्रियस्तरमा पनि चिनिन सफल भएको छ । शेर्पा ‘वाल्ड याक एक्स्पिडिसन’ नामक कम्पनीका सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि हुन् । पर्वतारोहण क्षेत्रमा २० वर्षको अनुभव बटुलेका उनले सन् २०१९ देखि  ‘वाइल्ड याक’ बजारमा ल्याउन थालेका हुन् । 

Advertisement

गर्मी निकै हुने बंगलादेश जस्तो देशले आठ हजार मिटर उचाइमा लगाउने कपडा उत्पादन गर्छ भने हिमालयको देश नेपालमा चाहिँ किन उत्पादन नगर्ने ? भन्ने सोचका साथ आफूले ‘वाइल्ड याक’ ब्राण्डको कपडा बनाउन थालेको सुनाउँदै शेर्पाले उच्च हिमाली क्षेत्रमा लगाइने कपडा उत्पादन गर्नुपर्ने दायित्व पनि नेपाल जस्तै देशको रहेको बताए । 

विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालमध्ये सर्वोच्च शिखर सगरमाथासहित आठ वटा नेपालमा रहेका छन् । 
नेपालमा बनाइएका उत्पादनहरु नेपाली र विदेशीहरुले पनि रुचाउने उनले बताए । शेर्पाले भने, ‘जुन देशका मान्छेलाई हिमालसम्बन्धी ज्ञान छैनन्, त्यहाँ चाहिँ हिमाली क्षेत्रमा लगाइने कपडा बन्ने, हिमाली देशमा त्यस्ता कपडा खासै उत्पादन नहुँदा मलाई ‘फिल’ भयो । नेपालमा नै नेपाली कपडाको ब्रान्ड सुरुवात गर्नुपर्ने मनमा आयो ।’ 

अहिले आफूहरुले बजारमा राम्रै मात्रामा हिमालमा लगाउने कपडा उत्पादन गर्ने गरेको उनले सुनाए । शेर्पाका अनुसार उनले सन् २०१६ सम्म सगरमाथा, चो–ओयु, मनास्लु आदि ठूला आरोहणहरूमा गाइड गरे । सन् २०१७ बाट पदयात्रा र चुचुराहरूमा गाइड गर्न थाले सोही अनुभवका आधारमा शेर्पाले ‘वाइल्ड याक’ नाम दिएर कपडाहरु बनाउन र बजार ल्याउन सुरु गरे । 

बाइस वर्षको उमेरदेखि ट्रेकिङ लाइनमा लागेका उनले सगरमाथासहित थुप्रै हिमाल चढिसकेका छन् । पेम्बा नोर्बु शेर्पा भन्छन्, ‘म पर्वतारोहण क्षेत्रमा लाग्दा हामीहरुलाई विदेशीहरुले ज्याकेट, गोटेक्स प्यान्टहरु उपहार दिन्थ्यो । उनीहरुले दिएको ज्याकेटको साइजहरु नमिल्ने पनि लगाउँथ्यो । तर मलाई राम्रो लुगा लगाउन मन पर्थ्यो । हामी लुगा लगाउन उनीहरुको भर पर्नुपर्ने एउटा समय थियो । नेपालमा त्यो बेलामा पनि ब्रान्डेड कपडाहरु बल्ल आउँदैथियो । त्यतिखेर राम्रो ब्राण्डको हाम्रो साइजको लुगा पाउनै मुस्किल थियो । पोटर (भरिया)हरुको लागि गुणस्तरको कपडा नहुने, समयमा कपडा नदिने । त्यो खालको समस्या थियो ।’

उनले आफ्नो भाइलाई कपडा सिलाउनले दुई वटा मेसिनको कति पर्छ ? भनेर सोधे । पछि उनले तीन वटा लुगा सिलाउने मेशिन किनेर पोर्टरहरुको लागि लुगा आपैmले डिजाइन गर्दै बनाउन थाले । त्यो सुरुवात व्यवसायिक नभएर शेर्पाले भरियाहरुको आवश्यकता पूर्तिका लागि मात्रै गरे पनि पछि व्यवसायिकरुपमा यसै क्षेत्रमा लाग्ने उनले सोच बनाए ।  

शेर्पाले भने, ‘गर्दै गएपछि एक–दुई जना गर्दै धेरै टे«किङ गाइड साथीहरुले हाम्रो कम्पनीको ज्याकेट मन पराउन थाले । हामीलाई बिक्री गर्न मिल्दैन ? भनेर सोध्थ्यो । माग बढ्दै गएपछि हामीलाई आफ्नै कपडाको ब्रान्ड निकाल्ने सोच आयो । त्यति बेला टिममा म र मेरो भाइ मात्र थियो । अहिले हामी ४६ जनाभन्दा बढी पुगेको छ ।’ 

सुरुवाती नौ महिना व्यवसाय गर्न निकै गाह्रो भए पनि जसोतसो त्यो अवस्थालाई पार गरेर अहिले सहज अवस्थामा आएको सुनाउँदै पेम्बा नोर्बु शेर्पा भने, ‘युवाहरु नेपालबाट रोजगारका लागि दुबई, मलेशिया जस्ता देश जान्छन् । उमेर ४०–४५ वर्ष पुगेर काम गर्न गाह्रो भएपछि, कसैको स्वास्थ्यमा समस्या आएपछि देश फर्किन्छन् । नेपालमै केही गरौं भन्ने सोच हराउँदै गएको छ ।’

कोरोना महामारीको बेला तीन–चार जना बहिनीहरुलाई तालिम दिई सिलाउने मेसिन दिएको स्मरण गर्दै उनले थपे, ‘हामीले नेपालमै यसरी पैसा कमाउन सके, यही नै सबै कुराहरु उत्पादन गर्न सके बाहिर कोही जाँदैन । वातावरण नभएर नै बाहिर धेरै गइरहेको हो ।’ 

ब्राण्डको नाम ‘वाइल्ड याक’ किन राखेको ? भन्ने प्रश्नमा शेर्पाले जंगली चौरी उच्च हिमाली क्षेत्रमा र चिसोमा रहने प्राणी जस्तै यो कपडा पनि चिसोमा लगाउन सकिने, धेरै समय टिक्ने गुणस्तरीय हो भन्ने सन्देश दिनका लागि नाम राखेको बताए । उनले वास्तवमा आफूहरुले उत्पादन गर्ने कपडाहरु गुणस्तरीय, टिकाउ, विदेशीभन्दा सस्तो रहेको बताए । 

‘वाइल्ड याक’ लोगोमा पुरुष र महिला गरी दुई वटा छुट्टाएको हुन्छ । दुवै याकले हरेक पुरुषको पछाडी महिलाको सहयोग हुन्छ, हरेक महिलामा पनि पुरुषको त्यतिकै सहयोग हुन्छ भनेर लोगो डिजाइन गरिएको शेर्पाको तर्क छ । 

उनले थपे, ‘हामीसँग धेरैजसो आउटडोर आउटफिटहरु छ । जस्तै, हिमाल आरोहण र ट्रेकिङमा जाँदा लगाउने । नेपालीहरुले पनि हाम्रो ब्रान्डका कपडा, यसको डिजाइन र गुणस्तर मन पराइरहेका छन् ।’

Advertisement

Advertisement