असोज १७ मा त्रिपक्षीय विद्युत् खरीद बिक्री सम्झौता गर्न बंगलादेश तयार, आउला भारतीय पक्ष ?

Advertisement

काठमाडौं । बंगलादेशले असोज १७ गते (अक्टोबर ३)को मितिमै विद्युत् खरीद बिक्री सम्झौता गर्न तयार भएको छ । उक्त मितिमा सम्झौताका लागि नेपाली पक्षले गरेको आग्रहलाई बंगलादेशी पक्षले स्वीकार गरेको हो । 

असोज १७ मा सम्झौतापत्रमा हस्ताक्षर गर्न आउने भन्दै बंगलादेशले पठाएको पत्र बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयलाई दिएको छ । तर त्रिपक्षीय हस्ताक्षरका आधारमा मात्रै यस्तो खरीद बिक्री सम्झौता हुने भए पनि भारतीय पक्षले कुरामा अझै पनि आशंका देखिन्छ । नेपालका सम्वन्धित सरकारी अधिकारीहरुले भारतले यसअघि नै आउने आश्वासन दिएको दावी गर्दै आएका छन् । 
 
बंगलादेशले नेपालको पत्रअनुसार विद्युत खरीद बिक्रीको सम्झौताका लागि तयार भएको बताए पनि यसको औपचारिक पत्र बंगलादेशस्थित नेपाली दूतावास हुँदै नेपाल आउने क्रममा रहेको मन्त्रालयका प्रवक्ता चिरञ्जीवी चटौतले जानकारी दिए । 

Advertisement

उनले उक्त दिन बिशेष कार्यक्रम गरेर सम्झौतापत्रमा हस्ताक्षर गरिने बताए । नेपालबाट भारतीय प्रसारणलाइन हुँदै बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्न लागिएको हो । यस्तो व्यापारको प्रयास भएको बर्षौं भइसके पनि भारतीय पक्ष सकारात्मक नहुँदा ढिलाई हुँदै आएको थियो । 

भारतीय पक्षलाई समेत समावेश गरेर गर्न लागिएको यस सम्झौतामा नेपालको तर्फबाट नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन)का कार्यकारी प्रमुखहरुले हस्ताक्षर गर्ने जनाइएको छ ।  

यस सम्बन्धमा तीन वटै देशमा आन्तरिक रुपमा प्रक्रिया पूरा भइसकेको र भारतीय अधिकारीहरु पनि हस्ताक्षर गर्न आउने विश्वास उर्जा मन्त्रालयको छ ।  

गत साता मन्त्रालयले सम्झौता पत्रमा हस्ताक्षर गर्नका लागि असोज १७ गतेको मितिमा प्रस्ताव गरेर बंगलादेश र भारतलाई प्रस्ताव पठाएको थियो । त्यसमा भारतीय पक्षले यसअघि नै सहमति जनाएको र बंगलादेशले पनि अहिले सहमति जनाएकाले सम्झौतको बाटो खुलेको हो । सहमति आएकाले हस्ताक्षर समरोहका लागि तयारी अघि बढाइएको मन्त्रालयको भनाइ छ । 

मन्त्रालयकाअनुसार असोज १५ र १६ गते नेपाल–बंगलादेश संयुक्त ऊर्जा सह–सचिव र सचिव स्तरीय बैठक हुनेछ । त्यसको भोलिपल्ट असोज १७ गते ४० मेगावाट विद्युत् बिक्री सम्बन्धमा त्रिपक्षीय सम्झौता गरिनेछ । 

यसअघि गत साउन १३ गते सम्झौता पत्रमा हस्ताक्षर गर्ने भनिएको थियो । तर, बंगलादेशमा आन्दोलन भडकिएर हिंसात्मक रुप लिई प्रधानमन्त्री नै देश छोडेर भाग्नुपर्ने परिस्थिति बनेपछि कार्यक्रम स्थगित हुन पुगेको थियो । 

सम्झौतापछि प्राधिकरणले २५ मेगावाटको त्रिशूली र  २२ मेगावाटको चिलेमे जलविद्युत आयोजनाबाट उत्पादित विद्युत बंगलादेश निर्यात गर्नेछ । सम्झौता भएमा प्राधिकरणले पाँच बर्षसम्म १५ जुन–१५ नोभेम्बरसम्म पाँच वर्ष ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्नेछ । 

विद्युत प्राधिकरणले बंगलादेश विद्युत बिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने छ । 
नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर विन्दुमा रहेको मिटरको आधारमा पाउने छ । 

ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बहरामपुर भारत–भेरमारा बंगलादेश ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेशमा नेपाली विद्युत् पुग्नेछ ।

Advertisement

Advertisement