काठमाडौं । नेपालका लागि गणतन्त्र जाम्बियाका गैरआवासीय राजदूत पर्सी प्याटसन चन्दले नेपाल समक्ष खानी उत्खनन् कार्यमा सहकार्यको प्रस्ताव राखेका छन् ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँगको भेटवार्तामा गैरआवासीय राजदूत चन्दले खानी उत्खनन् कार्यमा जाम्बियासँग दक्ष प्राविधिक जनशक्ति रहेको जनाउँदै नेपालको खानी उत्खनन्मा सहकार्यको प्रस्ताव राखेका हुन् ।
शुक्रबार बिहान राष्ट्रपति रामचन्द्र पौडेल समक्ष ओहोदाको पत्र पेश गरेका गैरआवासीय राजदूत पर्सी प्याटसन चन्दले नेपाल र जाम्बियाको भू–वनोट समान खालको रहेको बताउँदै खानी उत्खनन्मा जाम्बियाले हासिल गरेको सफलता नेपालका लागि पनि उपयोगी हुने बताएका हुन् । उनले नेपालको खानी तथा खनिजजन्य उत्पादनको उत्खनन्मा प्राविधिक सहयोगसहित आवश्यक सहकार्य गर्न जाम्बिया सरकार तयार रहेको पनि जानकारी गराएका छन् ।
भेटका क्रममा मन्त्री भण्डारीले दुइ देशबीचको ब्यापार प्रवर्द्धनसँगै कृषि, पर्यटन र खानीजन्य उद्योगमा सहकार्य गर्न सकिने बताएका छन् । खानी उद्योगलाई नेपाल सरकारले प्राथमिकतामा राखेको जनाउँदै मन्त्री भण्डारीले खनिज उत्खनन् कार्यमा जाम्बियाले हासिल गरेको उपलब्धि नेपालका लागि उपयोगी बन्ने बताए । उनले जाम्बियासँगको सम्बन्धले अफ्रिकी मुलुकहरुसँग सम्बन्ध विस्तारमा समेत सहयोग पुग्ने जनाउँदै दूबै देशबीच सहयोग आदानप्रदान गर्न सकिने ठाउँहरु रहेको पनि बताए ।
गैरआवासीय राजदूत पर्सी प्याटसन चन्दका अनुसार जाम्बियामा वार्षिक ६० हजार करोड बराबरको खानी उत्खनन् हुने गरेको छ । यसको अनुभवका आधारमा नेपाललाई सहयोग गर्न जाम्बिया सरकार तयार रहेको बताए ।
भेटमा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले नेपालमा पहिचान भएका विभिन्न खनिजजन्य उत्पादनहरुको बारेमा गैरआवासीय राजदूत चन्दलाई जानकारी गराएका थिए ।
नेपाल र जाम्बियाबीच १० सेप्टेम्बर १९८६ मा कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । यसअघि नेपाल र जाम्बियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको साढे ३ दशक पूरा भएको अवसरमा दुई देशबीच द्विपक्षीय व्यापार र आपसी हित प्रवद्र्धनको उदेश्यसहित १५ मे २०२२ मा विश्वको सर्वोच्च शिखर सगरमाथामा जाम्बियाको झण्डा फहराइएको थियो ।