इथानोलको मूल्य एक महिनाभित्र तोक्छौंः मन्त्री भण्डारी

Advertisement

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पेट्रोलियम पदार्थमा इथानोल मिश्रको नीतिमा धेरै अघि बढिसकेको बताएका छन् । राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा उनले इथानोल मिश्रणको नीतिमा सरकारले आवश्यक तयारी पूरा गरिसकेको बताए । 

भण्डारीले भने, ‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नियमावली बनिसकेको छ, अब मूल्य निर्धारण गर्न बाँकी छ । यो पनि हामी एकमहिना भित्र टुंग्याउछौं ।’ उनले इथानोल उत्पादनले दैनिक दुई लाख किलोलिटर पेट्रोलियम पदार्थको खपत कम गर्ने स्थिति रहेकोमा सरकारले यस सम्बन्धमा अघि बढ्न आयल निगमलाई आवश्यक नीतिगत व्यवस्थासँगै निर्देशन गरिसकेको समेत बताए । 

Advertisement

मन्त्री भण्डारीले इथानोल उत्पादनमा जाँदा पेट्रोलियम पदार्थको खपत घट्नुका साथै स्वदेशमा नै रोजगारीको सिर्जनामा समेत सहयोग पुग्ने बताए । पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्ने सन्दर्भमा पछिल्लो समय निकै चर्चा चलेको छ । 

२०६० सालमा नै इथानोल उत्पादन र प्रयोगमा नीति बनेपनि हालसम्म कार्यान्वयनमा जान सकेको छैन । तर, नेपालमा इथानोल उत्पादन र मिश्रण सम्भव रहेको जनाउँदै नेपाल आयल निगमले आवश्यक तयारीका साथ उत्पादनमा जाने प्रतिवद्धता जनाएको छ ।

Advertisement