दशैं अघि र पछि नेपालमा दुई अन्तर्राष्ट्रिय बीमा सम्मेलन

Advertisement

काठमाडौं ।  दशैंअघि र पछि गरेर नेपालमा दुई वटा अन्तर्राष्ट्रियस्तरको बीमा सम्मेलन हुँदैछ । बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले यी सम्मेलन गर्न लागेको हो । 

प्राधिकरणले आगामी असोज २१ देखि २३ गतेसम्म (अक्टोबर ७ देखि ९ तारिखसम्म) एसियन मुलुकका बीमा नियमनकारी निकायहरुको सम्मेलन गर्न लागेको जनाएको छ । प्राधिकरणले चालु आवको नीति तथा कार्यक्रममै यो कार्यक्रम गर्ने उल्लेख गरेको छ । 

Advertisement

‘एसियन फोरम अफ इन्स्योरेन्स रेगुटर’ले हरेक बर्ष यस्तो कार्यक्रम गर्र्दै आएको छ । गत बर्ष मलेसियामा यस्तो सम्मेलन भएको थियो । यसपाली भने नेपालमा गर्न लागिएको हो । नेपालमा गरिने सम्मेलनलाई नेपाल बीमा प्राधिकरण, इन्टरनेशनल एसोसिएसन अफ इन्स्योरेन्स सुपरभाइजर र बैंक फर इन्टरनेशनल सेटलमेन्टस्ले संयुक्त रुपमा संयोजन गर्नेछन् ।

‘एसियन फोरम अफ इन्स्योरेन्स रेगुटर’को यो १८ औं अन्तर्राष्ट्रिय सम्मेलन हो । १९ औं सम्मेलन भने अर्को बर्ष भारतमा गर्ने प्रस्ताव छ । यसमा एसियन फोरम अफ इन्स्योरेन्स रेगुटरको सम्मेलन, बार्षिक बैठक र बार्षिक साधारण सभा पनि हुनेछ । कम्तीमा २० मुलुकका बीमा नियमनकारी निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति उक्त सम्मेलनमा हुनेछ । 

सम्मेलनमा ‘प्रोटेक्शन ग्याप’ र ‘जलवायु परिवर्तनका कारण देखिएको प्रभाव’ लाई मुख्य एजेन्डा बनाइएको छ । यस्ता समस्यालाई बीमा क्षेत्रले कसरी सम्बोधन गर्छ ? भन्ने बिषयमा केन्द्रीत भएर सम्मेलन गरिनेछ । 

उक्त कार्यक्रम सकिएको केही समयपछि कात्तिक ५ गतेदेखि ९ गतेसम्म समावेशी बीमासम्बन्धी अर्को अन्तर्राष्ट्रिय सम्मेलन हुनेछ । म्यूनिक रि–इन्स्योरेन्स कम्पनी र माइक्रो इन्स्योरेन्स नेटवर्कले हरेक बर्ष यस्तो सम्मेलन गर्दै आएका छन् । गत बर्ष ढाकामा यस्तो सम्मेलन गरिएको थियो । यसपाली नेपालमा यो सम्मेलन गर्न लागिएको हो । 

नेपालमा गर्न लागिएको ११ औं सम्मेलनलाई प्राधिकरणसहित नेपाल जीवन बीमक संघ र नेपाल निर्जीवन बीमक संघले संयुक्त रुपमा संयोजन गर्दैछन् । यो कार्यक्रममा ५० भन्दा बढी देशका बीमा क्षेत्रमा आवद्ध ४०० भन्दा बढी प्रतिनिधिहरुको सहभागीता हुनेछ । 

यी दुई कार्यक्रमको बीचको समय अर्थात् असोज २४ देखि २८ सम्म हिन्दूहरुको पर्व दशैं रहेको छ । 
प्राधिकरणका उप–निर्देशक पुनम ज्ञवालीले दुवै कार्यक्रमको तयारी तीब्ररुपमा अघि बढाएको जानकारी दिइन । पहिलो कार्यक्रमका लागि सम्बन्धित मुलुकका नियनकारी निकायहरुलाई निम्तो पठाइसकेको र अधिकांशले निम्तो स्वीकार गरिसकेको उनको भनाइ छ । 

दोस्रो कार्यक्रमका लागि पनि रजिष्ट्रेसन खुला भइरहेको ज्ञवालीले बताइन् । उनकाअनुसार पहिलो भन्दा दोस्रो कार्यक्रम झन् ठूलो र भव्य हुनेछ । 

Advertisement