धौलागिरि आरोहणका क्रममा ज्यान गुमाएका पाँच आरोहीको शव आधार शिविरमा ल्याइयो

Advertisement

काठमाडौं । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच आरोहीको शव धौलागिरि आधार शिविर ल्याइएको छ । 

मौसमले साथ दिए आजै नै काठमाडौं ल्याइने आइएम ट्रेकिङ एण्ड एक्सपेडिसनका प्रबन्ध निर्देशक फुनुरु शेर्पाले जानकारी दिए । उक्त कम्पनीमार्फत रुसका १४ पुरुष आरोहीहरु धौलागिरि आरोहणका लागि गएका थिए ।

Advertisement

सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच आरोहीहरुको शव उठाउन र ल्याउन प्रतिकुल मौसम र भूगोलका कारण कठिनाई भएको बताइएको छ । तर आज बिहान उनीहरुको शव आधार शिविरमा ल्याएको र मौसमले साथ दिए आजै काठमाडौं पठाउने शेर्पाले बताए । 

आधार शिविरमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरु सात हजार छ सय मिटरको उचाइबाट असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कबिहीन भएका थिए । रुसी नागरिक अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लादिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव असोज २३ गते दिउँसो भेटिएको थियो । 

रुसका १४ पुरुष आरोहीमध्ये नौ आरोहीले बिचमै आरोहण रद्द गरेर फर्किएका थिए । विश्वको सातौँ अग्लो धवलागिरि म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । शरद ऋतुका लागि रुसका १४ जनाले मात्र धौलागिरि हिमाल आरोहणको अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।  

Advertisement

Advertisement