रोकियो ४० मेगावाट बिजुली बिक्री गर्न आइतबार बंगलादेशसँग गर्ने भनिएको सम्झौता

Advertisement

काठमाडौं । नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्ने सम्बन्धमा आगामी आइतबार गर्ने भनिएको त्रिपक्षीय सम्झौता स्थगित गरिएको छ । 

यस सम्बन्धी सम्झौता पत्रमा आगामी आइतबार काठमाडौंमै हस्ताक्षर गर्ने कार्यक्रम थियो । तर, बंगलादेशमा जारी आरक्षण विरोधी आन्दोलनका कारण त्यो स्थगित गरिएको हो ।

Advertisement

अब बंगलादेशको आन्दोलन साम्य नभएसम्म उक्त सम्झौता नहुने ऊर्जा मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।  

नेपालको विद्युत् भारतीय प्रसारण लाइन मार्फत बंगलादेश पुर्याइने भएकाले भारतलाई समेत समावेश गरेर त्रिपक्षीय सम्झौता हुँदैछ । त्यसमा नेपालको तर्फबाट नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) र भारतको एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन) का प्रतिनिधीहरुले हस्ताक्षर गर्ने कार्यक्रम थियो । 

काठमाडौंमा हुने भनिएको हस्ताक्षर कार्यक्रममा बंगलादेशको ऊर्जा राज्यमन्त्री नसरुल हमिद र भारतीय ऊर्जा मन्त्री मनोहर लाल आउने तयारी थियो । तर, बंगलादेशमा जारी आन्दोलनका कारण त्यहाँका राज्य मन्त्री र बोर्डका उच्च पदस्थ अधिकारीहरु नेपाल आउने सम्भावना भएन । त्यसकारण हाललाई उक्त सम्झौता स्थगित गरिएको ऊर्जा मन्त्रालयले बताएको छ । स्रोतकाअनुसार बंगलादेशले आफ्नो देशको आन्दोलन साम्य भएपछि यो सम्झौताका लागि नयाँ मिति तोक्ने गरि पत्र पठाइसकेकेको छ । 

सोही आन्दोलनका कारण आगामी सोमबार र मंगलबार पोखरामा हुने भनिएको नेपाल–बंगलादेश ऊर्जा सह सचिव तथा सचिव स्तरीय बैठक पनि स्थगित गरिएको छ । यो बैठकका लागि पनि बंगलादेशले आन्दोलन साम्य भएपछि नयाँ मिति पठाउने ऊर्जा मन्त्रालयका एक अधिकारीले बताए । आइतबार काठमाडौंमा विद्युत् बिक्री सम्झौता गरेर सोमबारदेखि पोखरामा ऊर्जा बैठक बस्ने योजना थियो । 

गत असार २४ गते बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत विद्युत प्राधिकरणलाई पत्राचार गरेको थियो । त्यसपछि प्राधिकरणल बोलपत्र स्वीकार गरेको लिखित सूचना बिपिडिबीलाई दिएको थियो । त्यसपछि सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी पनि गरिएको थियो । तर, हाललाई त्यो स्थगित भएको छ । 

प्राधिकरणले भारतीय अनुदानमा निर्माण भएको तथा आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलेमे जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत बंगलादेश निर्यात गर्ने तयारी गरेको छ । प्राधिकरणले वर्षायामको ६ महिना अर्थात हरेक वर्षको १५ जुन–१५ नोभेम्बरसम्म पाँच वर्ष ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्नेछ । प्राधिकरणले बंगलादेश विद्युत बिक्री गरी प्रति युनिट ६.४० अमेरिकी सेन्ट पाउने छ । 

नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर विन्दुमा पाउने छ । अर्थात बंगलादेश निर्यात हुने विद्युत्को मिटर मुजफ्फरपुरमा रहने छ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बहरामपुर (भारत)–भेरमारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् पुग्नेछ ।
 

Advertisement

Advertisement