काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार (आज) बैंक तथा वित्तीय संस्थाहरुबाट ५० अर्ब रुपियाँ निक्षेप तान्ने भएको छ । आज मध्यान्ह ३ बजे बोलकबोलमार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट सो बराबरको पैसा तान्ने भएको हो ।
राष्ट्र बैंकले सात दिनका लागि सो बराबरको निक्षेप तान्नेछ । यसमा बाणिज्य, विकास र वित्त कम्पनी सहभागी हुन सक्नेछन् । उनीहरुले बोलकबोलमा व्याजदर प्रस्ताव गर्नुपर्ने हुन्छ । बैंकहरुले व्याजदरमा बहुबोलकबोल पनि गर्न सक्नेछन् । त्यसमा सबैभन्दा कम व्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकतामा राखिनेछ ।
बैंकहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले एकै दिन ५० अर्ब रुपियाँ निक्षेप बोलकबोल गर्न लागेको हो । पछिल्लो समय राष्ट्र बैंकले पटक पटक यसरी नै बैंकहरुबाट पैसा तान्दै आएको छ ।
आजको बोलकबोलमाबैंकहरुले घटीमा १० करोड रुपियाँ र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म प्रस्ताव गर्न सक्नेछन् । बैंकहरुले यसरी राष्ट्र बैंकमा राखेको निक्षेप यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा पनि धितोको रुपमा प्रयोग गर्न सक्नेछन् ।
सात दिन अर्थात् आगामी असोज २० गते बैंकहरुलाई सावाँ र व्याज भुक्तानी गरिनेछ । कर्जाको माग न्यून हुँदा अहिले बैंकहरुमा पैसा थुपिएको छ । त्यो अवस्थामा बैंकहरुलाई तरलता व्यवस्थापन गर्न यो उचित बिकल्प हुने देखिन्छ ।
अहिले बैंकहरुमा ६५ खर्ब २० अर्ब रुपियाँ निक्षेप छ । तर, कर्जा प्रवाह भने ५२ खर्ब ३३ अर्ब रुपियाँ छ । कर्जा निक्षेप अनुपात भने ७८.८६ प्रतिशत छ । बैंकहरुले कर्जा निक्षेप अनुपात ९० प्रतिशतसम्म पुग्ने गरि कर्जा प्रवाह गर्न पाउछन् । त्योअनुसार बैंकहरुले निक्षेपको अझै ११.०२ प्रतिशत रकम कर्जा प्रवाह गर्न सक्छन्, जुन रकम सात खर्ब २६ अर्ब रुपियाँ हुन्छ । पछिल्ले समय कायम आर्थिक शिथिलताले कर्जाको माग बढ्न सकेको छैन ।