होटल हिल्टनको पूजा असार २८ मा, ‘ग्राण्ड ओपनिङ’ साउन ११ मा

Advertisement

काठमाडौं । राजधानीको नक्सालमा निर्माण भएको १८ तले अग्लो होटल हिल्टन काठमाडौंको यही आउँदो असार २८ मा पूजा गरी साउन ११ गते ग्राण्ड ओपनिङ’ गरिने भएको छ । 

शंकर समूहको लगानी रहेको यो होटलको ९५ प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भइसकेको सो समूहले जनाएको छ । होटलको उद्घाटन संभवतः नेपालका लागि अमेरिकी राजदूतले गर्नेछन् । हिल्टन अमेरिकी अन्तर्राष्ट्रिय चेन हो । यद्यपि होटल हिल्टन काठमाडौंको व्यवस्थापन हिल्टन वर्ल्डवाइड म्यानेजमेन्ट लिमिटेड इङल्याण्डले गरेको छ । हिल्टनले विश्वका १२३ भन्दा बढी देशहरुमा होटलको व्यवस्थापन गरिरहेको छ । 

Advertisement

यसअघि नै सञ्चालनमा ल्याउने तयारी गरिएको यो सुविधासम्पन्न होटल निर्माण कार्य सम्पन्न नहुँदा केही ढिलाई भएको हो । होटल हिल्टनको निर्माणमा आठ अर्बभन्दा बढी खर्च भएको शंकर समूहका एक सदस्यले बताए । ‘ग्राण्ड ओपनिङ’मा हिल्टन होटल्स एण्ड रिसोर्ट अमेरिकाबाट आउने प्रतिनिधि र नेपालीसहित दुई सयदेखि अढाई सयलाई आमन्त्रणको तयारी गरिएको छ । होटलको बुकिङ भने साउन ४ बाट सुरु हुनेछ । 

सन् २०१८ देखि निर्माण सुरु गरिएको यो होटल महामारीका कारण ढिलाई हुनुका साथै लागत समेत बढेको हो सुरुमा यो होटलको छ अर्ब ६८ करोड लागत अनुमान गरिएको थियो । तीन बर्षमा नै निर्माण सम्पन्न गर्ने भनिए पनि छ बर्ष लागेको छ । 

शंकर ग्रुपको अधिकांश लगानी रहेको होटल हिल्टनमा साहिल अग्रवालले ९० प्रतिशत शेयर होल्डिङ गरेका छन् । कुल १७२ रुम रहेको यस होटलमा  छ वटा कार्यक्रम हल पनि छ । अर्को ठूलो हल पनि बनाउने तयारी गरिएको छ । 

कुल नौ रोपनी क्षेत्रफलमा रहेको होटल हिल्टन्मा पौडी पोखरी छतमा हुनेछ । पाँच तारे स्टरको सबै मापदण्ड र सुविधाहरु सबै होटल हिल्टन् काठमाडौंमा हुनेछ । हेल्थ क्लब, स्पा, वातावरण अनुकूल स्विमिङ पुल र फिटनेस सेन्टरसहितका सुविधाहरु हुने यसमा स्थानीय तथा अन्तर्राष्ट्रिय स्वादका खानाका परिकारहरु उपलब्ध हुनेछ । 

होटलमा विवाह, सभा, बैठक सबै गर्न मिल्ने जनाइएको छ । दुई तले अण्डर ग्राउण्ड पार्किङ हुने हिल्टनमा नाइट क्लब पनि हुनेछ । होटलमा तीन सयको हाराहारीमा कर्मचारी हुने शंकर समूहको भनाई छ ।  

Advertisement

Advertisement