तेन्जिङ नोर्गेको विरासत जोगाउने कीर्तिमानी कान्छा आरोहीको अठोट

Advertisement

काठमाडौं । सबैभन्दा कम उमेरमा विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान बनाउने १८ वर्षीय निमा रिन्जी शेर्पाले पर्यटन क्षेत्रमा नै अब सक्रिय रहने बताएका छन् । 

विश्वकै अग्लो हिमाल सगरमाथा पहिलो पटक चढ्ने नेपाली तेन्जिङ नोर्गेको विरासतलाई कायम राख्ने इच्छा प्रकट गर्दै उनले भने, ‘नेपालको पर्वतारोहण क्षेत्रमा नै राम्रो गरौ भन्ने मेरो लक्ष्य छ । पर्यटन क्षेत्रमा र आर्थित्यता क्षेत्रमा नै सक्रिय रहने छु । तेन्जिङ नोर्गेको पालादेखिको अहिलेसम्म जुन एउटा विरासत छ शेर्पाहरुको, त्यसलाई जारी राख्नुपर्छ भनेर मैले पनि आफ्नो सतप्रतिशत प्रयास गरेको छु । जहिले पनि गर्नेछु ।’ 

Advertisement

यही गएको असोज २३ मा स्थानीय समयअनुसार बिहान ६ः०५ मा तिब्बतमा रहेको शिशापाङ हिमालको आरोहण गरी विश्वकै कान्छो आरोही बन्न सफल भएका निमाले क्लाइमिङ गाइड (पर्वतारोहण पथप्रदर्शक) पासाङ नुर्बु शेर्पासँग उक्त हिमालको सफल आरोहण गरेका थिए । सोह्र वर्षको उमेरमा नै आठ हजार मिटर अग्लो हिमाल मनास्लुको आरोहण गरी पर्वतारोहण क्षेत्रमा उनले आफ्नो यात्रा सुरु गरेका थिए । 

निमासहित सात जना पर्वतारोहीले विश्वको १४औं अग्लो शिशापाङको सफल आरोहण गरी राजधानी काठमाडौं फर्किएका छन् । पर्वतारोहण नेपालको आकर्षणको विषय हो भन्दै उनले भने, ‘जस्तै छिमेकी भारतकै कुरा गर्दा त्यहाँ क्रिकेट भन्ने बित्तिकै एक्दमै सनक हुन्छ । क्रिकेटरहरूलाई भगवान जस्तै मान्छ । त्यो खालको अवसर नेपालमा छ, पर्वतारोहण क्षेत्रमा । नेपालमा धेरै हिमालहरु छ । पर्वतारोहण मात्र नभएर प्याराग्लाइडिङ, स्किइङ लगायतका खेलहरु प्रवर्द्धन गर्न सके यसले नेपालको पर्यटन क्षेत्रमा धेरै राम्रो गर्न सक्छ ।’  

‘फोर्टिन पिक्स’को सफल आरोहण गर्न आफूलाई मिङ तेम्बा शेर्पा र पासाङ नुर्बु शेर्पाले धेरै दुःख गरेको सुनाउँदै निमाले दुःख गर्ने अरुलाई पनि धन्यवाद दिन्छु भने । कीर्तिमान बनाएर नेपाल आउँदा गरिएको विशेष स्वागतबाट खुशी लागेको र उर्जा मिलेको उनले बताए । 

निमाले तीन बर्षअघि कक्षा १० को पढाइ सकेर ए लेभल सुरु गर्नासाथै हिमाल आरोहण सुरु गरेको सुनाए । यस क्षेत्रमा लाग्न परिवारले भने आफूलाई दबाब नदिएको उनले बताए । बरु पढ्नु विदेश जाउ भनेर सुझाव दिए पनि आफूलाई भने पर्वतारोण क्षेत्रमा नै लाग्ने रहर रहेकाले आरोहण सुरु गरेको बताउँदै निमाले आरोहणका क्रममा गाह्रो भए पनि कान्छो आरोही बनेर कीर्तिमान बनाउने अठोटसहित ‘फोर्टिन पिक्स’को प्रोजेक्ट सुरु गरेको बताए । यस क्रममा परिवारले राम्रो साथ दिएको उनको भनाई छ । 


आपूmलाई हरेक पटक आपूmले लिएर हिडेको प्रोजेक्टमा जानदाखेरी आफनो परिवार, आमा, बुबा, भाइबहिनी, आफन्ताहरु सबैले एक्दमै सहयोग र साथले नै ऊर्जा दिएर आपूmले आपूmलाई धक्का दिन सकेको र सफल पनि भएको बताउछन् । हिमालमा आपूmसँग साहारा भएपनि एकलै महशुस हुन्छ । त्यो बेला त्यो सहयोग र साथले आपूmलाई एक्दम मनबाट नै ऊर्जा मिल्ने शेर्पाले बताए । 

दुई वर्ष १० दिनमा विश्वका आठ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्न सफल निमा सेभेन समिट ट्रेक्स कम्पनीका प्रबन्ध निर्देशक टासी लाक्पा शेर्पाका छोरा हुन् । मनास्लु चढ्दा नै उनी विश्वका सबैभन्दा कान्छो आरोही बन्न सफल भएका थिए । 

यसअघि विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु आरोहण गर्ने सबैभन्दा कान्छो आरोहीको नाम मिङ्मा ग्याबु (डेभिड) शेर्पाको नाममा रहेको थियो । सो रेकर्ड निमाले तोकेका छन् । साथै, उनले विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको सफल आरोहण गर्ने सबैभन्दा कान्छोको कीर्तिमान पनि बनाएका छन् । निमाले बिना अक्सिजन अन्नपूर्ण–१ को आरोहण गर्न सफल भएका थिए । साथै, उनले १७ वर्षको उमेरमा केटु हिमालको आरोहण गरी विश्वमै केटु आरोहण गर्ने सबैभन्दा कान्छो आरोही बनेका थिए । 

निमाले आरोहण गरेका हिमालः
१. मनास्लु (३० सेप्टेम्बर, २०२२)
२. सगरमाथा (२४ मे, २०२३)
३. ल्होत्से (२४ मे, २०२३)
४. नाङ्गा पर्वत (२६ जुन २०२३)
५. गाशेरब्रम (१८ जुलाई २०२३)
६. गाशेरब्रम–२ (१९ जुलाई २०२३)
७. ब्रोडपिक (२३ जुलाई, २०२३)
८. माउन्ट केटु (२७ जुलाई, २०२३)
९. माउन्ट चोयु (६ अक्टोबर, २०२३)
१०. धौलागिरी (२९ सेप्टेम्बर, २०२३)
११. अन्नपूर्ण बिना अक्सिजन (१२ अप्रिल, २०२४)
१२. माकालु (४ मे, २०२४)
१३. कञ्चनजङ्घा (८ जुन, २०२४)
१४. शिशपाङ्मा (९ अक्टोबर, २०२४)
 

Advertisement

Advertisement