आयात घटेसँगै व्यापार घाटा केही सुध्रियो, तीन महिनामा जम्मा ४० अर्बको निर्यात

Advertisement

काठमाडौं ।  चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुलुकको वैदेशिक व्यापार घाटा केही सुध्रिएको छ । असोज मसान्तसम्म चार खर्ब ८ अर्ब ७५ करोड रुपियाँ बराबरको मालवस्तु आयात गरेको नेपालले यसै अवधिमा ४० अर्ब ८७ करोड रुपियाँ बराबरको वस्तु निर्यात गरेको छ । आयात निर्यातको स्थिति हेर्दा समीक्षा अवधिमा नेपाललाई वैदेशिक व्यापारतर्फ खुद तीन खर्ब ५२ अर्ब ३७ करोड रुपियाँ घाटा लागेको छ । 

तथापि, अघिल्लो वर्षको यसै अवधिमा मुलुकले वेहोरेको घाटाको तुलनामा यो ३.९६ प्रतिशतले कम हो । आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा मुलुकले तीन खर्ब ६६ अर्ब ८८ करोड रुपियाँ घाटा वेहोरेका थियो ।

Advertisement

त्यसो त यस वर्ष मुलुकको व्यापार घाटा घट्नुमा भने आयात घट्नु नै प्रमुख कारण रहेको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार समीक्षा अवधिमा नेपाल आयात हुने मालवस्तुको आयात ४.१७ प्रतिशतले घटेको छ ।
गत आर्थिक वर्षको असोज मसान्तसम्म चार खर्ब ७ अर्ब ७५ करोड रुपियाँ बराबरको बस्तु आयात हुँदा यो वर्ष तीन खर्ब ९० अर्ब ७५ करोड रुपैयाँ बराबरको मात्र बस्तु आयात भएको तथ्यांकमा उल्लेख छ । झण्डै एक वर्ष पछि गत भदौमा नेपालको आयात १.०८ प्रतिशतले बढेको थियो । तर, असोजसम्म आउँदा आयात पुनः घटेको तथ्यांकले देखाएको छ । 

सामान्यतया आयात घट्नु राम्रो नै हो । तर, आयातमा निर्भर नेपालको अर्थतन्त्र आयातसँगै राजस्वमा निर्भर रहँदा यस्तो स्थितिले अर्थतन्त्र ठिकठाक नरहेको संकेत गर्छ । विकास निर्माणका काम पनि आयातसँग जोडिएका छन् । विकास निर्माणलाई चाहिने अधिकांश सामग्री तथा मेसिनहरु आयात नै गर्नुपर्छ । उपभोक्ताको मागअनुसार अधिकांश बस्तु आयात नै गर्नुपर्छ । त्यो अवस्थामा आयातको अहिलेको तथ्यांकले उति राम्रो नभएको पुष्टि गर्छ । 

यसले अर्थतन्त्र अझै पनि शिथिल अवस्थामा रहेको, बजारमा बस्तुको माग न्यून रहेको र विकास निर्माणका काम पनि राम्रो नभएको संकेत गर्ने विज्ञहरु बताउँछन् । 

दशैं तिहारका कारण यो समयमा बस्तुको आयात बढ्नुपर्ने हो । तर, त्यस्तो नभएको तथ्यांकले पुष्टी गरेको छ । 
यस्तै, असोज १०–१२ गतेको अविरल बर्षाका कारण आएको बाढीले पहिरोले राजमार्गहरु अवरुद्ध हुदाँ पनि आयात प्रभावित भएको देखिन्छ ।

बाढी पहिरोले सडक अवरुद्ध हुदाँ मालबाहक गाडीहरु बाटोमै अड्कीएका थिए । अरनीको राजमार्गमा रहेका दुई पुल बाढीले बगाउँदा चिनसँग जोडिएका प्रमुख दुई नाका तातोपानी र रसुवागढी अझै पनि बन्द छन् । त्यहाबाट अझै पनि आयात अवरुद्ध छ । यी यस्ता कारण आयात प्रभावित भएको देखिन्छ । 

Advertisement

Advertisement