बजारमा अधिक तरलता हुँदा पनि यी चार बैंकले निष्काशन गर्दैछन् साढे ११ अर्बको ऋणपत्र

Advertisement

काठमाडौं । ऋण लगानी गर्नका लागि बैंकिङ क्षेत्रमा अधिक तरलता हुँदा पनि चार वाणिज्य बैंक भने ऋणपत्र जारी नै गर्ने प्रक्रियामा अघि बढेका छन् । 

नेपाल एसबीआई बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक र सिटीजन्स बैंक ऋणपत्र जारी गर्ने प्रक्रियामा गएका हुन् । उक्त चार वटै बैंकले नेपाल धितोपत्र बोर्डमा आवेदन पनि दिइसकेका छन् । 

Advertisement

बैंकहरुलाई तरलता जुटाउन ऋणपत्र उपयुक्त र प्रभावकारी उपकरण मानिन्छ । तर, पछिल्लो समय देखिएको आर्थिक शिथिलताका कारण कर्जाको माग नहुँदा बैंकहरुमा ऋण लगानीयोग्य पूँजी थुप्रिएको छ । त्यो अवस्थामा समेत उक्त चार बैंकले ११ अर्ब ५० करोड  रुपियाँ बराबरको ऋणपत्र जारी गर्न लागेका हुन् । त्यसमा चार अर्ब ६० करोड रुपियाँ भने आम सर्वसाधारणलाई नै बिक्री गर्ने गरी बोर्डमा आवेदन दिइएको छ । 

नेपाल एसबीआई बैंकले १० बर्षका लागि तीन अर्ब रुपियाँ ऋणपत्र जारी गर्ने गरी बोर्डमा गत जेठ २ गते आवेदन दिएको छ । त्यसमा एक अर्ब २० करोड रुपियाँ सर्वसाधारणलाई बिक्री गर्ने प्रस्ताव छ । यो ऋणपत्रमा बैंकले सात प्रतिशत व्याजदर दिने घोषणा गरेको छ । 

यसैगरी राष्ट्रिय वाणिज्य बैंकले भने दुई अर्ब ५० करोड रुपियाँ बराबरको ऋणपत्र बिक्री गर्ने गरी प्रक्रिया अघि बढाएको छ ।  त्यसमा एक अर्ब रुपियाँ बराबरको ऋणपत्र भने सर्वसाधारणलाई बिक्री गर्ने योजना बनाइएको छ । यसका लागि बैंकले २०७९ भदौमै बोर्डमा आवेदन दिएको थियो । तर, तर बोर्डले त्यो प्रस्ताव अझै स्वीकृत गरेको छैन । सात बर्षे अवधिको उक्त ऋणपत्रमा बार्षिक आठ प्रतिशत व्याज दिने प्रस्ताव गरिएको छ । 

यस्तै, सिटीजन्स बैंकले पनि तीन अर्ब रुपियाँ ऋणपत्र बिक्री गर्ने गरी गत माघ १२ गते बोर्डमा आवेदन दिएको छ । त्यसमा एक अर्ब २० करोड रुपियाँ बराबरको ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्ने प्रस्ताव गरिएको छ । १० बर्षे अवधिको उक्त ऋणपत्रमा ८।५ प्रतिशत बार्षिक व्याज दिने गरी प्रस्ताव गरिएको छ ।

यस्तै, नबिलले बैंकले पनि गत शुक्रबार मात्रै ऋणपत्र निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ । बैंकले आठ बर्षका लागि तीन अर्ब रुपियाँ बराबरको ऋणपत्र निष्काशन गर्ने प्रस्ताव सहित आवेदन दिएको हो । त्यसमा एक अर्ब २० करोड रुपियाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि छुट्टाइएको छ । यसमा बैंकले आठ प्रतिशत व्याजदर दिने प्रस्ताव गरेको छ । 

यी चार बैंक मध्ये नबिल र सिटीजन्स बैंकलाई भने ऋणपत्र निष्काशन गर्नुपर्ने दवाव देखिन्छ । किनकी, उक्त बैंकमा ऋण लगानी योग्य रकम कम छ । साथै, उनीहरुको सीडी रेसियो पनि माथि पुगेको छ । 

जेठ मसान्तसम्म नबिल बैंकको सीडी रेसियो ८४.८९ प्रतिशत मात्रै छ । बैंकहरुले सीडी रेसियो ९० प्रतिशतसम्म पुग्ने गरी कर्जा प्रवाह गर्न पाउछन् । त्योअनुसार अब नबिल बैंकले निक्षेपको ५.११ प्रतिशत मात्रै रकम ऋण प्रवाह गर्न पाउँछ । गत जेठ मसान्तसम्म नबिल बैंकमा चार खर्ब ५५ अर्ब ५३ करोड रुपियाँ निक्षेप छ । कर्जा प्रवाह भने तीन खर्ब ८९ अर्ब ३४ करोड रुपियाँ छ । सीडी रेसियाको आधारमा हाल नबिल बैंकसँग २३ अर्ब २७ करोड रुपियाँ ऋण लगानीयोग्य पूँजी छ  । पछिल्लो समय व्यापाक रुपमा कर्जा प्रवाह बढाउँदै गएको नबिल बैंकलाई उक्त रकम कम नै हुने देखिन्छ ।

यस्तै, सिटिजन्स बैंकसँग पनि ९ अर्ब ४१ करोड रुपियाँ मात्रै लगानीयोग्य निक्षेप छ । जेठ मसान्तसम्म उक्त बैंकमा एक खर्ब ८३ अर्ब ९२ करोड रुपियाँ निक्षेप छ । तर, कर्जा प्रवाह भने एक खर्ब ५६ अर्ब ९५ करोड रुपियाँ छ । जेठ मसान्तसम्म उक्त बैंकको सीडी रेसियो ८४.८८ प्रतिशत  छ । त्योअनुसार बैंकलाई निक्षेपको ५.१२ प्रतिशत रकम लगानी गर्न ठाउँ छ, जुन रकम नौ अर्ब ४१ अर्ब रुपियाँ हुन आउँछ । 

यी बाहेक नेपाल एसबीआई र राष्ट्रिय वाणिज्य बैंक भने तरलताको हिसावले सहज अवस्थामा छन् । राष्ट्रिय वाणिज्य बैंकसँग त एक खर्ब पाँच अर्ब तीन करोड रुपियाँ ऋण लगानीयोग्य रकम छ । जेठ मसान्तसम्म यो बैंकमा निक्षेप चार खर्ब चार अर्ब ६० करोड रुपियाँ निक्षेप छ । तर, कर्जा प्रवाह भने दुई खर्ब ५४ अर्ब ८४ करोड रुपियाँ मात्रै छ । हाल ६४.०४ प्रतिशत सीडी रेसियो भएको यो बैंकलाई निक्षेपको २५.९६ प्रतिशत बराबरको रकम ऋण प्रवाह गर्ने ठाउँ छ, जुन रकम एक खर्ब रुपियाँ भन्दा बढी छ । 

यस्तै, नेपाल एसबीआई बैंकमा पनि ३४ अर्ब ६७ करोड रुपियाँ ऋण लगानी योग्य निक्षेप छ । जेठ मसान्तसम्म उक्त बैंकमा एक खर्ब ७३ अर्ब ७० करोड रुपियाँ निक्षेप छ । तर, कर्जा प्रवाह भने एक खर्ब ३१ अर्ब १४ करोड रुपियाँ छ । हाल बैंकको सीडी रेसियो ७०.०४ प्रतिशत छ । त्योअनुसार बैंकलाई अझै निक्षेपको १९.९६ प्रतिशत रकम ऋण लगानी गर्ने ठाउँ छ, जुन रकम ३४ अर्ब ६७ करोड रुपियाँ हुन आउछ । तर, तरलताको सहजता हुदाँ पनि यी बैंकहरु ऋणपत्र निष्काशन गर्ने प्रक्रियामा अघि बढेको हुन् । तर, भविष्यमा आउन सक्ने तरलता संकट, पुँजीकोष अनुपात लगायतको अवस्थालाई दृष्टिगत गरेर पनि ऋणपत्र जारी गर्न लागेको बताइन्छ । 

Advertisement

Advertisement