सरकार मेरो हो भन्ने भाव राखेर काम गर्नुस, निराश नहुनस्ः उद्योगमन्त्री भण्डारी

Advertisement

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग क्षेत्रसँग सम्बन्धित समस्या समाधानका लागि सरकार तयार रहेको बताएका छन् । 

शुक्रवार ललितपुर उद्योग बाणिज्य संघको ४५ औं वार्षिक साधारण सभामा उनले सरकारको नीतिमा प्रश्न भए छलफल र बहस गरेर समाधान गर्न तयार रहेको बताए । 

Advertisement

भण्डारीले अहिले नेपालमा केही छैन र हुँदैन भन्ने भाष्य सिर्जना गरिरहेको भन्दै राज्यप्रति निराशा बाँड्न नहुने तर्क गरे । सरकार मेरो हो भन्ने भाव राखेर काम नगरेसम्म देश नबन्ने उनले बताए । 

आर्थिक समृद्धिका लागि सफल हुनुपर्ने भन्दै भण्डारीले राज्यलाई कमजोर देख्नेहरुबाट विकास सम्भव नरहेको बताए । उनले सरकारलाई बेठिक देख्ने, राज्य कमजोर हुँदा रमाउने कुराले हाम्रो समृद्धिको यात्रा तय हुन नसक्ने बताए । 

भण्डारीले भने, ‘अहिले एउटा भाष्य के निर्माण भएको छ भने हामीसँग सम्भावना पनि छन् । सिमित छन् । सम्भावना हुँदाहुँदै पनि अन्तै सम्भावना देखिरहेका छौँ । र एउटा ट्रेण्ड नै के भएको छ भने नेपालमा खासगरी युवा जमातमा एउटा निराशा व्याप्त रहने, त्यो निराशा प्रोत्साहित गर्न अनेक खालका लाञ्छना लगाउने, सरकार र राज्यप्रति निराशा पैदा गर्ने, सरकार केही होइन, केही गरेन, सरकारले गर्न चाहेको छैन भन्ने खालको भाष्य निर्माण गरेर आज एउटा निराशा व्याप्त गर्ने र त्यो खालको अराजकता सिर्जना गर्ने गतिविधि भइरहेको छ ।’ 

उनले थपे, ‘आखिर सरकार कसको हो ? राज्य कसको ? जब राज्य कमजोर हुन्छ, जब सरकार कमजोर हुन्छ, सरकार मेरो हो, राज्य मेरो हो, भन्ने भाव आउँदैन तबसम्म देश बन्दैन । आर्थिक समृद्धिका लागि पहिला राज्य सफल हुनुपर्दछ । सरकार सफल हुनुपर्दछ । यदी राज्यलाई कमजोर देख्ने, सरकारलाई कमजोर देख्ने, सरकार फलानाको, एमालेको, काँग्रेसको, माओवादीको भनेर हामीले भन्ने तर सरकार मेरो हो, सरकार नेपालको हो । नेपालको सरकार, राज्य जबसम्म बलियो हुँदैन, तबसम्म कुनै क्षेत्र बलियो हुँदैन भन्नेकुरा बुझ्न जरुरी म ठान्दछु ।’ 

उद्योग क्षेत्रसँग सम्बन्धित समस्या समाधानका लागि सरकारको नीतिमा समस्या छन् भने छलफल गर्न आउन उनले निजी क्षेत्रका प्रतिनिधिलाई सुझाव दिए । भण्डारीले सरकारका नीतिमा कमजोरी हुनसक्ने भन्दै सच्याउन आफूहरु तयार रहेको बताए । ‘कहाँनेर निजी क्षेत्र निरुत्साहित भएको हो ? त्यसमा बहस गरौँ’ उनले प्रश्न गरे । 

अहिलेको जस्तो बलियो, दृढ सरकार कहिले पाउनु हुन्छ ? भन्दै उनले भने, ‘नीतिमा सुधार गर्नुपर्छ भने पनि कहीँ समस्या छैन, सरकार तयार छ । आज सरकारलाई बेठिक देख्ने, राज्य कमजोर हुने अनि हामी रमाउने कुराले हाम्रो समृद्धिको यात्रा तय हुँदैन । आजको राज्यको संयन्त्र, तीन तहको सरकार बीचको सहकार्यबाट हामी निजी क्षेत्रलाई प्रोत्साहित गर्न चाहन्छौँ । निजी क्षेत्रसँग सहकार्य गर्न चाहन्छौँ ।’

गमन्त्री भण्डारीले उद्योग क्षेत्रमा रहेका समस्याको समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताए । उनले उद्योग क्षेत्रसँग सम्बन्धित, वस्तुगत सेवा, छाता संस्थाहरुसँग सम्बन्धित छलफल गरी मन्त्रायल सुधार कार्ययोजना बनाइएको बताए । 

Advertisement

Advertisement