अधिक तरलताले गर्दा तीन महिनामा बैंकहरुले लिए ७८ खर्ब ३३ अर्बको निक्षेप सुविधा

Advertisement

काठमाडौं ।  चालु आर्थिक बर्ष २०८१–८२ को तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकबाट ७८ खर्ब ३३ अर्ब ४० करोड रुपियाँ बराबरको निक्षेप सुविधा लिएका छन् । 

बैंकहरुले ‘राख्ने र झिक्ने’ मोडलमा साउन, भदौ र असोजमा एक हजार २३ पटक गरि सो बरारबको निक्षेप सुविधा लिएका हुन् । 

Advertisement

बैंकहरुले निक्षेप संकलन र स्थायी निक्षेप सुविधा अन्तर्गत राष्ट्र बैंकमा सो बराबरको निक्षेप राखेका हुन् । त्यसमा ७५ खर्ब दुई अर्ब २० करोड रुपियाँ निक्षेप बैंकहरुले फिर्ता लगिसकेका छन् । अब तीन खर्ब ३१ अर्ब २० करोड रुपियाँ मात्रै फिर्ता हुन बाँकी छ । निक्षेप अवधी सकिएपछि (परिपक्व भएपछि) त्यो पनि बैंकहरुले व्याजसहित फिर्ता पाउने छन् ।  

गत आवभरमा बैंकहरुले ४७ खर्ब ७३ अर्ब ६० करोड रुपियाँ बराबरको निक्षेप सुविधा लिएका थिए । तर, चालु आवको तीन महिनामै त्योभन्दा धेरै रकममा यस्तो सुविधा लिएको तथ्यांकले पुष्टी गरेको छ । 

आर्थिक शिथिलताका कारण कर्जाको माग न्यून भएपछि अहिले बैंकहरुमा खर्बौं रुपियाँ लगानीयोग्य पैसा थुप्रिएको छ । त्यो अवस्थामा बैंकहरुले राष्ट्र बैंकको निक्षेप सुविधा अन्तर्गत रहेर आफ्नो अधिक तरलता व्यवस्थापन गर्दै आएको देखिन्छ । 

समीक्षा अवधीमा बैंकहरुले स्थायी निक्षेप सुविधा (एसडीएफ)अन्तर्गत मात्रै राष्ट्र बैंकमा ७२ खर्ब ४२ अर्ब ८५ करोड रुपियाँ निक्षेप राखेका छन् । एक हजार पाँच पटक गरेर बैंकहरुले राष्ट्र बैंकबाट सो बराबरको स्थायी निक्षेप सुविधा लिएका हुन् । 

यस अन्तरगत ६९ खर्ब ११ अर्ब ६५ करोड रुपियाँ रकम फिर्ता भइसकेको छ । अब यस अन्तरगत राष्ट्र बैंकमा तीन खर्ब ३१ अर्ब २० करोड रुपियाँ रकम बाँकी छ, त्यो परिपक्क भएपछि फिर्ता हुनेछ । 

राष्ट्र बैंकले गत फागुन १ गतेदेखि पहिलो पटक एडीएफ कार्यान्वयनमा ल्याएको थियो । राष्ट्र बैंकले तोकिदिएको मापदण्ड र दिनमा बैंकहरुले निक्षेप राख्न प्रस्ताव गरेमा राष्ट्र बैंकले अस्वीकार गर्न पाउदैन । यसमा राष्ट्र बैंकले तीन प्रतिशत व्याज पनि दिनुपर्छ । 

पछिल्लो समय कर्जाको माग न्यून हुँदा बैंकहरुलाई तरलता व्यवस्थापन गर्न धौधौ भएको थियो । आर्थिक शिथिलताका कारण कर्जा माग नहुँदा बैंकहरुमा पैसा थुप्रिएकै छ । त्यो अवस्थामा बैंकहरुलाई एसडीएफमार्फत पुँजी परिचालन गर्न सहज भएको बताइन्छ । यसले सामान्य रुपमा भए पनि राहत मिलेको बैंकरहरु बताउँछन् ।

बैंकहरुले हप्तामा तीन पटक अर्थात् प्रत्येक आइतबार, मंगलबार र बिहीबार यस्तो सुविधा पाउनेछन् । आइतबार जम्मा भएको पैसा मंगलबार, मंगलबार जम्मा भएको निक्षेप बिहीबार र बिहीबार जम्मा भएको रकम आइतबार परिपक्व भई भुक्तानी गरिने छ ।

यस्तै, समीक्षा अवधीमा बैंकहरुले निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकमा पाँच खर्ब ९० अर्ब ५५ करोड रुपियाँ निक्षेप राखेका छन् । राष्ट्र बैंकले यस अन्तरगत १८ पटक गरेर नौ खर्ब पाँच अर्ब रुपियाँ निक्षेप राख्न प्रस्ताव गरेको थियो । 

त्यसमा बैंकहरुले पाँच खर्ब ९० अर्ब ५५ करोड रुपियाँ बराबरको निक्षेप राखेका छन् । यस अन्तरगत सबै पैसा फिर्ता पनि भइसकेको छ । यसमा बैंकहरुले बोलकबोल प्रणालीबाट निक्षेप राखेका हुन् । राष्ट्र बैंकले आज (कात्तिक १) पनि बैंकहरुबाट एक खर्ब रुपियाँ निक्षेप तान्न बोलकबोल गर्दैछ । 

Advertisement

Advertisement