अमेरिका र भारतले महत्त्वपूर्ण खनिजहरूमा सहकार्य गर्ने

Advertisement

वासिङ्टन । संयुक्त राज्य अमेरिका र भारतले स्वच्छ ऊर्जा प्रविधिहरूका लागि महत्त्वपूर्ण खनिजहरूको आपूर्तिको शृङ्खलामा सँगै काम गर्ने अमेरिकी वाणिज्य मन्त्रालयले बिहीबार बताएको छ । 

अमेरिकी वाणिज्यमन्त्री जिना रायमन्डो र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयुष गोयलले बिहीबार अमेरिकी राजधानी वासिङ्टनमा भेट गरी महत्त्वपूर्ण खनिजहरूको आपूर्ति लाइनहरूलाई ‘विस्तार र विविधीकरण’ गर्न सम्झौतामा हस्ताक्षर गरे । 

Advertisement

समझदारीपत्रको उद्देश्य महत्त्वपूर्ण खनिज क्षेत्रमा लचिलोपन बढाउनु रहेको अमेरिकी वाणिज्य मन्त्रालयले वक्तव्यमा बताएको छ । 

दुवै पक्षले ‘अमेरिका र भारतका महत्त्वपूर्ण खनिजको खोज, निष्कर्षण, प्रशोधन र शुद्धीकरण, पुनःचक्रण र पुनःप्राप्ति’ को व्यावसायिक विकासलाई सहज बनाउने तरिकाहरू पहिचान गर्ने वक्तव्यमा उल्लेख छ । 

विद्युतीय कारहरूको बेट्री जस्ता स्वच्छ ऊर्जा प्रविधिहरूमा प्रयोगलाई ध्यानमा राख्दै दुर्लभ पृथ्वी तत्व र खनिजहरू तीव्र रूपमा महत्त्वपूर्ण हुँदै गएका छन् । यद्यपि विद्युतीय सवारी (इभी) का लागि अनुमानित माग पूरा गर्दा अमेरिकाले आपूर्तिमा अभावको सामना गर्नुपर्नेछ ।

चीन महत्त्वपूर्ण खनिजहरूको आपूर्ति शृङ्खलामा प्रमुख खेलाडी हो । 

अमेरिका र भारतले बिहीबार सेमीकन्डक्टरहरूको क्षेत्रमा पनि सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । 

भारतीय मन्त्री गोयलले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भन्नुभयो, “हामी भारत–अमेरिका व्यापार र वाणिज्यिक साझेदारीका लागि विशाल अवसरहरूको फाइदा उठाउँदै नयाँ क्षेत्रहरूमा सहयोग विस्तार गर्न र विद्यमान क्षेत्रहरूलाई सुदृढ गर्न जारी राख्नेछौँ ।”

चीनको प्रभुत्वको सामना गर्दै आपूर्ति शृङ्खलाहरूलाई सुदृढ गर्न गत वर्ष अमेरिका र जापानले महत्त्वपूर्ण खनिजहरूको व्यापारमा सम्झौता गरेका थिए । अमेरिका–जापान सम्झौतामा द्विपक्षीय रूपमा ढुवानी गरिएका महत्त्वपूर्ण खनिजहरूमा निर्यात शुल्क नलगाउने प्रतिबद्धताहरू समावेश थिए । रासस–एएफपी 

Advertisement

Advertisement