बालेनप्रति ओली सरकार निर्मम बन्दै, इन्द्रजात्रामा बालेन समर्थकहरुलाई निषेध

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति केपी ओली नेतृत्वको सरकार निर्मम बन्दै गएको छ । इन्द्रजात्राको अवसरमा बालेनको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर दरबार पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले बालेनको टिसर्ट लगाएका १३ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई अहिले प्रहरी वृत्त जनसेवामा राखेको छ । बालेनको समर्थन र नेताहरुको विरोधमा गत बर्ष जस्तै हुटिङ हुनबाट रोक्न प्रहरीले सादा पोषाकमा प्रहरीलाई समेत परिचालन गरेको छ । यद्यपि बालेन अहिले नेपालमा छैनन् । आफूप्रति केन्द्र सरकारले इन्द्रजात्रामा सहभागी हुन अवरोध सिर्जना गर्ने संकेत पाएपछि उनी बैंगलौरमा एल्मुनाइ कार्यक्रम सहभागी हुन भन्दै भारत गएका छन् ।

Advertisement

जात्रामा सभ्य भएर मनाउनुपर्नेमा कोही–कसैको पक्षमा नाराबाजी हुल–हुज्जत गर्न नहुने भन्दै काठमाडौं प्रहरी प्रमुख वसन्त रजौरेले उनीहरुलाई नियन्त्रणमा लिएको तर्क गरेका छन् । 

पछिल्लो समयमा ठूला दलका नेताहरु जनतादेखि तिरस्कृत हुँदै आएका छन् भने युवा नेता बालेन जनतामाझ लोकप्रिय बनेका छन् । आजको कार्यक्रममा बालेन सहभागी नहुने भए पनि उपमेयर सुनिता डंगोल भने सहभागी भइन । 

हरेक बर्ष वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी इन्द्रजात्रा मनाइन्छ । शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

Advertisement