‘सहकारी ठगीमा मुछिएका कांग्रेस उपसभापति र जीवी राई संलग्न एपीवानमाथि छानविन हुन्छ ?’

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाली काँग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङउपर सहकारी ठगी गरेको भन्दै उजुरी परेकाले छानविन गर्ने कि नगर्ने ? भनेर प्रश्न गरेका छन् । 

सोमवार संसदको विशेष समयमा उनले मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिव १५ करोड रुपियाँ रकम हिनामिनामा नेपाली काँग्रेसका सांसद धनराज गुरुङ र उनको श्रीमतीको नाम जोडिएको कुरा मिडियामार्फत सार्वजनिक भएको बताए । 

Advertisement

सहकारीका अध्यक्ष अध्यक्ष कुम्भराज गुरुङले ठगी गरेको दाबिसहित उजुरी समेत दिएको भन्दै पराजुलीले छानविन गर्ने कि नगर्ने भनि काँग्रेस सांसदहरुमाथि प्रश्न गरे । उनले गुरुङमाथि छानविनको माग गर्दै संसदको वेल घेराउ गर्ने कि नगर्ने भनेर पनि प्रश्न गरे । 

त्यसैगरी एपीवान टेलिभिजनमा पनि जिबि राईको लगानी रहेको कुरा सार्वजनिक भएको भन्दै एपिवानमा लगानी गर्न सहकारीको पैसा लगिएको थियो कि थिएन सो पनि छानविन गर्ने नगर्ने भनेर पराजुलीले अर्को प्रश्न गरे । 

उनले भने, ‘सहकारीको बचत अपचलन छानविनका लागि संसदीय समिति बनाउनुपर्छ भनेर यहीँ संसदमा चर्को नारावाजी गर्ने मध्येमा एक माननीयज्युविरुद्ध सहकारीमा ठगी अनुसन्धान गर्नका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा उजुरी परेको आज मिडियाहरुमा छ्यापछ्याप्ती देख्न पाइएको छ । उजुरी नै अन्तिम सत्य त होइन । तर उजुरी नपर्दा, प्रमाण नहुँदापनि रास्वपाका सभापति रवि लामिछानेज्यूलाई सदनमा के–के सम्म गरियो ? संसारले प्रष्टसँग देखेको छ । तर मितेरी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले आफ्नो संस्थाको करिव १५ करोड रकम हिनामिना गरेकोमा माननीय धनराज गुरुङ र ज्योति गुरुङको विरुद्ध ठगी गरेको दाबीसहित उजुरी दर्ता गराउनुभएको रहेछ । अब म माननीय गुरुङको बारेमा छानविन हुन्छ कि हुँदैन ? भनेर यस सम्मानित सदनमार्फत नेपाली काँग्रेसका माननीयज्यूहरुलाई सोध्न चाहन्छु ।’

उनले थपे, ‘सहकारीको ठगी लुकाउन उहाँले सम्बन्ध विच्छेदसम्म गरेको कुुरापनि बाहिर आएको छ । सहकारी ठगीको छानविनका लागि माग गर्दै कांग्रेसका माननीयज्युहरुले यो संसदको वेल घेराउ गर्नुहुन्छ कि गर्नुहुन्न ? कि दोहोरो मापदण्ड अपनाउने हो ? म सदनमार्फत जवाफको माग गर्दछु । साथै एपिवान टिभिमा जिबि राईले लगानी गरेका थिए भन्ने कुरा सञ्चार माध्यमबाट छ्यापछ्याप्ती सुन्न आइरहेको छ । त्यो लगानी सहकारीबाट लगिएको थियो कि थिएन भनेर छानविन गर्ने कि नगर्ने ? सरकार बनाउने भुमिका खेल्ने सो टिभिका मालिकलाई सरकारले छानविन गर्ने हिम्मत राख्छ कि राख्दैन ? म गृहमन्त्रीज्युलाई प्रश्न गर्न चाहन्छु ।’ 

उनले सरकार बनाउन भूमिका खेल्ने एपीवान टिभिका मालिकलाई सरकारले छानविन गर्ने हिम्मत राख्छ ? भनि गृहमन्त्रीलाई प्रश्न गरे । 

Advertisement