मारवाडी सेवा समितिले ८४ बर्षदेखि सञ्चालन गर्दै आएको पशुपति धर्मशाला खाली गराउने प्रयास

Advertisement

काठमाडौं । मारवाही सेवा समितिले ८४ बर्षदेखि सञ्चालन गर्दै आएको पशुपतिको गौशाला धर्मशाला खाली गराउने प्रयास गरिएको छ । 

धर्मशाला खाली गराउन भन्दै काठमाडौं महानगरपालिकाले नगर टोली पठाएपछि मारवाही सेवा समितिले आपत्ति जनाएको छ । समितिका पदाधिकारी तथा सदस्यहरुले समिति अन्तर्गतको पशुपति धर्मशाला बहालमा नभई मोही भएको बताउँदै विगत ८४ बर्षदेखि आफूहरुले निर्माण र सञ्चालन गर्दै आएको धर्मशाला खाली गराउने प्रयास गैरकानुनी भएको बताएका छन् । 
 
तर यता वडा नम्बर ८ का वडाध्यक्ष आशमान संगत र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको टोली धर्मशाला पुगेर खाली गराउने प्रयासा लागेको छ । महानगर प्रहरीका प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार धर्मशाला खाली गर्न मंगलबार नै माइकिङ भएकोले आज खाली गराउन खोजिएको हो । 

Advertisement

महानगरको टोली पुगेपछि मारवाडी सेवा समितिका सदस्यहरुले विरोध प्रदर्शन गरेका थिए । महानगर र पशुपति क्षेत्र विकास कोषबीच गौशाला धर्मशाला सञ्चालन गर्न मंगलबार साँझ मात्र सम्झौता भएको बताइएको छ । उक्त सम्झौतालाई समितिले अवैध भएको बताएको छ । गत असोज २० मा पशुपति क्षेत्र विकास कोष सञ्चालन परिषद्को बैठकले गौशाला व्यवस्थापन गर्न महानगरलाई प्रस्ताव गरेको थियो ।

मंगलबार बिहान नगर कार्यपालिकाले कोषको प्रस्ताव स्वीकार गर्दै सम्झौता गर्न अनुमति दियो । साँझ नै महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले गौशाला सञ्चालनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए ।

सम्झौताअनुसार कोषको स्वामित्वमा रहेको धर्मशालाको घरजग्गामा महानगरले गौशाला, धर्मशाला तथा सामाजिक धार्मिक कार्य तथा सेवाका लागि आवश्यक पूर्वाधारको विकास गरी सञ्चालन तथा व्यवस्थापन गर्नेछ ।

गैरनाफामूलक सेवाअन्तर्गत गौशाला सञ्चालन, श्रद्धालु भक्तजनलाई निःशुल्क भोजन, अन्न दान स्वीकार गर्ने तथा आवास, निःशुल्क शौचालयसहितको सेवा सञ्चालन गरिने छन् । यसका लागि पशुपति रहेको वडामा व्यवस्थापन समिति गठन गरिएको छ । 

समितिमा महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागका प्रमुख, कोषले तोकेको प्रतिनिधि २ जना र महानगरका प्रमुखले तोकेका १ जना प्रतिनिधि सदस्य रहन्छन् ।

मारवाडी सेवा समितिले ८४ वर्षदेखि गौशालाको यो धर्मशाला उपभोग गर्दै आएको बताएको छ । २०६० सालमा तत्कालीन पशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) २०६० सालमा ९ रोपनी जग्गा वार्षिक ५१ हजार रुपियाँ लिने गरी धार्मिक प्रयोजनका लागि सेवा समितिलाई उपलब्ध गराएको थियो ।

मारवाडी सेवा समितिले उक्त जग्गामा मोहियानी हक भएको बताउँदै आफूहरुले सम्झौता नवीकरण गर्न नमानेको भन्ने आरोपमा सत्यता नरहेको बताएको छ । २०६० जेठ १२ मा भएको सम्झौता कोषले २०८० साउन १७ मा एकतर्फी निर्णय गरी भंग गरेको समितिका अध्यक्ष प्रमोदकुमार अग्रवाल चौधरीले बताए । 

उनका अनुसार पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले १७ साउन २०८० मा मारवाडी सेवा समितिसँग भएको नौबुँदे सम्झौता एकपक्षीयरुपमा खारेज गर्ने निर्णय गर्यो । मारवाडी सेवा समिति त्यसविरुद्ध अदालत गयो, तर जिल्ला अदालतले दाबी नपुग्ने ठहर गरेपछि महानगर धर्मशाला खाली गर्न अग्रसर भएको हो । 

तर समितिले अदालतको निर्णयविरुद्ध पुनरावेदनमा जाने ठाउँ रहेको, अहिले दशैं विदा भएकाले यो समयमा धर्मशाला खाली गराउन नमिल्ने तर्क गरेको छ। तर मारवाडी सेवा समितिका अधिकारीहरुले मुद्दाको अन्तिम किनारा नलगेको भन्दै विरोध गरेका हुन् ।

समितिका उपाध्यक्ष नारायण बजाजले स्थापना कालदेखि सामाजिक कार्य गर्दै आएको धर्मशाला जबरजस्तीरुपमा खोस्ने प्रयास भएको भन्दै यो अन्यायपूर्ण र अव्यवहारिक रहेको बताए । undefined

Advertisement

Advertisement