एकैदिन पाँचवटा संसदीय समिति बैठक बस्दै, यी हुन् मुख्य एजेन्डा

Advertisement

काठमाडौं । संघीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्न लागेको हो । 

Advertisement

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । 

बैठकमा सुर्ती, खैनी तथा गुड्खा उद्योगको पुँजी तथा क्षमता वृद्धिको सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल हुनेछ । 

त्यस्तै, झापा, सुनसरी र मोरङको स्थलगत अनुगमनको प्रतिवेदनमा छलफल, चिनी उद्योग तथा उखु किसानका समस्या समाधान सुझाव उप–समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । 

सोही बैठकमा स्पन्ज आइरन, बिलेट्सको भन्सार महसुल, अन्तःशुल्क तथा उद्योगहरूको अध्ययन अनुगमन उप–समितिको प्रारम्भिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।   

त्यसैगरी, महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो १२ बजेका लागि बोलाइएको छ । 

बैठकमा राज्यको मूलप्रवाहमा आदिवासी जनजाति समुदायको समावेशिताको अवस्था र यस सम्बन्धमा आदिवासी जनजाति आयोग र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको भूमिकाका विषयमा छलफल हुनेछ । 

बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० माथि संशोधनकर्तासँग छलफल हुने सचिवालयले जनाएको छ । 

त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि बिहान साढे ११ बजे बस्नेछ । 

उक्त बैठकमा समितिको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्ययोजनाको प्रगति समीक्षा तथा समितिको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन तयारी सम्बन्धमा छलफल हुनेछ । 

यता संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि  साढे ११ बजे नै बस्नेछ । 

बैठकमा समितिको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

Advertisement