नेपाली बिजुली किन्न आयो बंगलादेशी टोली, बिहीबार खरीद–बिक्री सम्झौताको तयारी

Advertisement

काठमाडौं । चालिस मेगावाट विद्युत् बिक्री सम्झौताको पूर्व सन्ध्यामा नेपाल र बंगलादेशको संयुक्त ऊर्जा बैठक राजधानी काठमाडौंमा सुरु भएको छ । 

नेपाल र बंगलादेशबीच ऊर्जा विकासमा सहकार्य गर्ने गरि सन् २०१८ मा ऊर्जा सचिव र सह सचिव स्तरीय कमिटी बनेको थियो । त्यसको छैठौं बैठक आज (मंगलबार)देखि सुरु भएको हो । बैठक दुई दिनसम्म चल्नेछ । 

Advertisement

बैठकपछि बिहीबार नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् बिक्री गर्ने सम्बन्धमा भारतीय पक्षसहितको त्रिपक्षीय सम्झौताको तयारी गरिएको छ । मन्त्रालयकाअनुसार अहिले संयुक्त ऊर्जा सह–सचिवस्तरीय बैठक भइरहेको छ । त्यसको अध्यक्षता नेपालका ऊर्जा सहसचिव चिरञ्जीवी चटौतले गरेका छन् । 

यो बैठकले बिभिन्न एजेन्डामा छलफल गर्ने तथा नयाँ एजेन्डा बनाउने काम गर्छ । साथै, त्यस एजेन्डामा सहमति जुटाएर सचिवस्तरीय बैठकमा पेश गर्नेछ । संयुक्त सचिवस्तरीय बैठक भने भोलि (बुधबार) हुनेछ । उक्त बैठकले सहसचिवस्तरीय बैठकबाट आएको एजेन्डामा निर्णय गर्नेछ । यसअघि २०२३ मे मा यस खालको पाचौं बैठक बंगलादेशमा भएको थियो । 

स्रोतका अनुसार यो बैठकमा नेपाल र बंगलादेशबीच हुन लागेको विद्युत् व्यापार सम्झौता, छुट्टै अन्तरदेशीय विद्युत् प्रसारण लाइन, सुनकोशी तेस्रो जलविद्युत् परियोजना लगायतका बिषयमा छलफल भइरहेको छ । छ सय ८३ मेगावाटको सुनकोसी तेस्रो जलविद्युत् आयोजना नेपाल र बंगलादेशको संयुक्त लगानीमा बनाउने सहमति यसअघि नै भइसकेको छ । सम्भवतः यसबारे अन्तिम निर्णय यो बैठकले गर्न सक्नेछ । यसैगरि नेपाल र बंगलादेशबीच अन्तरदेशीय प्रसारणलाइन बनाउने बिषयमा पनि छलफल हुनेछ । 

बंगलादेशसँगको विद्युत खरीद बिक्री सम्झौतामा नेपालको तर्फबाट नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (वीपीडीपी) र भारतको एनटीपीसी) विद्युत् व्यापार निगम (एनभीभीएन)का कार्यकारी प्रमुखहरुले हस्ताक्षर गर्ने जनाइएको छ । त्रिपक्षीय सम्झौताको लागि भारतीय पक्ष पनि तयार भइसकेको उर्जा मन्त्रालयको दावी छ । सम्झौता भएमा १५ दिनदेखि एक महिनाभित्र विद्युत् निर्यात सुरु हुनेछ । 

यसअघि गत साउन १३ गते सम्झौता पत्रमा हस्ताक्षर गर्ने भनिएको थियो । तर, बंगलादेशमा सुरु भएको हिंसात्मक आन्दोलनका कारण त्यो स्थगित गरिएको थियो । प्राधिकरणले २५ मेगावाटको त्रिशूली र  २२ मेगावाटको चिलेमे जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्न खाजेको हो । विद्युत खरीद बिक्री सम्झौता हुँदा पाँच बर्षका लागि हुनेछ । प्रतियुनिट ६.४० अमेरिकी सेन्टको दरमा बिक्री गरिने यो बिजुली नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश पुर्याउने तयारी गरिएको छ । 

विद्युत्को मूल्य प्राधिकरणले भारतको मुजफ्फरपुर विन्दुमा रहेको मिटरको आधारमा पाउने छ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बहरामपुर भारत–भेरमारा बंगलादेश ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेशमा नेपाली विद्युत् पुग्नेछ । हाल नेपाल र भारतबीच विद्युत आयात निर्यात भइरहेको छ । 

Advertisement

Advertisement