सत्तरी प्रतिशतले घट्यो रिचार्ज कार्डको आयात, डिजिटल रिचार्ज गर्ने अभ्यास बढ्दै

Advertisement

काठमाडौं । गत आर्थिक बर्ष २०८०–८१ मा रिचार्ज कार्डको आयात ७० प्रतिशतले घटेको छ । भन्सार बिभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापार सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो । 

अघिल्लो आव २०७९–८० मा नेपालमा विदेशबाट ६ करोड ६९ लाख ६४ हजार रुपियाँ तिरेर एक लाख २९ हजार ७९२ केजी रिचार्ज कार्ड आयात गरिएको थियो । गत आवमा भने दुई करोड एक लाख ६९ हजार रुपियाँको रिचार्ज कार्ड आयात भएको छ । परिमाणका आधारमा ३५ हजार ६४३ केजी यस्तो कार्ड आयात भएको तथ्यांकमा उल्लेख छ । 

Advertisement

यो छपाई खर्च तथा लागत मात्रै हो, रिचार्ज कार्डको मूल्य भने होइन । नेपालका दूरसञ्चार कम्पनीहरुले स्वदेश र विदेश दुवै ठाउँमा रिचार्ज कार्ड छाप्ने गर्छन् । विदेशमा छापिने रिचार्ज कार्ड भन्सारको प्रक्रियामार्फत नै आयात गर्नुपर्छ । 

बिशेषगरी अनलाइनको माध्यमबाट मोवाइल नम्बरमा व्यालेन्स हाल्न (रिचार्ज गर्न) मिल्ने भएपछि रिचार्ज कार्डको आयात घट्न थालेको बताइन्छ । साथै, स्वदेशमै गरिने छपाई पनि घटेको टेलीकम कम्पनीहरु बताउँछन् । समग्रमा पछिल्लो समय छपाई रिचार्ज कार्डको प्रयोग स्वाट्टै घटेको जानकारहरु बताउँछन् । 

अहिले मोवाइल बैंकिङ, वालेट, आईपीएस जस्ता डिजीटल भुक्तानीका उपकरणबाट मोवाइल नम्बरमा सिँधै टप अप (रिचार्ज) गर्न मिल्छ । औसतमा ५० प्रतिशत हिस्सामा अनलाइन रिचार्ज हुने गर्छ । यसरी अनलाइन रिचार्जको प्रवृति बढेपछि छपाई रिचार्जको प्रयोग घट्दै गएको दूरसञ्चार कम्पनीहरु बताउँछन् ।

अहिले युवा पुस्ता, व्यवसायिक व्यक्तित्व लगायत प्रविधिमा अभ्यस्त भएका ग्राहकहरुले अनलाइनबाटै मोवाइलमा रिचार्ज गर्न थालेका छन् । दुर्गम ठाउँहरुमा समेत अनलाइनमार्फत रिचार्ज गर्ने प्रवृत्ति बढेको बताइन्छ । दुर्गम ठाउँमा रिचार्ज कार्ड ढुवानी गर्न समय लाग्छ । त्यसले गर्दा त्यहाँ डिजिटल रिचार्जकै प्रयोग बढ्न थालेको छ । 

साथै, त्यसको ढुवानी खर्च पनि उच्च हुने गर्छ । त्यसले गर्दा दुर्गम ठाउँमा पनि अनलाइनबाट रिचार्ज गर्ने प्रवृत्ति बढेको कम्पनीहरु बताउँछन् । तर, प्रौढ तथा प्रविधिमा अभ्यस्त नभएका ग्राहकहरुले अझै पनि छपाई रिचार्ज कार्ड प्रयोग गर्ने गरेका छन् । 

विशेषगरी कोरोना काल पछि नेपालमा रिचार्ज कार्डको आयात घटेको देखिन्छ । कोरोना नियन्त्रण गर्न लकडाउन गरेपछि राष्ट्र बैंक तथा बैंकहरुले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरेका थिए । 

त्यसपछि आम मानिसहरु पनि कोरोना संक्रमण हुने डरमा नगदको सट्टा डिजिटल भुक्तानी गर्न सुरु गरे । साथै, रिचार्ज कार्डको सट्टा पनि डिजिटल रिचार्ज नै गर्न थाले । त्यसपछि  अनलाइन रिचार्ज गर्ने प्रवृत्ति बढ्दै गएको जानकारवालाहरु बताउँछन् ।
 
कोरोना काल सुरु हुनुभन्दा अघिल्लो आव २०७५–७६ मा नौ करोड १३ लाख ७१ हजार रुपियाँ र आव २०७६–६६ मा १० करोड ११ लाख ४१ हजार रुपियाँको रिचार्ज कार्ड आयात भएको छ । आव २०७६–७७ को फागुनसम्म कोरोनाको असर देखिएको थिएन । २०७६ चैत ११ गतेदेखि नेपालमा लकडाउन गरिएको थियो । 

त्यसपछि आव २०७७–७८ मा ३ करोड ३४ लाख ५१ हजार रुपियाँ, आव २०७८–७९ मा ३ करोड ४५ लाख ७५ हजार रुपियाँ र आव २०७९–८० मा ६ करोड ६९ लाख ६४ हजार रुपियाँको रिचार्ज कार्ड आयात भएको थियो ।   

Advertisement