खासगरी दशैंतिहार जस्ता मूल्य चाडपर्वको मुखमा उपभोग्य वस्तु खाद्यान्न, नुन तेल लगायतका वस्तुको माग बढ्न गई बजार महँगी बढ्नुपर्ने हो । तर, ठिक उल्टो यसै मौसममा बजार महँगी घटेको राष्ट्र बैंकले तथ्य पेश गरेको छ ।

भारतीय भन्दा नेपाली बजारनै सस्तो : बजार महँगी एकाएक ३.८५ प्रतिशतमा कसरी झर्यो ?

Advertisement

काठमाडौं । गत वर्षको साउनमा नेपालको वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.५२ प्रतिशत रहेको थियो । उक्त मुद्रास्फीति दोस्रो महिना नै थप बढेर ८.१९ प्रतिशत पुग्यो । 

आर्थिक वर्ष २०७९/८० को भदौमा उच्च ८.६४ प्रतिशत पुगेको उपभोक्ता मूल्यमा आधारित मुद्रास्फीति पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा ०.५५ प्रतिशतले घटेको थियो । तर, यस वर्ष अपत्यारिलो तवरबाट झण्डै ५० प्रतिशतले नै यस्तो मुद्रास्फीति घटेर ४ प्रतिशत तल झर्न पुगेको छ ।

Advertisement

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको भदौ मसान्तसम्म उपभोक्ता मूल्यमा आधारित मुद्रास्फीति ३.८५ प्रतिशत कायम भएको हो । 

खासगरी दशैंतिहार जस्ता मूल्य चाडपर्वको मुखमा उपभोग्य वस्तु खाद्यान्न, नुन तेल लगायतका वस्तुको माग बढ्न गई बजार महँगी बढ्नुपर्ने हो । तर, ठिक उल्टो यसै मौसममा बजार महँगी घटेको राष्ट्र बैंकले तथ्य पेश गरेको छ । 

मंगलबार चालु आर्थिक वर्षको दुई महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेको केन्द्रीय बैंकले समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.०३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.१९ प्रतिशत रहेको जनाएको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ९.७७ प्रतिशत र ७.१९ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत दाल तथा गेडागुडी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.८० प्रतिशत, तरकारीको ९.८४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.३४ प्रतिशत र फलफुलको ४.९४ प्रतिशतले बढेको छ भने मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २.६९ प्रतिशतले घटेको छ ।

तथापि, यता गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क भने ८.७१ प्रतिशतले बढ्न पुगेको राष्ट्र बैंकले जनाएको छ । मदिराजन्य पेय पदार्थको मुद्रास्फीति ६.७६ प्रतिशतले, कपडाजन्य तथा जुत्ताचप्पलको ६.०८ प्रतिशतले र घरायसी उपकरणको ४.८८ प्रतिशतले बढेको राष्ट्र बैंकको रिपोर्ट देखाएको छ ।

समीक्षा अवधिमा बीमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्कमा भने कुनै परिवर्तन भएको छैन ।

undefined

प्रदेश अनुसार महँगी

समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४.०४ प्रतिशतले बढेको छ भने सहरी
क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.७८ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।

प्रदेशगत रुपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६६ प्रतिशत, मधेश प्रदेशको ३.८२ प्रतिशत, बागमती प्रदेशको ३.२९ प्रतिशत, गण्डकी प्रदेशको ३.५० प्रतिशत, लुम्बिनी प्रदेशको ३.५३ प्रतिशत, कर्णाली प्रदेशको ३.५६ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ५.९० प्रतिशत रहेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४९ प्रतिशत रहेको छ भने तराईको ४.०९ प्रतिशत, पहाडको ३.६१ प्रतिशत र हिमालको ४.१९ प्रतिशत रहेको छ । २०८० भदौ महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ९.८३ प्रतिशत, ७.०३ प्रतिशत, ८.०९ प्रतिशत र ११.३२ प्रतिशत रहेको थियो ।

अघिल्लो वर्षको भदौमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.७८ प्रतिशत रहेकोमा यो वर्ष घटेर २.७५ प्रतिशतमा झरेको छ । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः १.३९ प्रतिशत, ३.५६ प्रतिशत र २.७७ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति ४.२२ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिको मुद्रास्फीतिलाई हेर्दा नेपालको बजार महँगी छिमेकी मुलुक भारतको भन्दा पनि कम रहेको तथ्यांकले देखाउँछ । यता नेपालको मुद्रास्फीति ३.८५ प्रतिशत रहँदा उता भारतमा सेप्टेम्बर महिनाको मुद्रास्फीति ५.४९ प्रतिशत रहेको छ । वस्तु तथा सेवा निर्यातकर्ता मुलुकको बजार महँगो हुनु र उपभोग बजार अर्थात् आयातकर्ता मुलुकको बजार सस्तो हुनुले आचर्य बनाएको छ । 

Advertisement

Advertisement