यी हुन् कम समय र खर्चमा घुम्न सकिने उपयुक्त गन्तव्यहरु

दशैंमा घुम्न कहाँ जाने ?

Advertisement

काठमाडौं । दशैं अब खानपिन र टीकाटालोमा मात्र सीमित रहेन । दशैंमा लामो समय विदा हुने र मौसम समेत अनुकुल हुने हुँदा आजभोलि मान्छेहरु दशैंलाई घुमघाम गर्ने उपयुक्त अवसरको रुपमा लिन थालेका छन् । आफु नजिकका पर्यटकीय क्षेत्रको अलवा आजभोलि नेपालीहरु टाढाटाढाको गन्तव्य समेत तय गरिरहेका छन् । 

तर, आज हामी तपाईहरुलाई छोटो समय र सानो (थोरै) बजेटमा नै घुम्न सकिने केहीँ उपयुक्त पर्यटकीय गन्तव्यहरुको बारेमा जानकारी दिन गइरहेका छौं । यदी तपाईहरु पनि दशैंको विदालाई सदुपयोग गर्दै काठमाडौं उपत्यका वरपरका नजिकका गन्तव्यहरुको खोजिमा हुनुहुन्छ भने यी गन्तव्य उपयुक्त विकल्प हुन सक्छन्ः 

Advertisement

undefined

धुलिखेल

राजधानीदेखि करिब ३० किलो मिटर दुरिमा आकर्षक पर्यटकीय नगरी धुलिखेल रहेको छ। अधिकांश भाग पहाडी भूभागले ढाकेको यो नगरीमा पछिल्लो समय पर्यटन गतिविधिको राम्रो विकास भएको छ ।  हिमश्रीङ्खलाको ताजा अवलोकन तथा प्राकृतिक सुन्दरतासँगै धुलिखेलमा पछिल्लो समय मानव निर्मित दर्जनौं पर्यटकीय संरचनाहरु समेत बनाइएका छन् । 

यस नगरमा ५३ वटा पार्क निर्माण गरिएको छ । धार्मिक, प्राज्ञिक क्षेत्रको रुपमा स्थापित धुलिखेलले मूलत पछिल्लो समय खास पर्यटकीय गन्तव्यकै रुपमा विकास भएको छ । बाहृय पर्यटकको विशेष रोजाइमा पर्ने यो क्षेत्रमा छोटो समयको छुट्टी मनाउन राजधानीको नजिकको गन्तव्यको रुपमा लिन थालिएको छ ।  यहाँ पछिल्लो समय दर्जनौं पर्यटन स्तरिय होटलसँगै तारे होटलहरु खुलेका छन् । 

हरिसिद्धि यात्रा, मकरमेला, बिस्केटजात्रा, नवदुर्गा जात्रा र भगवती जात्रा धुलिखेलको सांस्कृतिक विशेषता हो । ऐतिहासिक र सांस्कृतिक पक्षले अझ बढी यो क्षेत्रले पर्यटकलाई आकर्षित गराइरहेको छ । यस्तो पर्यटकीय नगरिमा तपाईले छोटो समयमा कम खर्चमा नै दशैं विदाको राम्रो सदुपयोग गर्न सक्नुहुन्छ । 

undefined

हेलम्बु

काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा पर्ने सिन्धुपाल्चोकको हेलम्बु करिब ७२ किलोमिटरको दुरीमा छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण हेलम्बु पर्यटकीय क्षेत्रको रुपमा परिचित छ । 

बाह्य पर्यटकहरु हेलम्बुबाट देखिने हिमालको दृश्य, ह्योल्मो, शेर्पा, तामाङ, क्षेत्री, बाहुन, दलित समुदाय लगायतका जातिको बसोबास, रहनसहन र रितिरिवाजले पनि आकर्षित गराएको छ। 

हेलम्बु क्षेत्र धार्मिक पर्यटकीय स्थल पनि हो । हेलम्बुले आफ्नो भव्य र शान्त वातावरणका लागि विश्वव्यापी रूपमा ख्याति समेत कमाएको छ । विदेशी तथा आन्तरिक पर्यटकहरुको लागि हेलम्बु काठमाडौंबाट नजिकको गन्तव्य रहेकोछ । प्रशस्त र आकर्षक भूभागमा असंख्य गुम्बाहरू निर्माण गरिएका छन् जसले हेलम्बुको आकर्षण अझ बढाएको छ । 

सुन्दरीजलबाट पदयात्रा गर्दै पनि हेलम्बुको पुग्न सकिन्छ । सुन्दर र शान्त रमणीय जुगल हिमालको सन्मुखनै रहेको हेलम्बु याङरी डाँडाको काखमा रहेको छ । आमा याङरी, मेलम्चीघ्याङ, तार्केघ्याङ, सेर्माथाङ, ककनी, कुटुमसाङ, घोप्टेघ्याङ जस्ता महत्वपूर्ण ऐतिहासिक स्थलहरु यस ठाउँमा रहेका छन् । थप प्राचिन धार्मिक गुम्बा, माने, घ्याङ, मन्दिर यस क्षेत्रको मुख्य आकर्षणहरु हुन् । 

उसो त हेलम्बुलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले स्थानीय पालिकाले पछिल्लो समय हेलम्बुको चारै किल्लामा ग्रेटवालकै झल्को दिने गरी ग्रेटटेलको समेत निर्माण गरिरहेको छ । यसको पूर्ण निर्माण पश्चात हेलम्बुको आकर्षण थप बढ्नेमा दुईमत छैन ।

हेलम्बुको धार्मिक तथा ऐतिहासिक विशेषतासँगै अतिथी संस्कारले जो कोहीलाई मोहित पार्छ ।  

undefined

ककनी 

काठमाडौं नजिकैको अर्को महत्वपूर्ण र सुन्दर पर्यटकीय क्षेत्र नुकोटको ककनी पनि हो । प्राकृतिक सौदर्यले भरिपूर्ण यो क्षेत्र काठमाडौंबाट केबल २७ किलोमिटरको मात्र दुरिमा छ। नुवाकोट जिल्लामा पर्ने ककनी क्षेत्र प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक, पुरातात्त्विक एवं पर्यटकीय दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिन्छ । 

यहाँ मल्लकालीन पुरातात्विक दरबार (बसन्ती दरबार), अबिरल बगिरहने फुङ्गस्फुङ्घे झरना, ककनी हाइटबाट देखिने उच्च हिम श्रीङ्खलाहरुको दृश्यहरुले जो कोहीँ पर्यटकको मन लोभ्याउ छ । 

यसैगरी पछिल्लो समय यस क्षेत्रमा विकास भएको कृषि पर्यटनले थप रौनकता थपेको छ । खासगरी यस क्षेत्रमा रेम्बो ट्राउट माछा, किबि र स्ट्रबेरिको राम्रो उत्पादन हुन्छ। यी उत्पादनहरुले ककनीको कृषि पर्यटनको सम्भावना अझ बढाएको छ । 

undefined

जिरी 

नेपालको स्वीजरल्याण्ड अर्थात् ‘जिरी’, वाई बस करिब ७ घण्टामा पुग्न सकिन्छ । काठमाडौंबाट करिब दुई सय किलोमिटर टाढा रहेको यो क्षेत्र साच्चै प्राकृति सुन्दरताले भरिपूर्ण र रमणीय छ । 

दोलखा जिल्लामा रहेको जिरी नेपालको ज्युरिचको रुपमा चिनिन्छ । स्वीजरल्याण्डको ज्युरिचसँग तुलनागरी जिरीलाई नेपालको स्वीजरल्याण्ड भनिएको हो । जिरी एक पर्यटकीय र व्यापारिक केन्द्रको रुपमा समेत स्थापित छ । 

चारैतिर हरियाली, सुन्दर झरना तथा ग्रामीण परिवेशले सजिएको पर्यटकीय नगरी जिरी स्थलमार्ग अर्थात् सडक सञ्चालबाट मात्र राजधानीसँग जोडिएको छ । त्यसो त जिरीमा नै एयरपोर्ट रहेपनि अहिले यो सञ्चालनमा छैन ।

जिरीलाई सगरमाथाको प्रवेशद्वार पनि भन्ने गरिन्छ । सगरमाथा आरोही तेन्जिङ्ग नोर्गे र एडमण्ड हिलारीले जिरी हुँदै सगरमाथाको सफल आरोहण गरेका थिए । उनीहरुले सगरमाथाको आरोहण गरेपश्चात हजारौं आरोहीहरुले पनि यहि मार्ग हुँदै सगरमाथाको चुचुरो चुमि सकेका छन् । 

पाँचपोखरी तथा जटापोखरी, च्योर्दोङ्ग तथा क्याङसे पोखरी, हनुमन्ते, गुराँसपार्क, बुद्धपार्क, स्टोनपार्क, लौती झरणा तथा ट्राउट फार्म, राम्बोले कालिदेवी, जिरेश्वर महादेव, चिज उत्पादन केन्द्र, तेन्जिङ हिलारी पार्क लगायत जिरीको प्रमुख आकर्षण हुन् । 

undefined

चिसापानी

चिसापानी काठमाडौं नजिकैको आकर्षक पथमार्ग (ट्रेकिङ) गन्तव्य हो । २१६० मिटरको उचाईमा रहेको यस ट्रेलमा ५ देखि ६ घण्टामा नै ट्रेकिङ पुरा गर्न सकिन्छ । 

काठमाडौंबाट सुन्दरीजलसम्म करिब ४५ मिनेटको दूरीमा र मुलखर्क भन्ने सुन्दर गाउँ हुँदै पदयात्रा गरी चिसापानी पुग्न सकिन्छ । चिसापानी काठमाडौं उपत्यकाको सबैभन्दा नजिकको र उत्कृष्ट पदयात्रा हो । 

यस पथमार्गबाट अन्नपूर्ण, सगरमाथा, मनास्लु, गणेश लगायतका हिमाल आँखै अगाडि देख्न सकिन्छ ।  लाङ्टाङ पर्वतश्रृङ्खलालाई अझ नजिकबाट नियाल्न सकिन्छ। यस क्षेत्र सूर्योदय र सूर्यास्त हेर्नको लागि पनि यो प्रसिद्ध छ ।

उसो त चिसापानी लाङटाङ–गोसाइकुण्ड पदयात्रा र नगरकोटको प्रवेशद्वारको रुपमा पनि प्रसिद्ध छ । साथै चिसापानी लाङटाङ र गणेश हिमाल श्रृङ्खलाहरू सहित हिमालयको सुन्दर पदयात्रा र मनोरम दृश्यहरूका लागि प्रसिद्ध छ । काठमाडौं नजिकको छोटो र रमणीय पदयात्रा खोज्ने प्रकृति प्रेमी र पदयात्रीहरूका लागि यो उत्कृष्ट ठाउँ हो ।

undefined

गोरखा

गोरखा अर्को ऐतिहासिक धार्मीक एवंम् सांस्कृतिक ठाउँ हो । नेपाल एकीकरणको महान अभियान चलाएका शाह वंशीय राजा, पृथ्वीनारायण शाहको जन्म थलो समेत रहेको गोरखामा ऐहासिक दरबार छ ।

काठमाडौंबाट करिब ४ घण्टामा पुग्न सकिने गोरखामा अरु सांस्कृतिक सम्पदाहरु मठमन्दिरसँगै प्राचिन गुफा तथा देवलहरु छन् ।

गोरखामा रहेको विश्वको आठौं अग्लो हिमाल मनास्लु सहित ७००० मिटरभन्दा अग्ला १४ हिमाल चुचुराहरू त्यही छन् । 
मनास्लु हिमालको आरोहण, मनास्लु संरक्षण क्षेत्र, मनकामना मन्दिर, पद्मसम्भवको बेयुल किमोलुङ, मिलारेपाका गुफा, प्राचीन गुफा गोरखनाथ गुफा र सिद्धि गुफा पनि धेरै लोकप्रिय गन्तव्यहरु हुन् । 

मनास्लु सर्किट ट्रेकिङका लागि निकै लोकप्रिय रहेको छ ।

undefined

 कुलेखानी

काठमाडौं नजिकैको घुम्न लायक अर्को उपयुक्त ठाउँ कुलेखानी–फर्पिङ हो । इन्द्रसरोवर तालले चिनिने कुलेखानी मकवानपुर जिल्लामा पर्छ । जहाँ वृहत जलविद्युत बाँध रहेको छ । यहाँ काठमाडौंबाट साढे दुई घण्टामा पुग्न सकिन्छ ।  
मानव निर्मित भएपनि प्राकृतिक झैं लाग्ने विशाल बाधको मनोरम दृश्यसँगै डुंगामा सयर गर्ने र माछा मार्ने गतिविधि यहाँको विशेषता हो । 

कुलेखानी जलाशय, कुलेखानी बाँध, चित्लाङ अर्गानिक गाउँ, इन्द्रसरोवर ताल, भालेश्वर महादेव मन्दिर, कुलेखानी बोटानिकल गार्डेन, मार्कु गाउँ, विशंखु नारायण मन्दिर, सिस्नेरी महादेव मन्दिर, चपाखर्क सूर्यविनायक मन्दिरहरु लगायतका प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरुले यो क्षेत्रमा पर्यटक तानिरहेको छ । तपाईहरु पनि छोटो समयको बसाइकालाई यो ठाउँ जान सक्नुहुनेछ । 

undefined

चितवन

नेपालको पाँचौं ठूलो सहर चितवन अर्को पर्यटकीय हब हो । सौराह र चितवन राष्ट्रिय निकुञ्ज यहाँको खास पर्यटकीय खुराक हुन् । राष्ट्रिय निकुञ्जमा जंगल सफारी निकै लोकप्रिय छ । नारायणी र रापती नदीमा डुंगा सयर अर्को रोमान्चक गतिविधि हो । 

जंगल, हात्ती र जीप सफारी, जंगल पैथ यात्रा, क्यानोइङ, हात्ती नुहाउने, हात्ती प्रजनन केन्द्रको भ्रमण, थारु गाउँ तथा सांस्कृतिक संग्रहालयको अवलोकन, सांस्कृतिक नृत्य, चेपाङ र कुमाल वस्ती, पहाडी पथयात्रा, चरा अवलोकन, सूर्यास्तको दृश्य निकै लोकप्रिय छ । 

रापती नदी किनारामा बसेर लञ्च तथा डिनर गर्नु अर्को मजाको विषय हो । यस्तो विशेष पर्यटकीय गन्तव्यमा काठमाडौं बाट जम्मा ५ घण्टा ५६ मिनेटमा नै पुग्न सकिन्छ । 

undefined

पोखरा

घुमघामका लागि पोखरा निर्विकल्प जस्तै हो । त्यसो त पर्यटकीय नगरी पोखरा नेपालको पर्यटन राजधानी नै हो । जहाँ काठमाडौंबाट ६ घण्टा ५९ मिनेटमा नै पुग्न सकिन्छ । खासगरी फेवाताल र ताल बाराहीले चिनिने पोखरामा एकै ठाउँमा दर्जनौं पर्यटकीय गन्तव्यहरु छन् ।

रुपा र बेगनास ताल, बाराही मन्दिर, डेभिस फल र गुप्तेश्वर गुफा, महेन्द्र गुफा, बिन्धवासिनी मन्दिर, सराङकोट हिलस्टेशन (सूर्योदय, सूर्यास्त र हिमालको दृश्य), पुम्दीकोटको शिव मुर्ति, शान्ति स्तूप (छोटो पदयात्रा, सूर्योदय, ध्यान, योग, र सूर्यास्त स्थल), प्याराग्लाइडिङ र अल्ट्रालाइट, जिप फ्लायर, बन्जी जम्पिङ र अन्नपूर्ण केबलकार जस्ता गतिविधिहरु पोखरामा गर्न सकिन्छ ।

पोखरालाई अन्नपूर्ण सर्किटको प्रवेशद्वारको रूपमा पनि चिनिन्छ । पोखरामा अन्तर्राष्ट्रिय पर्वत संग्रहालयमा पर्वतारोहणको इतिहास र हिमालयका मानिसहरूको प्रदर्शनी पनि रहेको छ । पोखराबाट नजिकै अन्नपूर्ण र माछापुच्छ्रे हिम श्रृङ्खलाको मनोरम दृश्यका देख्न सकिन्छ । 

undefined

लाङटाङ

काठमाडौंबाट नजिकैको अर्को पर्यटकीय गन्तव्य हो लाङटाङ । खासगरी ट्रेकिङका लागि प्रख्यात यस हिमाली क्षेत्रमा राष्ट्रिय निकुञ्ज समेत रहेको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज रेड पाण्डाका लागि प्रख्यात छ ।

काठमाडौंबाट करिब ६२ किलोमिटरको दुरिमा रहेको यो गन्तव्य पथयात्रा गर्न रुचाउनेहरुका लागि उपयुक्त विकल्प हो । 

लाङटाङ र गोसाइकुण्ड ट्रेकिङ प्रमुख दुई विकल्प यहाँ पाउन सकिन्छ । काठमाडौंबाट लाङटाङ भ्रमण गर्न पनि दुईवटा विकल्पहरू नै छन् । रसुवाको स्याब्रुबेसीबाट र काठमाडौंको सुन्दरीजलबाट यो ट्रेकिङ क्षेत्रको यात्रा तय गर्न सकिन्छ । तर दुबै पथ यात्रामा हिउँले ढाकिएको मनमोहक हिमाल चुचुराहरू देख्न सकिन्छ । बाटोभरी फुलेका विभिन्न हिमाली फूलहरु, चौरी, याक यहाँ पाउन सकिन्छ । 

Advertisement

Advertisement