यु-२० साफ पुरुष फुटबलः बङ्गलादेशसँग श्रीलंका पराजित भएसँगै नेपाल सेमिफाइनमा

Advertisement

काठमाडौँ । राजधानीमा जारी यु-२० साफ पुरुष फुटबल च्याम्पियनसिपमा नेपाल एक खेल अगावै सेमिफाइनमा पुगेको छ । 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा समूह ‘ए’ मा रहेको बङ्गलादेशले सोही समूहमा रहेको श्रीलङ्कालाई २-० गोलअन्तरले पराजित गरेपछि नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । 

Advertisement

यसअघि नेपालले उद्घाटन खेलमा श्रीलङ्कालाई १-० गोलअन्तरले पराजित गर्दै समूह ‘ए’ बाट शीर्ष तीन अङ्क जोडेको थियो । पछिल्लो हारसँगै श्रीलङ्का प्रतियोगिताबाट बाहिरिएको छ । 

बङ्गलादेशको जितमा मिराजुल इस्लाम र पिएश अहमद नोभाले समान एक एक गोल गरे । खेलको १८औँ मिनेटमा इस्लामको गोलमार्फत बङ्गलादेशले अग्रता लिएको थियो । त्यसपछि खेलको अन्त्यतिर नोभाले गोल गर्दै बङ्गलादेशको जित पक्का गरे ।

समूह ‘ए’ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल यही भदौ ६ गते हुनेछ । यस्तै, प्रतियोतिगाअन्तर्गत भोलि माल्दिम्स र भुटानबीच प्रतिस्पर्धा हुनेछ । 

Advertisement

Advertisement