इच्छाकामनाका २२ चेपाङ परिवारलाई नयाँ घर  निर्माण

Advertisement

भरतपुर । चेपाङ आवास कार्यक्रमअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन् । संघीय सरकारको एक करोड ५० लाख सशर्त अनुदानबाट विपन्न ती समुदायका आवास निर्माण भएका हुन् । 

मंगलबार गाउँपालिकाको वडा नं.७ मा आयोजित कार्यक्रममार्फत गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले सबै वडामा निर्माण भएका घरको साँचो हस्तान्तरण गरे ।  

Advertisement

उनले गाउँपालिकाका सात वडामा आर्थिक अवस्था कमजोर भएका चेपाङ समुदाय छनोट गरेर घर निर्माण गरिएको बताए । “पालिकाले चेपाङ समुदायको घर निर्माणको योजना बनाएर सरकारलाई अनुरोध गरेपछि अनुदान प्राप्त भएको हो,’ उनले भने, ‘टोल र वडाको छनोटका आधारमा उनीहरुको घर निर्माण गरेका हौँ ।’

अध्यक्ष गुरुङले निर्माण सम्झौताअघि घर र उनीहरुको अवस्थाबारे स्थलगत अनुगमन समेत गरिएको बताए । 

‘घडेरी सम्याउने र जग खनेर ढुंगा हाल्ने काम सम्बन्धित लाभग्राहीको हो,’ उनले भने, ‘अरु सबै गाउँपालिकाले निर्माण गरिदिएको छ ।’ उनले गाउँपालिकाले खरको छाना भएका र आर्थिक अवस्था कमजोर भएका चेपाङ परिवारलाई टिनको छानाको व्यवस्था गरेको जानकारी दिए । 

गाउँपालिकाको वडा नं. १ मा पाँच, वडा नं. २ मा दुई, वडा नं. ३ मा दुई, वडा नं. ४ मा दुई, वडा नं. ५ मा दुई, वडा नं. ६ मा तीन र वडा नं. ७ मा छवटा घर निर्माण गरिएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा पनि चेपाङ आवास कार्यक्रमलाई निरन्तरता दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए ।

उनले घर नभएका र खरको झुप्रोमा बस्दै आएकाहरूलाई प्राथमिकतामा राखेर घर निर्माण गरिने बताउँदै पालिकाले आगमी आवका लागि रु तीन करोड ३० लाख बजेट विनियोजन गरेको बताए । 

Advertisement

Advertisement