डलर सञ्चिति साढे २१ खर्ब नाघेपछि... उपचार गर्न विदेश जानेले अब २० लाख रुपियाँसम्मको सटही सुविधा पाउने

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक आयात भूक्तानी, विविध यात्रा, भ्रमण तथा औषधि उपचारका लागि विदेशी मुद्रा सटहीको सुविधा बढाएको छ । विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको एकीकृत परिपत्र–२०८० मा संशोधन/परिमार्जन/थप गर्दै केन्द्रीय बैंकले विदेश औषधि उपचार गर्न जानेहरुका लागि १५ हजार अमेरिकी डलरसम्मको सटही सुविधा उपलब्ध गराउने व्यवस्था गरेको हो । 

यसअघि औषधि उपचारका लागि जाने यात्रुका लागि अधिकतम १० हजार अमेरिकी डलर सटही सुविधा रहेको थियो । योसँगै अब विदेश उपचार गर्न जानेले १५ हजार अमेरिकी डलर अर्थात् सजिलै २० लाख रुपियाँसम्म सटही सुविधा पाउने भएका छन् । तर, यसरी सुविधा लिएको रकमको खर्च विवरण उपचारबाट फर्केको १५ दिनभित्र सम्बन्धित बैंक तथा वित्तीय संस्थामा बुझाउनु पर्नेछ । 

Advertisement

यस्तै, केन्द्रीय बैंकले विदेशी लगानी मध्येको केहीँ रकम फिर्ता गर्ने सन्दर्भमा यसअघि ५ हजार अमेरिकी डलरसम्म सटही सुविधा पाउने व्यवस्था रहेकोमा यसलाई समेत दोब्बरले बढाएर १० हजार डलर पुर्‍याइदिएको छ ।

इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपाल सरकारको अनुमति लिई खुलेका नेपालस्थित शिक्षण संस्थाहरुलाई सम्बन्धन, परीक्षा लगायतका शुल्कहरुको भुक्तानीको लागि तोकिएको बमोजिमका कागजात लिई २५ हजार वअमेरिकी डलरसम्म भुक्तानी सटहीको सुविधा प्रदान गर्ने बैंकले जनाएको छ । यसअघि १२ हजार भन्दा बढी भुक्तानी सटही सुविधा दिन नपाउने व्यवस्था रहेको थियो ।

यस्तै, विदेश स्थित कम्पनी वा सप्लार्यस्सँग हवाई स्पेयर पार्टस् तथा अन्य उत्पादिन इक्युमेन्टसँगको आयातका लागि एक लाख अमेरिकी डलरसम्मको सटही सुविधा प्रदान गर्ने केन्द्रीय बैंकले जनाएको छ । यसअघि यस्तो सटही सुविधा १० हजार अमेरिकी डलर बराबर मात्र रहेको थियो । 

मंगलबार मात्र केन्द्रीय बैंकले आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेको थियो । रिपोर्टले विदेशी मुद्राको सञ्चिति २१ खर्ब ५२ अर्ब रुपियामाथि रहेको देखाएपछि केन्द्रीय बैंकले विदेशी मुद्रा सटहीको सुविधा थप खुकुलो बनाएको हो । 
 

Advertisement

Advertisement