छवटा समितिको बैठक बस्दै, ईयूको सेफ्टी लिस्टलगायतका विषयमा छलफल हुने

Advertisement

काठमाडौं । संघीय संसद्अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दै छ । 

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्नेछ । 

Advertisement

बैठकमा ईयूको सेफ्टी लिस्ट तथा नागरिक उड्डयन, नेपाल वायु सेवा निगमको कोरिया उडान अनुमतिका विषयमा छलफल हुने कार्यसूची छ । 

साथै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तथा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको हालसम्मको कार्यप्रगति सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ । 

साथै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भाडामा रहेका पसल कवलहरूको सम्झौताका विषयमा पनि छलफल गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । 

त्यसैगरी अर्को बैठक कानुन, न्याय तथा मानव अधिकार समितिको बस्दैछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ । 

बैठक बिहान साढे ११ बस्नेछ । 

बिहान ११ बजे नै बस्ने अर्को महिला तथा सामाजिक मामिला समितिको बैठकमा नेपालमा बालबालिकाको शैक्षिक विकासमा युनेस्कोले खेल्दै आएको भूमिकाका विषयमा छलफल हुनेछ । 

त्यसैगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्ने बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ । 

साथै, सार्वजनिक लेखा समितिको बैठक पनि आजै दिउँसो ३ बजे बस्नेछ । यद्यपि, बैठकको कार्यसूची सार्वजनिक गरिएको छैन । 

त्यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । 

बैठकमा उपभोग्य वस्तु तथा सेवाको मूल्यवृद्धि, बजार अनुगमनको अवस्था, उपभोक्ता हक संरक्षण र प्रवर्द्धन सम्बन्धमा देखिएका समस्या र सुझाव सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ । 

Advertisement