प्रधानमन्त्रीलाई संसदमा भट्टचनको प्रश्न– मुस्ताङको युरेनियम कहिलेदेखि उत्खनन् सुरु हुन्छ ?

Advertisement

काठमाडौं । व्यवसायीसमेत रहेका नेपाली कांग्रेसका साँसददेवीप्रकाश भट्टचनले प्रधानमन्त्री केपी ओलीलाई मुस्ताङको लोमानथाङमा रहेको भनिएको बहुमूल्य धातु युरेनियम भण्डारको उत्खनन् प्रक्रिया कहिले सुरु हुन्छ ? भन्दै प्रश्न गरेका छन् । 

सोमबार संसदमा प्रधानमन्त्रीसँगको प्रश्नउत्तर कार्यक्रममा उनले लोमानथाङमा १० किलोमिटर लम्बाई र ४ किलोमिटर चौडाइमा उत्कृष्ट युरोनियमको भण्डार रहेको प्रारम्भिक अध्ययनले देखाएको बताउँदै सोको उत्खनन प्रक्रिया कहिलेदेखि अगाडि बढ्छ ? भनेर प्रश्न गरेका थिए ।  

Advertisement

यसरी उत्खनन् गर्दा उक्त युरोनियमबाट प्राप्त हुने आयस्रोतबाट स्थानीय सरकारलाई अत्याधिक रकम छुट्टाई परम्परागत ढाँचाको बसोबास निर्माण गर्नुपर्ने स्थानीयको माग रहेको पनि भट्टचनले सुनाए । 

त्यस्तै, उनले वाग्लुङको ढोरपाटनस्थित उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजना (८२८ मेगावाट) कहिले सुरु हन्छ ? भन्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि ढोरपाटन विकास परियोजना सञ्चालन गर्न आग्रह गरे । 

भट्टचनले समुन्द्रमा नेपाली मालबहाक पानीजहाज सञ्चालनका लागि संसदमा पेश भएको विधेयक विगत चार बर्षदेखि अलपत्र रहेको बताउँदै सो विधेयक कहिले छलफलमा ल्याएर पास गरिन्छ ? भनेर प्रश्न पनि गरे । 

प्रतिउत्तरमा प्रधानमन्त्री ओलीले खानी तथा भूगर्भ विभागबाट अन्तर्राष्ट्रिय अटोमिट संगठनको सहयोगमा भएको प्रारम्भिक अन्वेषणले लुमानथाङ क्षेत्रमा उत्खनन्योग्य गुणस्तरीय युरेनियमन खनिजको भण्डार रहेको बताए । 

उनले युरेनियमन रणनीतिक खनिज भएकाले कानुनको सुधार, प्रयोगशालाको स्तरोन्नती, जनशक्ति विकास गरी विस्तृत अन्वेषण, औद्योगिक मोडालिटि र संगठन ढाँचा बनेपछि उत्खनन् गर्न सकिने बताए । ओलीले आफू पहिलो पटक प्रधानमन्त्री भएको बेलामा नै युरेनियम छ कि छैन भनेर पत्ता लगाउने काम भएको बताए । युरेनियम छ भन्ने पुष्टि भएपछि लोमानथाङ क्षेत्रको सुरक्षाको जिम्मा सेनालाई दिइएको उनले बताए । 

ओलीले उत्तरगंगा जलविद्युत आयोजना यसअघि नेपाल विद्युत प्राधिकरणअन्तर्गत संभाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्याङकनको काम भएको बताउँदै अहिले स्पेसल पर्पस भेहिकलको रुपमा विकास गर्न उत्तरगंगा पावर कम्पनी स्थापना गरी काम अघि बढाइएको बताए । 

उनले हालसम्म आयोजनाको संभाव्यता अध्ययन पूरा भएको, वन मन्त्रालबाट वातावरणीय प्रभाव मूल्यांकन भइसकेको, जग्गा अधिग्रहणको लागि प्रक्रिया अघि बढाइएको, विद्युत उत्पादन प्रक्रियाका लागि विद्युत विकास विभागमा आवेदन दिइसकेको र प्राधिकरणको इन्जिनियरिङ कम्पनीबाट आयोजनाको संभाव्यता अध्ययनको पुनः परीक्षण गरिएको बताए । इन्जिनियरिङ कम्पनीबाट प्रतिवेदन आएपछि निर्माण र लगानीको मोडालिटि तय गरी चार बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको बताए । 

प्रधानमन्त्री ओलीले पानीजहाज सञ्चालन सम्वन्धी विधेयक संसदमा पेश गर्ने तयारी भइरहेको बताए । 

Advertisement