कमजोर बन्दै नेपाली मुद्रा, डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा

Advertisement

काठमाडौं । नेपाली बजारमा डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक डलरको खरीद मूल्य १३३.५७ रुपियाँ र बिक्री मूल्य १३४.१७ रुपियाँ तोकेको छ, जुन हालसम्मकै उच्च हो । 

शनिबार पनि डलरको मूल्य सोही विन्दुमा थियो ।यसअघि गत जेठ ८ गते डलरको खरीद मूल्य १३३.५५ र बिक्री मुल्य १३४.१५ रुपियाँ थियो । त्यसपछि घटेको डलरको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको हो । 

Advertisement

बिशेषगरि, पछिल्लो समय अमेरिका, लन्डन, क्यानडा, युरोपियन लगायतका देशको केन्द्रीय बैंकले डलरमा दिने व्याजदर बढाएका छन् । त्यसले गर्दा डलर ‘होल्ड’ भएर यसको आपूर्ति श्रृंखला समेत प्रभावित भएको छ । त्यसले गर्दा यसको मूल्य बढेको बताइन्छ । 

नेपाली मुद्रा भारतीय मुद्रासँग पेग (आबद्ध) छ । भारतमा डलरको मूल्य बढ्दा नेपालमा पनि स्वतः बढ्छ । भारतमा डलरको मुल्य घट्दा नेपालमा पनि घट्ने गर्छ । 

नेपाल र भारतमा डलरको मूल्य बढ्नुको अर्थ भारतीय र नेपाली मुद्रा कम्जोर हुनु पनि हो । डलरको मूल्य घटेमा भारतीय र नेपाली मुद्रा बलियो भएको मान्न सकिन्छ ।

डलर अमेरिकाको केन्द्रीय बैंकले निष्काशन गर्ने एउटा मुद्रा हो । जसरी नेपाल राष्ट्र बैंकले ‘रुपियाँ’ मा नोट निष्काशन गर्छ, त्यसरी नै अमेरिकाको केन्द्रीय बैंकले डलरमा नोट निष्काशन गर्छ । तर, यसले अन्तर्राष्ट्रिय भुक्तानीका लागि मान्यता पाएको छ, नेपाल लगायतका अन्य देशका मुद्राले पाएका छैनन् । 

त्यो अवस्थामा अन्तरदेशीय तथा अन्तर्राष्ट्रिय व्यापार, व्यवसाय लगायतका बस्तु तथा सेवा खरीद बिक्रीको भुक्तानी डलरबाटै गर्नुपर्छ । अन्य देशका मुद्राले यस्तो मान्यता पाएका छैनन् । 

साथै, यसलाई लगानीका लागि सुरक्षित सम्पत्ति (एसेट) पनि मानिन्छ । ठूला ठूला लगानीकर्ताले डलर किनेर होल्ड गर्ने गर्छन् । नोट निष्काशन गर्न पनि डलर सुरक्षण राख्न पाइने व्यवस्था छ । त्यो अनुसार सबै  देशका केन्द्रीय बैंकहरुले पनि डलर किनेर राख्ने गर्छन । 

अमेरिका सरकारकै  सुरक्षण अर्थात् ‘व्याकअप’ भएका कारण यसमा लगानीकर्ताको आर्कषण उच्च छ । त्यो अवस्थामा माग र आपुर्तिको सिद्धान्तअनुसार पनि  यसको मूल्य थपघट हुने गर्छ । आपूर्ति राम्रो भएको अवस्थामा यसको मूल्य घट्छ । आपूर्ति न्यून भएको अवस्थामा यसको मूल्य बढ्ने गर्छ ।

डलरको मूल्य बढ्दा नेपाललाई फाइदा बेफाइदा दुवै हुनेछन् । डलरको मूल्य बढ्दा रेमिट्यान्स, विदेशी पर्यटक, निर्यात लगायतका माध्यमबाट हुने आम्दानी बढ्नेछन । किनकी, त्यसबाट डलरमा आम्दानी हुन्छ । त्यो अवस्थामा डलरलाई नेपाली रुपियाँमा सटही गर्दा धेरै आम्दानी हुनेछ ।

तर, आयात, विदेशी ऋण लगायतका बैदेशिक भुक्तानी भने महंगो हुनेछ । नेपालले खर्बौ रुपियाँ विदेशी ऋण तिर्नुपर्नेछ । साथै, बार्षिक १४–१५ खर्बको बस्तु आयात हुने गर्छन । त्यसको भुक्तानी डलरमा गर्नुपर्छ । त्यो अवस्थामा डलरको मुल्य बढ्दा आयात र विदेशी ऋणको दायित्व पनि महंगो हुने विज्ञहरु बताउँछन् ।  

यसरी डलरको मूल्य बढ्दा फाइदा–बेफाइदा दुवै छन् । तर, समग्रमा डलरको मूल्य घटेको नै राम्रो हुने विज्ञहरु बताउँछन् । नेपाली मुद्रालाई बलियो बनाउँदै जानुपर्ने उनीहरुको भनाइ छ । त्यसका लागि अर्थतन्त्र दिगो रुपमा बलियो हुन आवश्यक रहेको उनीहरु बताउँछन् । 

Advertisement