‘संस्था सञ्चित नोक्सानीमा हुँदा पनि अध्यक्ष केबी उप्रेती सदस्यलाई बोनस बाँड्थे’

Advertisement

काठमाडौं । समस्याग्रस्त सहकारी ‘आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’ का अध्यक्ष कृष्णबहादुर (केबी) उप्रेतीको एक निर्णय र गलत गतिविधिकै कारण संस्था समस्यामा गएको छानविन समितिले आरोप लगाएको छ ।

सूर्य थापा नेतृत्वको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले राष्ट्रिय सहकारी बैंकका अध्यक्ष समेत रहेका उप्रेतीले संस्था सञ्चित नोक्सानीमा हुँदा पनि शेयर सदस्यलाई बोनस दिने, गैरबैंकिङ सम्पत्ति संस्थाको नाममा नल्याई सञ्चालक र व्यवस्थापकको नाममा पास गर्ने, संस्थाका सञ्चालककले नै ऋण नतिर्ने जस्ता गतिविधि गर्दा संस्था समस्याग्रस्त बन्न पुगेको निष्कर्ष निकालेको हो ।

Advertisement

यति मात्र नभएर अध्यक्ष उप्रेतीले आफैं अध्यक्ष रहेको सहकारी बैङ्कबाट संस्थामा ऋण दिलाउन समेत भूमिका खेले छानविन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। 

उप्रेती नेतृत्वको सहकारी संस्थाले नियम विपरित जग्गामा लगानी गरेको, सीमित सदस्यले अधिकांश ऋण लिने र नतिर्ने जस्ता कारण संस्था संकटमा पुगेको देखिएको समितिले जनाएको छ ।

२०८० असारमा हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था, आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था, तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्था, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था र घेदुङ बहुउद्देश्यीय सहकारी एकीकरण भएर आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी बनेको हो।

संस्था मर्जर पश्चात संस्थाको अध्यक्ष केबी उप्रेती आफै बनेका छन् । एकीकरणअगाडि उनी हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थामा अध्यक्ष थिए ।

एकीकरणपछिको आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीको उपाध्यक्षमा मनोजकुमार थापा मगर, सचिव कोयाङ दोर्जे लामा, कोषाध्यक्ष प्रकाशमान शाही, सदस्यहरूमा गोपीनाथ घिमिरे, मोहित लामा र श्रवण कुमार छन् । कोयाङ दोर्जे लामा तत्कालीन आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष थिए।

Advertisement

Advertisement