नुवाकोटको साततले दरबार पुनर्निर्माणमा जुटे चिनियाँ

Advertisement

नुवाकोट । भूकम्पले क्षतिग्रस्त नुवाकोटको साततले दरबारसहित यस आसपासका धार्मिक एवं पुरातात्विक सम्पदाको पुनर्निर्माणमा चिनियाँ पक्ष जुटेको छ । नौ वर्षअघिको भूकम्पले भत्काएका यहाँका सम्पदाको पुनर्निर्माण गर्ने जिम्मेवारी चीन सरकारले लिएको थियो । 

चिनियाँ पक्षले अब भने नियमित काम अघि बढाउने जनाएको विदुर नगरपालिकाको प्रमुख राजन श्रेष्ठले जानकारी दिए । चिनियाँ पक्षको मागअनुसार दरबार क्षेत्रसम्म निर्माण सामग्री पुर्याउन सडक पहुँचमार्ग, नियमित र भरपर्दो विद्युत् प्रसारण लाइन,  निर्माण सामग्री राख्ने स्थलका साथै पानीको प्रबन्ध मिलाइएको छ ।

Advertisement

भूकम्पले क्षति पुर्याएका संरचना पुनर्निर्माणमा सहयोग पुर्याउने कार्यक्रमअन्तर्गत नेपाल र चीन सरकारबीच नुवाकोटको साततले दरबारसहित यहाँको धार्मिक तथा पुरातात्विक महत्वका विभिन्न आठवटा संरचनाको पुनर्निर्माण गर्ने समझदारी भएको हो ।

सम्झौताअनुसार पहिलो चरणमा साततले दरबारसहित दरबार परिसरमा रहेको गारदघर र रङमहलको आवश्यकताका आधारमा पुनर्निर्माण तथा प्रवलीकरण गरिने चिनियाँ पक्षले जनाएको छ । त्यसपश्चात् लिच्छविकालीन तलेजु (तुलजा भवानी) को मन्दिर, सेतोपाटी, लामपाटी, विष्णु र नारायण मन्दिरको पुनर्निर्माण गर्ने योजना छ । सबै सम्पदाको मौलिकपन कायम गरिने नुवाकोट दरबार हेरचाह कार्यालयका प्रमुख सुनिल पौडेलले जानकारी दिए । 

विसं २०७६ जेठमा भएको सम्झौताअनुसार ४५ महिनाभित्र दरबारसहितको संरचना निर्माणको जिम्मेवारी चीन सरकारले लिएको थियो । त्यसपश्चात् सोही वर्षको असारमा दरबार पुनर्निर्माणअन्तर्गत कार्यप्रारम्भ गर्न चिनियाँ पक्ष कार्यक्षेत्रमा आइपुगेको थियो ।

द्विपक्षीय सम्झौतापश्चात् असारमा काम गर्न आएको चिनियाँ टोली ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ले यहाँको सम्पदालाई थप क्षति हुन नदिन खट बनाएर नयाँ वर्ष मनाउन भन्दै फर्किएको थियो ।  विसंं २०७६ को मङ्सिर अन्तिम साता चीनमा देखापरेको कोरोना सङ्क्रमणका कारण  चिनियाँ टोली फर्केको थिएन । त्यसको तीन वर्षपश्चात् २०७९ साल असोजमा चिनियाँ प्राविधिक टोली आएर साततले दरबारको भूमितह, गारो र छानाको वस्तुस्थिति अध्ययनपश्चात् प्रवलीकरण गरेर फर्किएको थियो ।
 

Advertisement