साझा यातायात बन्द गराउने काभ्रे मिनिबस व्यवसायीको चेतावनी

Advertisement

बनेपा: काभ्रेपलाञ्चोकको साँगाबाट पनि साझा यातायातको बस सञ्चालनमा आएपछि स्थानीय यातायात व्यवसायीले त्यसलाई बन्द गराउने चेतावनी दिएका छन् ।

काभ्रे मिनीबस व्यवसायी समितिको बिहीबार नगरकोटमा भएको ३९औँ साधरणसभामा उनीहरुले साझा यातायातको बस सेवा धुलिखेलबाट पनि सञ्चालन हुने सम्भावना भएकाले यातायात व्यवसायीले एकजुट भएर प्रतिकार गर्नुपर्ने बताए ।

उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य तथा यातायात व्यवसायी सुरकृष्ण वैद्यले साझा यातायातले चिल्ला सडकमा मात्रै बस सञ्चालन गरेर नहुने उल्लेख गर्दै ग्रामीण क्षेत्रबाट पनि बस सञ्चालनको हैसियत राख्नुपर्ने बताए । उनले सरकारको स्पष्ट नीति नहँुदा यातायात व्यवसायी मारमा परेको उल्लेख गर्दै निजी क्षेत्रबाट यातायात क्षेत्रमा रु चार खर्बको लगानी भएको छ भने ।

हिमाल तराई यातायात समितिका अध्यक्ष आत्माराम थापाले नगरबसको नयाँ अवधारणा ल्याएर साझा यातायातको बस सेवालाई निरुत्साहित गर्नुपर्नेमा जोड दिँदै स्तरीय बस सेवा यातायात व्यवसायीका लागि चुनौती भएको बताए ।

अरनिको यातायात व्यवसायीका अध्यक्ष श्याम लामाले साझा यातायातले दिने भन्दा सेवा सुविधा बढाएर बस सञ्चालन आवश्यक रहेको बताए ।

काभ्रे बस व्यवसायी सङ्घका अध्यक्ष डिलबहादुर शाहीले अब साझा यातायातको बस काभ्रेपलाञ्चोकका विभिन्न ठाउँबाट पनि सञ्चालन हुने भएकाले त्यसको प्रतिकार गर्नुपर्ने बताए ।

झण्डै एक महिनादेखि साझा यातायातले जिल्लाको साँगाबाट पनि बस सेवा सञ्चालन गरेपछि धुलिखेलबाट पनि सञ्चालन गर्न स्थानीयवासीले माग गरेपछि स्थानीय तहले बजेट विनियोजनसमेत गरेको बताइएको छ ।

Advertisement

Advertisement

Advertisement