भुटानद्वारा भारतीय कम्पनी रिलायन्ससँग नवीकरणीय ऊर्जा सम्झौतामा हस्ताक्षर

Advertisement

थिम्पु । ऊर्जा निर्यात गर्ने शक्तिशाली मुलुक बन्ने लक्ष्य राखेको भुटानले भारतको रिलायन्स समूहसँग आफ्नो मुलुकमा एक हजार दुई सय ७० मेगावाटको नवीकरणीय विद्युत् परियोजनाहरू निर्माण गर्न सम्झौतामा हस्ताक्षर गरेको छ ।

आठ लाखभन्दा कम जनसङ्ख्या भएको सानो र भूपरिवेष्ठित मुलुक भुटान चीन र भारतको बीचमा छ र विकासभन्दा ‘कुल राष्ट्रिय खुशी’ लाई प्राथमिकता दिने नीतिका लागि परिचित छ ।

Advertisement

यद्यपि उक्त नीतिले सरकारलाई व्यापक बेरोजगारीको समस्या समाधान गर्न सहयोग प्रदान गरेको छैन र यसले हजारौँ युवालाई मुलुक छाड्न प्रेरित गरेको छ ।

विद्युत् परियोजना यो प्रवृत्तिलाई उल्ट्याउने व्यापक प्रयासको एउटा हिस्सा हो । यसमा आर्थिक वृद्धि गर्न विदेशी लगानी आकर्षित गर्ने प्रयास समावेश छ । योमध्ये धेरै चर्चित विशेष आर्थिक क्षेत्र ‘गेलेफु माइन्डफुल सिटी’ पनि समावेश छ ।

‘भुटान ऊर्जा स्रोतमा धनी छ र भारतको मागले यो साझेदारीलाई अझ महत्त्वपूर्ण बनाउँछ,’ भुटानको सरकारी स्वामित्वको ड्रुक होल्डिङ एन्ड इन्भेस्टमेन्ट (डिएचआई) का प्रमुख कार्यकारी उज्ज्वलदीप दाहालले एक वक्तव्यमा भने ।

यो परियोजनाले भारतीय अर्बपति अनिल अम्बानीको नेतृत्वमा रहेको रिलायन्स समूहलाई डिएचआईसँग मिलेर भुटानमा सात सय ७० मेगावाट जलविद्युत् र पाँच सय मेगावाट सौर्य परियोजनाहरू निर्माण गर्न प्रतिबद्ध गरेको छ ।

साकार भएमा यी परियोजनाहरू भुटानको हालको दुई हजार चार सय ४४ मेगावाट जडित क्षमताको आधाभन्दा केही बढी हुनेछ । भुटानको हालको दुई हजार चार सय ४४ मेगावाटको ९९ प्रतिशतभन्दा बढी जलविद्युत हो ।

सम्झौतामा लगानीको लागत तथा चम्खार्चु–१ नामक जलविद्युत् परियोजना कहिले सम्पन्न हुनेछ भन्ने कुरा खुलाइएको छैन । सम्झौताले आगामी दुई वर्षभित्र सौर्य प्लान्ट सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ ।

संयुक्त विद्युत् उत्पादनको केही भाग भुटानको मुख्य कूटनीतिक र व्यापारिक साझेदार भारतमा निर्यात गरिनेछ ।

‘हामी हरियाली भविष्यमा योगदान पुर्याउँदै भुटानमा सबैभन्दा ठूलो भारतीय खेलाडी बन्ने आशा गर्छौं,’ अनिल अम्बानीले वक्तव्यमार्फत भने, ‘यो साझेदारीमा भुटानलाई भारतका एक अर्ब ४० करोड जनतामा आफ्नो खुशी निर्यात गर्न पनि आह्वान गर्दछु ।’

परियोजनाको निर्माण कहिले सुरु हुनेछ र यसको कूल अनुमानित बजेट कति हुनेछ भन्नेबारे कुनै आधिकारिक पुष्टि भएको छैन ।

Advertisement

Advertisement