चीन भ्रमणमा रहेका अर्थमन्त्रीले भेटे चिनियाँ उपप्रधानमन्त्री, सुरुङमार्गहरुबारे छलफल

Advertisement

काठमाडौं । चीन भ्रमणमा रहेका अर्थमन्त्री विष्णु पौडेलले चिनियाँ उपप्रधानमन्त्री हि लिफेङसँग बेइजिङमा भेट गरेका छन् । 

सो अवसरमा दुई देशका आपसी हित र सहयोगबारे छलफल भएको पौडेलको सचिवालयले जनाएको छ ।  
भेटका क्रममा चीनका उपप्रधामन्त्री हि लिफेङले चीन सरकारको तर्फबाट विगतमा गरिएका घोषणा एवं सहमति बमोजिम सहयोगका परियोजनाहरुको कार्यान्वयनलाई तीव्रता दिने बताएका थिए । 

Advertisement

उनले आगामी दिनमा नेपाललाई थप सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको बताइएको छ । 

अर्थमन्त्री पौडेलले केरुङ–काठमाडौं रेल निर्माण, टोखा–छहरे सुरुङ मार्ग, किमाथाङ्का–हिले, हिल्सा–सुर्खेत–भुरीगाउँ सडक, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, दमक औद्योगिक पार्क लगायतका पूर्वाधार निर्माणलाई अघि बढाउन आग्रह गरेका थिए । 

त्यसैगरी चीनका विभिन्न शहरबाट भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाइ सेवा विस्तारका लागि सहयोग गर्न पनि उनले आग्रह गरे । 

भ्रमण टोलीमा रहेका अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले नेपालको तर्फबाट गरिएको अनुरोधका विषयप्रति चीन सरकार सकारात्मक रहेको र कामहरु अघि बढाउने प्रतिबद्धता व्यक्त भएको बताएका छन् । 

करिव एक घण्टा भएको भेटवार्तामा नेपालका तर्फबाट अर्थमन्त्री पौडेल, चीनका लागि नेपालका कार्यबहाक राजदूत सुरेन्द्र यादव, अर्थ मन्त्रालयका प्रवक्ता भट्टराई, प्रधानमन्त्री कार्यालयका अधिकारी सहभागी थिए । 

Advertisement

Advertisement