दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरूप ४३ लाख अनुदान

Advertisement

तनहुँ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई ४३ लाख ७३ हजार अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले चालु आर्थिक वर्षमा अनुदानस्वरुप उक्त रकम प्रदान गरेको हो ।

केन्द्रले जिल्लाका १० सहकारीमार्फत दूध बिक्रीवितरण गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको केन्द्र प्रमुख डा राजेश चौधरीले जानकारी दिए । कार्यालयले प्रतिलिटर दुई रुपैयाँ ५० पैसाका दरले अनुदान उपलब्ध गराएको उनले बताए । उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रमका लागि ९० लाख बजेट विनियोजन भएकोमा ४८ दशमलव ५९ प्रतिशत प्रगति भएको उनी बताउँछन् ।

Advertisement

‘सुरुमा प्रतिलिटर पाँचका दरले अनुदान दिने गरी कार्यक्रम बनेको थियो । तर विविध कारण र मापदण्डले गर्दा दुई रुपैयाँ ५० पैसाका दरले मात्रै अनुदान उपलब्ध गरायौँ,’ उनले भने, ‘कतिपय स्थानीय तह आफैँले पनि दूधमा अनुदान दिने कार्यक्रम सञ्चालन गरेका छन् । त्यस्ता ठाउँमा दोहोरिने भएकाले वितरण गरेनौँ ।’ 

दूधमा उत्पादनका आधारमा अनुदान दिन थालेपछि किसान दुग्ध उत्पादनतर्फ आकर्षित भएकाले जिल्ला दूधमा आत्मनिर्भर बन्न सहयोग पुगेको छ ।

कार्यालय तथा सरोकारवाला निकायले पशुपालनमा अनुदानको व्यवस्था गरेपछि पछिल्लो केही वर्षयता तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर बनेको छ । 

प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध आवश्यक पर्नेमा तनहुँमा ११८.५४ लिटर उपलब्धता छ । त्यस्तै ९४ केजी मासु आवश्यक पर्नेमा ९४.४१ केजी मासु उपलब्धता छ । साथै ४८ गोटा अण्डा आवश्यक पर्नेमा ८२.५९ गोटा अण्डा उपलब्धता छ । यो हिसाबले प्रतिव्यक्तिका लागि दूधमा २७.५४ लिटर, मासुमा शून्य दशमलव ४९ केजी र अण्डामा ३४.५९ गोटा बढी उत्पादन भइरहेको कार्यालयले जनाएको छ ।

उक्त कार्यालयले चालु आर्थिक वर्षमा बाँझो जग्गामा घाँसखेती गर्नेलाई समेत अनुदान उपलब्ध गराएको छ । घाँसखेती प्रवर्द्धन कार्यक्रममार्फत २२८ रोपनी क्षेत्रफलमा घाँसखेती गर्ने किसानलाई प्रतिरोपनी तीन हजारका दरले अनुदान उपलब्ध गराइएको छ । यो कार्यक्रमका लागि रु १८ लाख ६० हजार बजेट विनियोजन भएकामा ६ लाख ८१ हजार खर्च भएको छ ।

Advertisement

Advertisement