शाहीको प्रश्न– यो सरकारलाई पाल्नुपर्ने कुनै कारण नै छैन्, जनताले के का लागि कर तिर्ने ?

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दशैं र तिहार सकिएलगत्तै अहिलेको व्यवस्था फाल्नुपर्ने आवश्यकता औंल्याएका छन् । 

रिपोर्टर्स क्लबमा शनिबार उनले अहिलेको राज्य–संयन्त्र पूरै असफल भएको दाबी गरे । शाहीले सरकारको उपस्थिति नागरिक विपत्तिमा परेर सयौंको संख्यामा ज्यान गुमाउँदा पनि नदेखिएपछि यो सरकारलाई पाल्नुपर्ने कुनै कारण नै नभएको टिप्पणी गरे । 

Advertisement

उनले नागरिकले के को लागि कर तिर्ने ? भन्दै प्रश्न तेर्साए । अहिले सरकार र सत्ता पक्षका नेताहरु जनताको घरदैलोमा जान त परै जाओस सार्वजनिक कार्यक्रममा समेत भाग लिन डराउन थालेको आरोप लगाउँदै शाहीले भने, ‘सरकार पक्षका मान्छे जनताकहाँ जान डराउँथे, तर अब त सार्वजनिक कार्यक्रममा पनि आउन डराए । यिनीहरु अहिले पत्रकारदेखि भाग्न थाले । जनतादेखि भाग्ने, देशको प्रधानमन्त्री अमेरिकामा जााँदा कार्यक्रम स्थगन् गर्ने, बास्तवमा यिनीहरुको पालो अब भाग्ने नै हो । यो सरकारको अब दिनगन्ती सुरु भैसक्यो । गतिलो काम गरेको भए यसरी भाग्नुपर्दैन थियो ।’

शाहीले धादिङको झ्याप्ले खोलाको पहिरोले ३५ जना नागरिकले ज्यान गुमाउनुमा राज्य जिम्मेवार रहेको आरोप लगाए । उनले भने, ‘मौसम पूर्वअनुमान महाशाखाले तीन दिनअघि नै अलर्ट गराएको थियो । तर, राज्यको उपस्थिति देखिएन । नेपालको भएको यो घट्ना यदि युरोप, अमेरिका वा अरबमा घटेको भए के हुन्थ्यो ? आज ती जिल्लाका सिडिओ, एसपीहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा चल्दथ्यो । फाँसी दिने देशमा त तिनीहरुलाई फाँसी दिईन्थ्यो ।’

शाहीले थपे, ‘मुलुकमा सयौंको संख्यामा नागरिकले ज्यान गुमाएको अवस्थामा सरकारले आह्वान गरेको सर्वदलीय बैठकमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले देशको मुख्यसचिवलाई फोन गर्दा मुख्यसचिवले फोन नै काटिदिनुभयो । सर्वदलीय बैठकमा मुख्यसचिव हुनुहुन्थ्यो । फोन गर्दापनि काटिदिनुभयो । प्रधानमन्त्रीलाई देशका आईजिपीहरुले भेट्न मान्दैनन् । उनीहरुले भोलि भेटौंला भन्छन् । यो भनेको स्टेट फेलियर हो ।’

ललितपुरको नख्खुमा नागरिकले घण्टौंदेखि ज्यान बचाउनको लागि याचना गर्दापनि सरकारको उपस्थिति नदेखिएकोमा पनि उनले सरकारको असफलतासँग जोडे । शाहीले भने, ‘नख्खुबाट सिंहदरबार धेरै टाढा छैन् । जनताले घण्टौं चिच्याउँदापनि उद्धार भएन । यो अवस्था भोलि अरु नागरिकलाई नआउला भन्न सकिएला । हामीले आखिरमा सरकारबाट के पायौं त ? ज्यान बचाउनको लागि याचना गर्दापनि सरकार देखिएन । कर के को लागि तिरेका छौं ? कर्मचारीलाई तलब खुवाउनको लागि मात्रै हो ? आज विपत्ति पर्दा सरकार कहाँ गयो ? म भन्छु अहिलेको राज्यसंयन्त्र फेल भैसक्यो । देशमा गृहमन्त्रीको आदेश कसैले मान्दैन् । त्यसैले अब जनताबाट प्रतयक्ष निर्वाचित प्रधानमन्त्रीमा जाउँ । यही व्यवस्था रह्यो भने भोलि म नै प्रधानमन्त्री भएँ पनि केही गर्न सक्दिनँ ।’

नेता शाहीले आफूले सर्वदलीय बैठकमा समेत हवाई भाडामा भएको मूल्यवृद्धिको विषय उठाएको स्मरण गराए । तर, विभागीय मन्त्री पर्यटनमन्त्री बद्रि पाण्डेले भने भाडा घट्ने भनेर आश्वासन दिएको भएपनि व्यवहारमा त्यस्तो नदेखिएको बताए । शाहीले अहिले सरकार जनतामा जान नसक्नुको कारण जनताले कालो मोसो दलेर पठाउने नै मुख्य कारण भएको दाबी गरे ।

Advertisement

Advertisement