यसरी खुल्यो बीमा दाबी लिन आफ्नै सुनचाँदी पसलमा दुई करोडको कृत्रिम चोरीको रहस्य

Advertisement

काठमाडौं । बीमा कम्पनीबाट नियोजित रुपमा बीमा दाबी लिन एक सुनचाँदी व्यापारीले आफ्नै पसलमा कृत्रिम चोरी गराएको रहस्य खुलेको छ । 

चितवनको कालिका नगरपालिका वडा नम्बर ६ स्थित खोलेसिमलको बिनोद सुनचाँदी पसलका सञ्चालक बिनोद सुनारले नै नियोजित रुपमा पसलमा चोरी गराएका हुन् । 

Advertisement

उनले बीमा दाबी लिन गत असार १ गते योजनावद्ध रुपमा आफ्नो पसलमा सुनचाँदी र हिराका गरहगना चोरी गराएका हुन् । त्यस लगत्तै उनले इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका थिए । त्यसपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा दावी समेत पेश गरेका थिए । उजुरी पछि अनुसन्धान गर्दा प्रहरीले यस्तो रहस्य पत्ता लगाएको हो ।

null

सुनारले गत मंसिरमै प्रिमियर इन्स्योरेन्समा पसलको बीमा गराएका थिए । यद्यपि, उनले नियोजित रुपमा बीमा गराएका भने थिएनन् । गत जेठमा मात्रै उनलाई चोरी गराएर बीमा दावी लिने सोच आएको प्रहरीले बताएको छ । त्यसक्रममा उनले गत जेठमा कम्पनीमा गएर बीमा पोलिसीबारे जानकारी पनि लिएका थिए । त्यसलगत्तै उनले कृत्रिम चोरी गराई प्रहरीमा उजुरी गरेका थिए । तर, प्रहरीले लामो समयसम्म घटनाको रहस्य पत्ता लगाउन सकेको थिएन । त्यही बीचमा सञ्चालक सुनार आफैले बीमा कम्पनीमा दावी पेश गरेको पनि जानकारी गराएका थिए । त्यसपछि प्रहरीलाई शंका लाग्यो र अनुसन्धान नयाँ ढंगले अघि बढाइएको थियो । नभन्दै पछि पसलका सञ्चालक बिनोद सुनारकै योजनामा बीमा दावीका लागि कृत्रिम चोरी गरेको रहस्य खुलेको हो । 

चितवन प्रहरीले मंगलबार यस घटना संलग्न पाँच जनालाई प्रक्राउ गरी अनुसन्धान अघि बढाएको छ । उनीहरुलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न चितवन जिल्ला अदालतले मंगलबार नै अनुमति दिइसकेको छ । 

प्रहरीले सञ्चालक विनोद सुनारसहित बिजय बिश्वकर्मा, पूर्णबहादुर विश्वकर्मा, पवनकुमार पासवान र अन्जना पुडासैनी केसीलाई पक्राउ गरेको छ । यसमा सञ्चालक बिनोद सुनार मुख्य योजनाकार भएको देखिएको छ । बिजय विश्वकर्मा भने सोही सुनचाँदी पसलका म्यानेजर हुन्, उनले चोरी गर्न सहयोग गरेको प्रहरीको भनाइ छ । 

पूर्णबहादुर विश्वकर्मा र पवनकुमार पासवानले पसलमा गएर चोरी गरेका थिए । अन्जना पुडासैनी केसीले भने चोरी गरेको समान लुकाउन सहयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । 

null

चितवन प्रहरीका अनुसार गत असार १ गते राती ८ः२० बजे पूर्णबहादुर विश्वकर्मा र पवनकुमार पासवान नम्बर नखुलेको मोटर साईकलमा आएर पसलका म्यानेजर विजय विश्वकर्मा र बापिधर गौतमलाई खुकुरी र चक्कु घाँटीमा राखेर लुटपाट गरेका थिए । प्रहरीकाअनुसार उनीहरुले दुई करोड १७ लाख ५४ हजार ४१५ रुपियाँ बराबरको सुनचाँदी र हीराको विभिन्न डिजाईनका गरगहनाहरू लुटपाट गरी लगेका थिए । 

सञ्चालक सुनारले लुटपाट गर्ने जिम्मा पूर्ण बिश्वकर्मालाई दिएका थिए । त्यसपछि विश्वकर्मा र पवनकुमार पासवानले राती ८ः२० बजे पसलमा गई चोरी गर्न खोजेको र पसलका मेनेजर बिजय बिश्चकर्माले पनि त्यसमा सहयोग गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । त्यसपछि पूर्णबहादुर बिश्वकर्मा र पवनकुमार पासवानले चोरी गरेर लगेको सामान अन्जना पुडासैनी केसीलाई दिएको बताइएको छ । घटनाको दुई दिन पछी अन्जनाको घरमा गई बिनोदले उक्त सामानहरु लिएको प्रहरीको प्रारम्भिक अध्ययनले देखाएको छ । लुटपाट गर्दा उनीहरुले सिसी क्यामेरा समेत फुटाएको बताइएको छ । 

संचालक बिनोद सुनारले बीमा रकम ठगी गर्न झूटो चोरी गराएको प्रहरीले बताएको छ । साथै, विभिन्न व्यक्तिहरुबाट लिएको ऋण रकमहरु चोरी भएको देखाई जालसाजी गरी फाईदा लिन खोजेको पनि देखिएको छ । प्रहरीले उनीहरुबाट एक किलो ७३४ ग्राम सुन र केही चाँदी बरामद गरेको छ । प्रहरीले यसको रहस्य पत्ता लागेपछि  बीमा कम्पनीबाट दावी भुक्तानी नपाउने पक्का भएको छ । फलस्वरुप बीमा कम्पनीको झण्डै साढे दुई करोड रुपियाँ जोगिएको छ । 

Advertisement

Advertisement