भारत उत्तराखण्डमा इण्डो–नेपाल व्यापार मेला, निकासीयोग्य वस्तुको पहिचान र प्रवद्र्धन उद्देश्य

Advertisement

देहरादुन, भारतः नेपाल–भारत व्यापार मेला तथा पर्यटन महोत्सव–२०१८ उतराखण्डको देहरादुनमा सुरु भएको छ । यो उक्त मेलाको दोस्रो संस्करण हो । यो मेला माघ २५ गतेसम्म चल्नेछ ।

सरकारको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल पर्यटन बोर्ड, नेपाली राजदुतावास दिल्ली, नेपालस्थित भारतीय राजदुतावास र भारतको उत्तराखण्ड राज्य सरकारको सहयोग एवं कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा आयोजित मेलाको उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले उद्घाटन गरे ।

उदघाटन कार्यक्रममा वाणिज्य राज्य मन्त्री नरबहादुर चन्द, महासंघकी अध्यक्ष भवानी राणालगायत सहभागी थिए । निकासीयोग्य बस्तुको पहिचान एवं बजार प्रवद्र्धन गर्ने, नेपालमा उत्पादित वस्तु तथा सेवाहरूको बजार प्रवद्र्धन, नेपालका पर्यटकीय सम्पदाहरूको प्रचार प्रसार, पर्यटकीय होटल, रिसोर्ट, टुर एण्ड ट्राभल्सलाई सहभागी गराई प्याकेज प्रवद्र्धन गर्ने, नेपाली उद्यमीलाई प्रतिस्पर्धी बनाउन सीप र ज्ञानको अनुभव आदान प्रदान गर्ने, उद्यमी व्यवसायीहरूलाई बजार पह“ुचको अवसर प्रदान गर्ने गत बर्षदेखि यो मेला सुरु भएको हो ।

महासंघको सदस्य कञ्चनपुर उद्योग वाणिज्य संघले निकासी जन्य एवं कृषि जन्य वस्तु भारत निकासीमा विस्तार गर्न गत वर्षदेखि देहरादूनमा मेला आयोजना गर्न लागेको हो । मेलामा ५६ वटा स्टलमार्फत नेपाली कृषि उत्पादन, घरेलु तथा साना उद्योगहरूबाट उत्पादित वस्तुहरू प्रदर्शनी गरिएको छ ।

यस वर्षको मेलाको मुख्य आकर्षणमा नेपाली राष्ट्रिय तथा स्थानीय उत्पादन र सेवाहरू, पर्यटकीय क्षेत्रहरूको विस्तृत जानकारी, टुर एण्ड ट्राभल्स प्याकेज, नेपालका मुख्य मुख्य पर्यटकीय सम्पदाहरूको प्रचार प्रसार, नेपाली कला संस्कृतिको प्रदर्शनी तथा नेपाली खाद्य परिकारहरू रहेका छन् ।

कार्यक्रममा उत्तराखण्डका मुख्यमन्त्री रावतले उनले आफ्नो सरकारले नेपाल भारत बीचको यातायात व्यवस्थालाई सजह र सवल बनाउन निरन्तर कार्य गरिरहेको जिकिर गरे । उनले उत्तराखण्ड र नेपाल बीचको धार्मिक सम्बन्ध निकै प्रगाढ रहेको भन्दै मेलाले उत्तराखण्ड र नेपालको सीमा क्षेत्रका उद्यमी व्यवसायी बीचको व्यवसायिक सम्बन्ध निकै मजवुद हुँदै गएको आफूले पाएको बताए ।

उत्तराखण्ड पनि पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको चर्चा गर्दै रावतले दुई देशबीचको पर्यटन क्षेत्र अगाडी बढाउन उत्तराखण्ड सरकार सदैव तयार रहेको बताए ।

वाणिज्य राज्यमन्त्री चन्दले नेपाल भारत बीचको बढ्दो व्यापार घाटा कम गर्न नेपाली वस्तुहरूको भारत निर्यात बढाउनुपर्ने बताए । सरकारको यस प्रकारका प्रवद्र्धनात्मक कार्यक्रममार्फत नेपाली उत्पादनहरूको निर्यात अभिवृद्धि गर्ने नीति रहेको समेत उनले बताए । चन्दले अन्तर्राष्ट्रियस्तरमा हुने यस्ता मेलाले व्यापारिक सम्बन्ध प्रगाढ हुनुका साथै नेपालमा उत्पादन भएका वस्तुले अन्तर्राष्ट्रिय बजार पाउने धारणा राखे ।

महासंघका अध्यक्ष राणाले दुई देशबीच आयोजना हुने यस्ता मेला महोत्सवले नेपाल भारत बीचको आर्थिक व्यापारिक, धार्मिक तथा जनस्तरको सम्बन्धलाई थप उचाईमा पुर्याउने बताइन । उनले उत्तराखण्ड, नेपालीका लागि समेत पवित्रस्थल भएकाले नेपाल र उत्तराखण्ड बीच धार्मिक पर्यटन प्रवद्र्धनमा समेत निकै ठूलो सम्भावना रहेको बताए ।

Advertisement

Advertisement

Advertisement