दशैंमा घर जाने हवाई यात्रुले दोब्बरसम्म मूल्य तिर्नुपर्ने बाध्यता, नियामक निरीह

Advertisement

काठमाडौँ । दशैँ आउन अब १६ दिन बाँकी छ । दशैँ नजिकिएसँगै काठमाडौं बाहिर जाने यात्रुहरूले हवाई टिकटको बुकिङ गर्न सुरु गरिसकेका छन् । तर हवाई टिकटको मूल्य भने अकल्पनीय ढंगले बढाइएको छ । 

अधिकांश टिकट अनलाइनबाटै बुकिङ हुने हुँदा आफूहरूले दशैँका लागि अग्रिम बुकिङ खुल्ला गर्ने नगरेको वायुसेवा कम्पनीहरुको तर्क छ । तर अनलाइनबाट टिकट काट्न खोज्दा नै दोब्बरसम्म मूल्यवृद्धि गरिएको छ । कतिपय यात्रुलाई कम्पनीहरुले आफूले सेटिङ मिलाएर चर्को मूल्यमा बिक्री गर्छन् । 

Advertisement

दशैंको बेलामा अरु समयमा भन्दा सामान्य मूल्य वृद्धिसम्मलाई स्वाभाविक मान्न सकिए भने अस्वाभाविकरुपमा रकम अशुल्दा पनि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण निरीह बनेको छ । खुल्ला बजारका नाममा वायुसेवा कम्पनीहरुलाई मनलाग्दी भाडा अशुल्न दिएको छ । 

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले वायुसेवा कम्पनीहरुले माथिलो हवाई शूल्कभन्दा बढी लिन नपाउने र तल्लो शूल्कभन्दा कम पनि लिन नपाउने तर्क गरे । बीचको अवस्थामा चाहिँ माग र आपूर्तिको आधारमा हवाई भाडा घटबढ गर्न सक्पनीहरुले सक्ने उनको तर्क छ । दशैंमा बाहिरबाट काठमाडौं आउने यात्रुलाई पनि खासै सस्तो मूल्यमा टिकट बिक्री नगर्ने गरेको तथ्यलाई भने भुलले चाल नपाए जस्तो गरे । 

उनले भने, ‘दशैंको बेलामा माग बढी हुन्छ । काठमाडौंबाट जाने यात्रु धेरै हुन्छ । फर्किने थोरै हुँदा एयरलाइन्स कम्पनीहरुको दुई तर्फको खर्च त उठनु पर्यो । त्यो भनेको माग र आपूर्तिको आधारमा हुन्छ । अहिले काठमाडौंबाट बाहिर जाने यात्रु धेरै र भित्रिने कम हुन्छ । त्यही कारण प्राधिकरणले तोकेको अधिकतम् भाडादरभन्दा बढी लिन नपाउने गरी हामीले नियम बनाएका छौं ।’ दशैंको लागि बुकिङ कहिले खुल्ला गर्ने ? कम्पनीहरुको कुरा भएको भुलले बताए ।

यता कम्पनीहरुले भने न्यूनतम् मूल्यका हवाई टिकटहरु लगभग बिक्री भइसकको दावी गरेका छन् । तुम्लिङटारको सबै टिकट बिक्री भइसकेको उनीहरुको भनाई छ । धेरैजसो यात्रुहरुले पछि टिकटको अभाव हुने डरले अगाडि नै बुकिङ गर्ने वायुसेवा कम्पनीका सञ्चालक र व्यवस्थापकहरुको तर्क छ । तर अनलाइनबाट बुकिङ गर्दा प्राविधिकरुपमा तीन–चार दिनभन्दा अगाडिको बुकिङ गर्न नमिल्ने बनाइएको हुन्छ । 

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले वायुसेवा कम्पनीहरूको अधिकांश टिकट अनलाइनबाटै बुकिङ हुने कारणले दशैँका लागि छुट्टै बुकिङ खुलाउने नगरेको तर्क गरे । ‘टिकट अनलाइनबाटै बुकिङ हुने भएकाले दशैंको चार–पाँच दिनको लागि बुकिङ आइरहेको छ’ उनले भने, ‘बढी चाप विराटनगर, भैरहवा, पोखरामा आइरहेको छ । हाल दशैँको लागि ६० प्रतिशत टिकट बुकिङ रहेको छ ।’

असोज २४ (फूलपाति)देखि दशैँको टीकासम्म घर जानेहरुको चाप धेरै रहेको बर्तौलाले बताए । उनले भने, ‘जानेको चाप छ तर आउनेको चाहिँ खासै छैन् । दशैंमा एकतर्फी यात्रु धेरै हुन्छन् । त्यस्तो हुँदा जुन प्राधिकरणले निर्धारण गरेको न्यूनतम् र अधिकतम् दरको बीचमै रहेर एयरलाइन्स कम्पनीहरुले विभिन्न श्रेणीको भाडादर निधारित गरेको हुन्छ ।’ 

अहिले सस्तो टिकट बिक्री भइसकेकोले न्यूनतम भाडादरभन्दा माथिको टिकट मात्र बाँकी रहेको बर्तौलाको भनाई छ । उनले थपे, ‘यात्रुहरुले सकेसम्म सस्तो मूल्यको टिकट अहिले नै बुकिङ गर्दा राम्रो । पछि फेरि माथिको मूल्यमा पर्न सक्छ । अझै पनि सस्तो मूल्यको टिकट पाउनसक्ने सम्भावना छ । जति ढिलो भयो, त्यति मूल्य बढ्दै जान्छ ।’ आम नेपालीको क्रयशक्तिले धान्न नसक्नेगरी टिकटको मूल्य महंगो गर्ने प्रणालीका समवन्धमा प्राधिकरण र वायुसेवा सञ्चालकहरु उदासिन देखिन्छन् । 

बुद्ध एयरका सूचना अधिकृत दीपेन्द्र कर्णले काठमाडौंबाट विभिन्न गन्तव्यमा जाने अधिकांश यात्रुहरुले हवाई टिकटको बुकिङ गरिसकेको बताए ।  कसैले बुकिङ रद्द गर्यो भने मात्र टिकट पाउने संभावना रहेको बताउँदै उनले तुम्लिङटारबाहेक अन्य गन्तव्यमा यात्रुले छिटो बुकिङ गरे टिकट पाउने संभावना रहेको बताए । 

यता सौर्य एयरलाइन्सले भने दशैँको लागि टिकट बुकिङ लिएको छैन् । दुघटनापछि कम्पनीले आन्तरिक कामहरु गरिरहेको बताउँदै हाल कुनै पनि बुकिङ नलिएको बताएको छ । 

Advertisement