दसैंतिहारमा सुकिला नोट नपाइने, पुरानैबाट काम चलाउन राष्ट्र बैंकको आग्रह

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसवर्ष दसैंतिहार लक्षित सुकिला नोट बजारमा नपठाउने भएको छ । 

अघिल्ला वर्षहरुमा मुख्य चाडपर्वकै लागि भनेर तीन चार महिनाअघि नै नोट छपाई गर्ने गरेको केन्द्रीय बैंकले यसपटक सो कार्य रोकेको हो ।

Advertisement

दसैंतिहार तथा छठमा बजारमा ठूलो परिमाणमा सुकिला (नयाँ) नोटको माग हुनेगरे पनि यसपटक काम चलाउन सक्ने पहिला नै छापिएका नोटहरुलाई प्रयोग गर्नेगरी रिप्रिन्टमा ध्यान नदिएको राष्ट्र बैंकका सहप्रवक्ता डिल्लिराम पोखरेलले कर्पोरेट नेपाललाई जानकारी दिए ।

‘कुनै पनि वर्ष राष्ट्र बैंकले दसैतिहारकै लागि भनेर नयाँ नोट छाप्दैन । नोट छपाईको आफ्नै नीति अनि समय हुन्छ । ३ देखि ५ वर्षको अवधिमा कुनै अंकको नोट छाप्ने गरिन्छ । दसैंतिहारकै अघि नोट छाप्ने अनि रिसाइक्लिङ (पुनः छपाई) हुने हुँदा बजारले माग गरे अनुसारको सुकिला नोट पाउने गरेका थिए । तर यसपटक पुरानै नोटलाई निरन्तरता दिने नीति राष्ट्र बैंकले लिएको छ’ पोखरेलले कर्पोरेट नेपालसँग भने । 

पुराना नोट रिसाइकल छपाई गर्दा खर्च आउने हुँदा पनि काम चल्नेसम्मका नोटहरुलाई प्रयोग गर्ने योजना बनाएको सहप्रवक्ता पोखरेलको भनाइ छ । जसले गर्दा यसपटक बजारमा नयाँ नोटको अभाव हुने भएको छ । सुकिला नोटको अभावलाई ध्यानमा राख्दै सकेसम्म पुरानै नोटबाट काम चलाउन समेत उनले सबैमा आग्रह गरेका छन् । 

६० देखि ७० अर्ब सुकिला नोटको माग

दसैंतिहार तथा छठ जस्ता मुख्य चाडपर्वको अवसरमा बजारमा ६० देखि ७० अर्ब रुपियाँ बराबरको सुकिला नयाँ नोटको माग हुने गरेको छ । जुन राष्ट्र बैंकले प्रत्येक महिना सार्वजनिक गर्ने गरेको क्यास सर्कुलेसन (नगद प्रवाह) रिपोर्टबाट पनि देखिन्छ । 

तुलनात्मक रुपमा अन्य समय भन्दा दसैंतिहारको समयमा बजारको क्यास सर्कुलेशन ६०–७० अर्ब बढीले बजारमा गएको देखिन्छ । तर, पछि सो पैसा बैंकिङ च्यानलमा नै फर्किन्छ । पछिल्लो समय बजारमा ६ खर्ब ६८ अर्ब रुपियाँको हाराहारी क्यास सर्कुलेसन छ । 

Advertisement