तीन महिनामा १७ अर्ब ५५ करोडको विदेशी लगानी प्रस्ताव, मुख्य आर्कषण– पर्यटन क्षेत्र

Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो तीन महिनामा १७ अर्ब ५५ करोड ७४ लाख ३२ हजार रुपियाँ बराबरको विदेशी लगानी प्रस्ताव आएको छ । 

अटोमेटिक रुट, कागजी प्रक्रिया र शेयर खरीद तथा सदस्यता सम्झौतामार्फत सो बराबरको विदेशी लगानी प्रस्ताव आएको हो । उद्योग बिभागले सार्वजनिक गरेको असोज मसान्तसम्मको तथ्यांकअनुसार समीक्षा अवधीमा अटोमेटिक रुटबाट एक अर्ब एक करोड ३५ लाख ६० हजार रुपियाँ लगानी प्रस्ताव आएको छ । 

Advertisement

बिभिन्न ७३ परियोजनामा सो बराबरको लगानी प्रतिवद्धता अटोमेटिक रुटबाट आएको हो । त्यसमा उत्पादनमुलुक क्षेत्रका दुई परियोजनामा सात करोड ५० लाख रुपियाँ, पर्यटन क्षेत्रका नौ परियोजनामा ३२ करोड रुपियाँ, सेवा क्षेत्रका पाँच परियोजनामा २८ करोड रुपियाँ, पूर्वाधार क्षेत्रका दुई परियोजनामा चार करोड रुपियाँ र आईटी (सूचना प्रविधि)को ५५ परियोजनामा २९ करोड ८५ लाख ५० हजार रुपियाँ लगानी प्रस्ताव आएको छ । अटोमेटिक रुटतर्फ संख्याको आधारमा आईटीमा उच्च आर्कषण देखिन्छ । 

सरकारले गत बैशाखमा सम्पन्न तेस्रो लगानी सम्मेलनको अवसरमा अटोमेटिक रुटबाट पनि विदेशी लगानी स्वीकृत गर्ने व्यवस्था गरेको थियो । त्यस माध्यमबाट ५० करोड रुपियाँसम्मको लगानी स्वीकृत गर्न सकिन्छ । यस प्रणालीले साना लगानीकर्तालाई सहजता मिलेको विभागको भनाई छ ।

यस्तै, समीक्षा अवधीमा कागजी प्रक्रियाबाट थप १५ अर्ब ४२ करोड ७७ लाख रुपियाँ विदेशी लगानी प्रस्ताव आएको छ । बिभिन्न १३१ परियोजनामा सो बराबरको लगानी प्रस्ताव आएको छ । त्यसमा दुई ठूला, एक मझौला र १२८ वटा साना परियोजना छन् । त्यसमध्ये पर्यटनमा मात्रै ९३ वटा परियोजनामा विदेशी लगानी प्रस्ताव आएको छ । उक्त परियोजनाहरुमा नौ अर्ब ९० करोड रुपियाँ लगानी प्रस्ताव गरिएको छ । 

यस्तै, सेवामा १८ परियोजनामा तीन अर्ब ६७ करोड रुपियाँ, आईटीमा पाँच परियोजनामा १७ करोड ४० लाख, उत्पादनमा १२ परियोजनामा एक अर्ब सात करोड रुपियाँ र कृषिमा दुई परियोजनामा ५८ करोड रुपियाँ विदेशी लगानी प्रस्ताव आएको छ ।
खनिजसम्वन्धी एक परियोजनामा दुई करोड रुपियाँ विदेशी लगानी प्रस्ताव आएको छ । यो प्रतिवद्धताअनुसार लगानी आएर परियोजना सञ्चालनमा भएमा छ हजार ५४३ जनाले रोजगारी पाउनेछन् । 

यस्तै, समीक्षा अवधीमा शेयर खरीद र सदस्यता सम्झौतामार्फत भने थप एक अर्ब ११ करोड ६१ लाख १५ हजार रुपियाँ लगानी प्रस्ताव भएको छ । यो उद्योग बिभागमा दर्ता भएको वैदेशिक लगानी प्रतिवद्धता मात्रै हो । लगानी बोर्डमा आउने लगानी प्रतिवद्धता यसमा समावेश छैन ।

कति बाहिरियो लाभांश ?
नेपालमा लगानी गरेबापत विदेशी लगानीकर्ताले समीक्षा अवधीमा छ करोड ७० लाख ८२  हजार रुपियाँ लाभांश लगेका छन् । यो गत आवको सोही महिनाको तुलनामा कम हो । गत आवको सोही अवधीमा २६ करोड २१ लाख नौ हजार रुपियाँ लाभांश लगेका थिए । 

पछिल्लो समय देखिएको आर्थिक शिथिलताले नेपालका अधिकांश व्यापार व्यावसाय प्रभावित भएका छन् । त्यस कारण लाभांशबापत बाहिरिने रकम पनि घटेको छ । 

रोयल्टीमार्फत कति बाहिरियो ?
विदेशी लगानीकर्ताले रोयल्टीबापत नेपाली रुपियाँमा ३८ करोड २२ लाख ५४ हजार लगेका छन् । यसैगरि, डलरमा आठ लाख १५ हजार ५२१, भारुमा ५९ लाख १४ हजार र युरोमा १० हजार २०० थप रोयल्टी लगेको तथ्यांकमा उल्लेख छ । 

सेवा शुल्कबापत कति बाहिरियो ?
यस्तै, सेवा शुल्कमार्फत समीक्षा अवधीमा नेपाली रुपियाँमा ३८ करोड आठ लाख ६८ हजार, डलरमा २८ लाख ६८ हजार ६४४ र भारुमा पाँच करोड ७६ लाख १५ हजार बाहिरिएको छ । परियोजना स्थापना तथा सञ्चालनमा बिभिन्न सेवा दिएबापत पनि विदेशीहरुले सम्झौताअनुसारको शुल्क पाउने गर्छन् ।

Advertisement

Advertisement