महेन्द्रले कोदारी राजमार्ग बनाउँदा विरोध गर्नेहरु अहिले चिनियाँ रेलको विरोध गर्दैछन्ः ओली

Advertisement

काठमाडौंः प्रधानमन्त्री केपी ओलीले लोकतन्त्र गएर अधिनायकवाद आउँछ भन्नु केटाकेटीलाई हाउगुजी देखाए जस्तै हो भनेका छन् । प्रतिनिधि सभामा बजेटमाथि भइरहेको छलफलमा उठाइएका प्रश्नको जवाफ दिंदै ओलीले लोकतन्त्र कतै नजाने बताए ।

अधिनायकवाद लाद्न खोजिएको भन्ने काँग्रेस साँसदहरुको आरोपको प्रशंगमा उनले लोकतन्त्र ल्याउन आफूहरुले निकै संघर्ष र बलिदानी गरेकोले लोकतन्त्र कतै नजाने बताए । ओलीले प्रश्न गरे, ‘लोकतन्त्र कहाँ जान्छ ? अनी के आउँछ ? लोकतन्त्र जान्छ भन्नु केटाकेटीलाई हाउगुजी देखाए जस्तै हो ।’

उनले थपे, ‘‘प्रधानमन्त्री गाडिमा चडेर हिड्छ । यो अधिनायकवादको खतराको संकेत हो भनेको पनि सुनियो । अनी केमा जाने त ? कास्किकोटका राजा गाडि चढ्दैनथे। गोरखाका राजा पनि गाडि चड्दैनथे । गाडि कहाँबाट चढ्नु त्यहाँ घोडा जान्थ्यो। के हामी त्यतै जान खोजेका त होइनौं ।’

राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याउँदैमा अधिनायकवाद नआउने बताउँदै प्रधानमन्त्री ओलीले यसलाई थप प्रभावकारी बनाउन यस कार्यालय मातहत ल्याइएको बताए । अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएपछि, प्रधानमन्त्री अधिनायकवाद उन्मुख भएको भन्दै सांसदहरुले विरोध गरेका थिए।

त्यस्तै, प्रधानमन्त्री ओलीले राजा महेन्द्रले कोदारी राजमार्ग बनाउँदा विरोध गर्नेहरुले अहिले रेलमार्गको विरोध गरिरहेको बताए । उनले नेपालमा रेल आउँछ, आफ्नै रेल आउँछ भन्दै यो आउने रेल अर्काको देशको रेल आउने होइन्, नेपालकै आउने हो भने ।

ओलीले भने, ‘रेलसँग झस्किनेहरुको मैले दुई वटा कुरा बुझिन् । त्रिभुवन विमानस्थल बनाउँदा नेपालमा को प्लेन चढ्छ ? गौचरन भए पुग्छ, विमानस्थल चाहिन्न भन्थे । अहिले त्यो पनि सानो भएर अर्को बनाउनुपर्ने भएको छ । कोदारी राजमार्ग बनाउने बेलामा उधुम बिरोध भएको थियो । महेन्द्रले जवाफ दिनु परेको थियो । गाडी चढेर कम्युनिष्ट आउने होइनन् भनेर ।’

मोहम्मद महाथिरले मलेसियामा ट्वीन टावर बनाउँदा पनि त्यस्तै बिरोध भएको उदाहरण दिँदै उनले पैसाको दुरुपयोग भयो भनेर विरोध गर्दागर्दै पनि बनाइएको त्यही टावर अहिले व्यापार र अर्थतन्त्रको गढ भएको उदाहरण दिए ।

त्यस्तै, ओलीले ८० किलोमिटर पर हवाई मैदान बनायो भनेर महाथिरको बिरोध भएको थियो तर अहिले त्यो ठिक ठाउँमा छ भन्दै थपे, ‘४ वा ६ लेनको बाटो बनाउने भनियो हो यत्रो बाटो किन चाहियो ? भन्छन् । पछि त्यो नै सानो हुन्छ । त्रिचन्द्र कलेज बनाउँदा चन्द्र शमशेरले आफ्नै खुट्टामा बञ्चरो हानेँ भन्थे रे । जसले जे भने पनि हामी नेपालमा रेल लिक मै चलाउँछौं ।’

संसदमा ओलीले प्रधानमन्त्री एवं मन्त्रिपरिषद कार्यालयका साथै राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालयसँग सम्बन्धित प्रश्नहरुको जवाफ दिएका थिए । उनले जवाफ दिएपछि आजबाट बजेटमाथिको छलफल सकिएको छ ।

Advertisement

Advertisement

Advertisement