काठमाडौं । आइतबार सम्पन्न नाडा अटो शो, २०२४ मा ४ हजार बढी सवारी साधन बुकिङ भएको व्यवसायीहरुले दाबी गरेका छन् । १६औं संस्करणको अटो शो गत भदौ ११ गतेदेखि भदौ १६ गते (आइतबार)सम्म ६ दिन चलेको थियो । यस अवधिमा चारपाङ्ग्रे सवारी साधन मात्र ३८ सय माथिको बुकिङ भएको व्यवसायीहरुको दाबीमा देखिन आएको हो ।
कुन कम्पनीको कति ?
अटो शो पश्चात सवारी साधन बिक्री तथा बुकिङमा कम्पनीहरुको आ–आफ्नै दाबी छन् । न्यूनतम् २०–३० युनिटदेखि एउटै कम्पनीले एक हजार बढी युनिट सवारी साधनको बुकिङको दाबी गरेका छन् । अटो ब्राण्डको ग्रुप अफ कम्पनी एमएडब्लूले अटो शोमा सबै ब्राण्ड तथा सेग्मेन्ट गरी एक हजार बढी सवारी साधनको बुकिङ लिएको दाबी गरेको छ ।
ब्राण्डवाईज बीवाईडीको ७१२, महिन्द्राको ६०, स्काईवेलको १३०, नामीको ७१७, सेरेस २११, जेको २२३, ओमोडा १३०, लिप मोटर सी १७६, एमजीको एक सय बढी गाडी बुकिङ भएको दाबी गरिएको छ ।
यसैगरी, बीएडब्लु १२७, डिप्पल १२६, केई ४०, हुन्डाई १५०, सुजुकी १८४, सिट्रोट ३५, सीजी मोटर्सको नेटा ४०, रिडरा ४३, आयन ३०, एक्सपेङ ५७ , अवतार १० बुकिङ भएको दाबी गरिएको छ।
सिप्रदी ट्रेडिङले टाटाका पञ्च मात्र ४७५ वटा र टियागो १६९ गरी कूल ६४४ युनिट गाडी बुकिङ भएको जनाएको छ।
दुईपाङ्ग्रे तर्फ
कम्पनीहरुmले उपलब्ध गराएको तथ्यांक अनुसार एनआईयू ४०, एथर ३५, हिरो ६०, ट्राइम्फ २००, रोयल इन्फिल्ड ७०, जिहो ३६, सीएफमोटो ५१, सुजुकी १० र बजाज ५० वटा बुकिङ भएका छन्।
समग्रमा ४ हजार बढी सवारीको बुकिङ हुँदा १५ अर्ब रुपैयाँमाथिको कारोबार भएको देखिन्छ । आयोजनक नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले अटो शोको उत्साहले दसैंतिहार आएको संकेत गरेको बताए । राजधानीमा ६ दिन चलेको अटो शोमा ८२ हजार ४७० जना अवलोकनकर्ताले अवलोकन भ्रमण गरेको नाडाको दाबी छ । यस पटक ७५ हजारको लक्ष्य राखिएको थियो ।