पहिरोले पुरिएका तीनै जनाको शव भेटियो, देशभर १४ जनाको मृत्यु

Advertisement

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोले घर पुरिएर बेपत्ता भएका तीन जनाकै शव फेला परेको छ । पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये एक जनाको शनिबार राति र दुई जनाको आज बिहान शव फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायका अनुसार पहिरोले पुरिएर बेपत्ता भएका ४० वर्षीया हिरा नेपाली, ६५ वर्षीय श्याम भण्डारी र ३७ वर्षीया अनिषा बास्तोलाको शव फेला परेको हो । शव परीक्षणका लागि अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक रायले जानकारी दिनुभयो ।

Advertisement

हिरा नेपाली र सुनमाया कुमालको घरमाथिबाट पहिरो खस्दै गर्दा घरभित्रका सामान स्थानीयले निकाल्ने क्रममा पुरिएर तीन जना बेपत्ता भएका थिए । 

पहिरोमा ४० वर्षीय विष्णुबहादुर नेपाली, २६ वर्षीय विशाल तिमिल्सिना, ३५ वर्षीय रवि घिमिरे, १८ वर्षीय रुपकुमारी नेपाली र १५ वर्षीय विमल नेपाली घाइते भएका छन् । घाइतेहरुको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ । 

यसैबीच, शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको मृत्यु भएको छ । 

बाढी पहिरालगायतका विपद्जन्य घटनामा परेर अन्य तीन जना बेपत्ता भएका छन् । १८ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । 

उनका अनुसार बाढी, पहिरो तथा विपद्जन्य घटनामा पुरिएर काठमाडौँमा एक, स्याङ्जामा तीन, पर्वतमा दुई, उदयपुरमा एक, काभ्रेपलाञ्चोकमा दुई, पाल्पामा एक, तनहुँमा तीन तथा दाङमा एक जना गरी १४ जनाको मृत्यु भएको छ ।

Advertisement

Advertisement